विश्वका विभिन्न भागमा रोजगारी, अध्ययनका साथै उच्च जीवनस्तरको अभिलाषा तथा अन्य अवसर प्राप्तिका निम्ति एक देशका बासिन्दा अर्को देशमा बसाइँसराइ गर्ने परम्परा लामो छ। विश्वव्यापीकरणको प्रभावले विगत केही दशकयता त यो प्रवृत्ति निकै फस्टाएको छ। अन्तर्राष्ट्रिय आप्रवासनको यस कडीमा नेपाली समुदाय अछुतो छैन। विश्वको थुप्रै मुलुकमा अवसर प्राप्तिका लागि नेपाली पुगेका छन्। यिनै प्रवासी नेपालीको सङ्गठित संस्थाका रूपमा गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले छरिएका नेपालीलाई एकै छातामुनि आबद्ध गरेर मातृभूमिप्रतिको दायित्वलाई झकझकाउने प्रयास गरिरहेको छ। यसमा केही सफलतासमेत प्राप्त हुँदै गएको छ।