वैशाख १९, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार नेप्से परिसूचक ४८ दशमलव ७३ अंक घटेको छ ।
यो दिन नेप्से परिसूचक २ हजार ३०७ दशमलव ४४ विन्दुमा झरेको हो । यस अवधिमा कारोबारमा आएका २२८ ओटा धितोपत्रको ३९ लाख ७८ हजार ७९ कित्ता शेयर ३१ हजार ४०४ पटकमा रू. १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ मा खरीदविक्री भएको छ ।
बजारले पुन : २ हजार ३०० को मनोवैज्ञानिक विन्दुमा झरेको छ । चुनावी माहोल शुरु भइसक्दा पनि बजारले सकरात्मक हुन सकेको छैन । यसभन्दा अगाडि लगानीकर्ताहरु चुनावी माहोल शुरु हुन थालेसँगै बढ्ने आशामा थिए । तर त्यसको विपरित तरिकाले बजार घटिरहेको छ ।
यद्धपि वित्तीय प्रणालीमा तरलता अभावनै रहिरहेको छ, यसले गर्दा पनि बजार बढ्न सकेको छैन । कम्पनीहरुको शेयरमूल्य निकै नै सस्तिएको छ । अब विस्तारै बजारमा खरीदकर्ता आउने अनुमान गर्न सकिन्छ । यति बेला दीर्घकालिन लगानी गर्नु उचित रहेको एक शेयर विश्लेषकले बताए ।
शेयर बजार सधैभरी घटिरहने मात्र पनि होइन, बढ्ने मात्र पनि होइन, घटबढ भइरहन्छ, सोही कारण लगानीकर्ताले आफ्नो उत्कृष्ट लगानी रणनीति बनाएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हने गर्दछ । यतिबेला अधिकांश कम्पनीहरुको शेयरमूल्य ५२ हप्ताको औषत मूल्यभन्दा तल्लो विन्दुमा रहेको छ । राम्रा राम्रा ब्लुचिप कम्पनीहरुको शेयरमूल्य ५० प्रतिशतभन्दा बढीले घटिसकेको छ । यस्तो अवस्थामा भने लगानीकर्ता विस्तारै आफ्नो लगानी बढाउनु उचित देखिन्छ ।
कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको धितोपत्र मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार ९ दशलमव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजर २५६ दशमलव ८० कायम भएको छ ।
कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । त्यसैगरी दोस्रोमा सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य २ प्रतिशत बढेर रू. १ हजार ६७२ दशमलव ९० पुगेको छ । त्यसैगरी सोमवार नेपाल फाइनान्स कम्पनीको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४५९ मा झरेको छ । त्यसैगरी दोस्रोमा युनियन हाइड्रोपावरको शेयरमूल्य ८ दशमलव ७७ प्रतिशत घटेर रू. २६० कायम भएको छ ।
सोमवार सर्वाधिक शेयर खरीदविक्री अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीको रू. ४ करोड ७३ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३९५ दशलमव ७० कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टीलरीको रू. ४ करोड ३८ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक घटेको हो । समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी वित्त समूहको परिसूचक ४ दशमलव २४ प्रतिशत घटेको छ ।
त्यसैगरी समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको परिसूचक १ दशलमव शून्य ३ प्रतिशत, विकास बैंक समूहको ३ दशलमव शून्य ८ प्रतिशत, होटल एण्ड टुरिजम समूहको ३ दशमलव ७० प्रतिशत, हाइड्रोपावर समुहको ३ दशमलव ५८ प्रतिशत, लगानी समूहको २ दशमलव २३ प्रतिशत, जीवन बीमा समूहको २ दशमलव ७२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको २ दशमलव शून्य ४ प्रतिशत, लघुवित्त समूहको १ दशमलव ४५ प्रतिशतका दरले घटेको छ ।
त्यस्तै म्युचुअल फण्ड समूहको शून्य दशमलव ६३ प्रतिशत, निर्जीवन बीमा समूहको २ दशमलव शून्य ४ प्रतिशत, अन्य समूहको ३ दशमलव ३८ प्रतिशत र व्यापार समूहको समूहगत परिसूचक १ दशमलव ४१ प्रतिशतका दरले घटेको छ ।