कैलालीको कैलारी गाउँपालिका–७ लट्ठाघाट र टीकापुर नगरपालिका–७ कालाकुण्डामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।
सीमाको सुरक्षा, क्षेत्रमा हुने अपराध र अवैध चोरी तस्करी नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको हो । दुवै बीओपीको मङ्गलबार उद्घाटन गरिएको छ । लट्ठाघाट बीओपीको सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठ र कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
यसैगरी, कालाकुण्डा बीओपीको प्रहरी नायब महानिरीक्षक श्रेष्ठ र वडा नम्बर ७ का वडा अध्यक्ष रामलाल डङ्गौराले उद्घाटन गर्नु भएको छ । कैलाली जिल्लामा स्वीकृत बीओपी अनुसार दुई बीओपीको स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जानकारी दिएको छ । यो संगै कैलालीमा बीओपी सङ्ख्या १४ पुगेको छ । भारतसंग १०१ किलोमिटर खुल्ला सिमाना रहेको यो जिल्लामा अब प्रायः सबै नाकामा सशस्त्र प्रहरी बलको उपस्थिति भएको छ ।