साउन ११, काठमाडौं । नेपालको शेयर बजारमा पछिल्लो समय जलविद्युत् कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढीरहेको अवस्थामा सोमवार ङादी ग्रुप पावरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ ।
यो दिन कम्पनीको रू. ३९ करोड ३० लाख ३७ हजार बराबरको ४ लाख ६९ हजार ५६५ कित्ता शेयर कारोबार भएको हो । कम्पनीको सर्वाधिक रकमको कारोबारसँगै मूल्य पनि सर्किट लेभलमै बढेको छ । यसर्थ कम्पनीको शेयर सर्वाधिक कारोबार भएको अवस्थामा पनि शेयर खरीद माग बढी भएको बुझिन्छ ।
शेयर बजारमा कम्पनीहरुको शेयरको खरीद माग र विक्री मागको आधारमा मूल्य निर्धारण हुने गर्दछ । यस कम्पनीको शेयरमूल्य असार २९ गतेदेखि निरन्तर बढेको छ । असार २८ गते रू. ४७७ अन्तिम मूल्य कायम भएको कम्पनीको असार २९ गते प्रतिकित्ता रू. १६ ले बढेर अन्तिम मूल्य रू. ४९३ कायम भएको थियो । त्यसपछि निरन्तर मूल्य वृद्धि भई साउन ११ गते कम्पनीको अन्तिम मूल्य रू. ८३९ दशमलव ८० कायम भएको छ । कम्पनीको शेयरमूल्य आइतवार र सोमवारनै सर्किट लेभलमा बढेको हो ।
आइतवार पनि कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको थियो । आइतवारकोे तुलनामा सोमवार कम्पनीको अन्तिम शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ७६ दशमलव ३० ले बढेको हो ।
हाल उक्त कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ९१ लाख १० हजार रहेको छ । कम्पनीले हालसम्म गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छैन । तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोषमा रू. ४ करोड १६ लाख २७ हजार छ । उक्त अवधिसम्म कम्पनीले २ करोड ८० लाख ९५ हजार खुद नाफा गरेको थियो । प्रतिशेयर आम्दानी रू. ६ दशमलव ३६ रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०७ दशमलव शून्य ७ रहेको छ ।
कम्पनीले आर्थिक वर्ष ०७६÷७७ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीको लाभांश इतिहासमा हालसम्मकै उच्च लाभांश १० दशमलव ५३ प्रतिशत रहेको छ ।
विगत पाँच आर्थिक वर्षको लाभांश इतिहासलाई हेर्दा कम्पनीले तीन आर्थिक वर्ष नगद लाभांश मात्र वितरण गरेको छ भने गत आर्थिक वर्षसँगै आर्थिक वर्ष ०७३/ ७४ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश बाडेको थियो । यस वर्ष अझ राम्रो लाभांश दिने अपेक्षासहित लगानीकर्ता कम्पनीको शेयर खरीदमा सक्रिय रहेको देखिन्छ ।