मोहनविक्रम सिंह ।।
आजको सम्पूर्ण राजनीतिक स्थितिमाथि विचार गर्दा संविधान मृत्युको मुखमा उभिएको देखिन्छ ।
प्रथमतः संविधानको हत्या गर्नका लागि त्यो गर्भावस्थामा भएको बेलामा नै आक्रमण गरिएको थियो । जुन बेला संविधान सभाले संविधान निर्माण गर्ने काम गरिरहेको थियो, त्यो बेला नै भारतले त्यसको निर्माण रोक्नका लागि दबाब दिएको थियो । त्यसको निर्माण भइसकेपछि पनि त्यसलाई जारी गर्न नदिनका लागि जोड दिएको थियो । तर त्यसका बाबजुद संविधानको जन्म भयो ।
संविधान जारी भएपछि भारतले त्यसमा संशोधनको लागि दबाब दिएको थियो । आफूले भनेजस्तो संशोधन नगरेको हुनाले त्यसले अहिलेसम्म त्यो संविधानलाई स्वागत गरेको छैन । त्यो संविधान निर्माण गरेपछि मधेसवादीहरूले त्यसलाई जलाएका थिए । अहिले पनि उनीहरूले संविधानमाथि हमला गरिरहेका छन् ।
राजावादीहरूले सुरुदेखि नै गणतन्त्र र धर्म निरपेक्षता समाप्त गरेर राजतन्त्रको पुनःस्थापना र नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि अभियान चलाउँदै आइरहेका छन् । उनीहरूले संविधानको पुनर्लेखनको माग गरिरहेका छन् ।
कतिपय वामपन्थीहरूले पनि वर्तमान संविधान र गणतन्त्रलाई समेत प्रतिक्रियावादी बताएर तिनीहरूलाई खारेज गर्नका लागि आवाज उठाइरहेका छन् । उनीहरूको जोड यो कुरामा छ कि वर्तमान संविधान वा गणतन्त्रलाई समाप्त गरेर नयाँ जनवादी गणतन्त्र कायम गर्नुपर्छ । त्यो विचार क्रान्तिकारी हो, तर तात्कालिक परिस्थितिमा त्यो नीतिले नयाँ जनवादी गणतन्त्रको स्थापनामा मद्दत पुग्दैन, विद्यमान संविधान र गणतन्त्रलाई समाप्त गर्ने प्रतिगामी शक्तिको उद्देश्यमा नै मद्दत पुग्ने छ ।
हामीले पनि विद्यमान संविधान र गणतन्त्रप्रति विरोध राख्दछौँ । किनभने वर्तमान संविधान र गणतन्त्र दुबै अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाअन्तर्गतका कुरा हुन्; र, तिनीहरूलाई समाप्त गरेर नयाँ जनवादी व्यवस्था कायम गर्ने आजको हाम्रो आधारभूत लक्ष्य हो ।
त्योबाहेक संविधानमा उल्लेखित सङ्घीयतासित पनि हाम्रो गम्भीर मतभेद छ ।
विद्यमान संविधान र गणतन्त्रप्रति हाम्रो विरोध भए पनि तात्कालिक अवस्थामा हामीले तिनीहरूको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।
आजको अवस्थामा ती दुबैको ऐतिहासिक र प्रगतिशील महत्त्व छ । ती दुबैलाई समाप्त गर्नका लागि सङ्घर्ष गर्नुको अर्थ तिनीहरूका विरुद्धको भारतीय साम्राज्यवाद, राजावादी र मधेसवादीसमेतको प्रतिगामी नीतिको सेवा गर्नु ...