असोज ४, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनी बीच भदौ ३१ गते द्विपक्षीय सम्झौता भएको हो । उक्त सम्झौतामा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तर्फबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी भदौ २५ गते बाँडफाँट गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि छट्याएको प्रतिकित्ता रू. १०० अंकित दरको रू. ८ करोड बराबरको ८ लाख कित्तामध्ये ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र बाँकी ७ लाख ४४ हजार कित्ता शेयर अन्य सर्वसाधारणमा बाँडफाँट गरेको हो ।
सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका बासिन्दाहरुलाई रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर विक्री गरेको थियो । कम्पनीले स्थानीयमा १० प्रतिशत र कर्मचारी समेत अन्य सर्वसाधारणमा २० प्रतिशत शेयर विक्री गरेको हो । स्थानीय र आम सर्वसाधारणमा शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुगेको छ ।
अब चाँडै नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण गरी दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाइने कम्पनीले जानकारी दिएको छ ।