काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सर्वसाधारणमा आईपीओ जारीपछि पहिलो पटक वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले माघ २६ गते होटल माला इन, दाङमा विहान १० बजे सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
सर्वसाधारण शेयरधनीहरूबाट दुई सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १२ गते एक दिन बक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ ११ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
यस कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरी असोज २४ गते आईपीओ बाँडफाँट गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली समेत सर्वसाधारणमा बाँडफाँट गेको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता १०० अंकित मूल्यमा प्रिमियम वापत् १२५ रूपैयाँ थप गरी प्रतिकित्ता २२५ रूपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रूपैयाँमा प्रिमियम वापत् १३७ रूपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रूपैयाँ ५८ पैसामा आईपीओ विक्री गरेको हो । यस कम्पनीले दाङ जिल्लामा क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । २०६९ साल जेठ १८ गतेदेखि कम्पनीले उत्पादन सुरू गरेको हो ।