काठमाडौं । पछिल्लो केही दिनदेखि होटल तथा पर्यटन समूहको शेयरमा खरीदकर्ता आकर्षित हुन थालेका छन् । पाँच दिनमा यस समूहको परिसूचक १४ दशमलव १२ प्रतिशत बढेको छ । आइतवार यस समूहको परिसूचक ४ हजार १९२ दशमलव ३१ रहेकोमा बिहीवार ४ हजार ७८४ दशमलव ३५ पुगेको छ । होटल तथा पर्यटन समूहका कम्पनीको शेयर भोलुमसहित वृद्धि भएको छ ।
यस समूहका कम्पनीहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अर्थात् चैत मसान्तसम्म आकर्षक नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेका थिए । पर्यटक आगमनमा भएको वृद्धिसँगै समूहका कम्पनीहरूको नाफामा वृद्धि भएको हो । यसको प्रत्यक्ष असर कम्पनीका शेयर मूल्यमा परेको छ । यस समूहमा ६ कम्पनी छन् । चार ओटा होटल र दुई ओटा केबलकार कम्पनीहरु यो समूहमा रहेका छन् ।
पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको आवागमन वृद्धिसहित यिनीहरुको व्यापारमा पनि वृद्धि देखिन थालेको छ । जसको प्रमाण तेस्रो त्रैमासको रिपोर्टले पनि देखाएको छ ।
कोभिड संक्रमणको कारण सबैभन्दा धेरै र सबैभन्दा लामो समयसम्म असर परेको क्षेत्रका भनेकै होटल तथा पर्यटन क्षेत्र थियो । सन् २०२० को शुरुवातसँगै करीब ३ वर्ष होटल तथा पर्यटन क्षेत्र उठ्नै नसक्ने गरी थला परेको थियो । कोभिडको कारण प्रभावित भएको होटल तथा पर्यटन ब्यवसाय पछिल्लो समय लयमा फर्किँदै छ । बाह्य पर्यटकहरुको सख्या पनि बढेका कारण लगानीकर्ताको आकर्षण बढेको लगानीकर्ता एस पी चौलागाईं बताउँछन् । यसोत यस समूहका कम्पनीको शेयर ट्रेडरहरुको रोजाइमा परेकाले पनि शेयर मूल्य बढेको चौलागाई बताउँछन् ।
पाँच कारोबार दिनमा ६ कम्पनीमध्ये सबैभन्दा बढी सिटी होटलको शेयर मूल्य ४६ दशमलव २४ प्रतिशत वृद्धि भएको छ । यस कम्पनीको शेयर मूल्य आइतवार प्रतिकित्ता रू. १२२ दशमलव २ रहेकोमा बिहीवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १७८ दशमलव ७ पुगेको छ । यस कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आइतवारदेखि मात्रै कारोबारमा आएको हो । त्यस्तै दोस्रोमा कालिञ्चोक दर्शनको शेयर मूल्य ५ कारोबार दिनमा १८ दशमलव २२ प्रतिशत बढेर प्रतिकित्ता रू. ९१५ पुगेको छ ।