स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न सकिने देखिएको छ ।
घरबाट कार्यालय र कार्यालयबाट फिल्डमा जाँदा आवश्यक स्वास्थ्य सावधानी अपनाउँदा यो रोगको जोखिम असाध्यै कम हुने जनस्वास्थ्य विज्ञले बताएका छन् । मास्क, पञ्जा, चस्मालगायतको उचित प्रयोग गरेमा रोग लाग्ने सम्भावना कम गर्न सकिने जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले बताउनुभयो । कार्यस्थलमा जानु पहिले राम्रोसँग मास्क र चस्मा लगाउन उहाँले सुझाव दिनुभयो ।
माक्स बाहिरबाट हावा नपस्नेगरी लगाउनुपर्छ । आँखाका माध्यमबाट पनि भाइरस सर्ने हुँदा आफूसँग भएकै आँखा ढाकिने चस्मा प्रयोग गर्न सकिन्छ । उहाँले भन्नुभयो, “कतिपय व्यक्तिले घाँटीमा त कतिले नाक नै नछोपिनेगरी लगाएको पाइन्छ, तर सुरक्षाका लागि यसको सही प्रयोग गर्न खाँचो छ ।”