काठमाडौं । करीब १३ लाख बढी उद्योगले छूटमा विवरण अद्यावधिक गरेका छन् । सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई नवीकरणमा छूट दिएसँगै नवीकरण गर्नेको संख्यामा वृद्धि भएको छ । २०७८ पुस मसान्तसम्ममा ५ प्रतिशत रकम बुझाएर कम्पनी नवीकरण गर्न सकिने व्यवस्था भएसँगै ती कम्पनीले छूटमा नवीकरण गरेको कम्पनी रजिष्ट्रार कार्यालयले बताएको छ । सरकारले कम्पनी ऐन, २०६३ तथा प्राइभेट रजिष्ट्रेशन ऐन, २०१४ अनुसार आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले २०७८ साल पुस मसान्तभित्र विवरण र शुल्क तथा जरीवानाको ५ प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरीवानामा मिनाहा दिएको थियो ।
कार्यालयका रजिष्ट्रार प्रदीपराज अधिकारीका अनुसार २०२० सालमा दर्ता भएका कम्पनीसमेत छूटमा नवीकरण गर्न आएका छन् । बजेटममार्फत नै कम्पनी नवीकरणमा छूट दिएपछि उल्लेख्य संख्यामा नवीकरण गर्न आएको उनले बताए । पछिल्लो समय नयाँ कम्पनी दर्ता तथा छुुटमा नवीकरणका लागि दैनिक १५० सम्म निवेदन आउने गरेका छन् । सरकारले छूट दिएसँगै नयाँ दर्ता तथा विवरण अद्यावधिक गराउने उद्योगका संख्यामा समेत वृद्धि भएको छ । गतवर्षकोे असोज मसान्तसम्ममा ७ हजार ५२६ कम्पनी दर्ता तथा उद्यावधिक भएकोमा हाल ९ हजार ७९४ कम्पनी दर्ता भएका छन् ।
कार्यालयका अनुसार गत वर्षको तुलनामा हाल उद्योग दर्ता गराउनेको संख्या ३० प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा कम्पनी दर्ता तथा विवरण अद्यावधिकबाट ३४ करोड ९१ लाखभन्दा बढी राजस्व संकलन भएको छ । ‘९५ प्रतिशत छूट दिएर ५ प्रतिशत मात्र शुल्क लिँदा गतवर्षको तुलनामा अहिले राजस्व संकलन करीब दोब्बर भएको
छ ।’ रासस