चुक्ता पूँजी वृद्धिको अपरिपक्व निर्णय

बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरेको छ । कम्पनीहरूको पूँजी वृद्धि हुनु राम्रो हो । समितिको यस्तो निर्णयपछि कम्पनीहरूले थोरै समयसीमा दिएर पूँजी वृद्धि गर्न लगाउन नहुने तर्क दिइरहेका छन् । समितिले चुक्ता पूँजी किन बढाउन परेको हो भन्ने तर्क चित्तबुझ्दो गरी दिन सकेको छैन । पूँजी वृद्धिको प्रयोजन मर्जरलाई बाध्यात्मक बनाउन खोजेको हो वा वास्तवमै पूँजी बढाउन आवश्यक हो भन्ने कुरा स्पष्ट छैन । व्यवसाय बढेअनुसार जोखिमको मात्रा कम गराउने लक्ष्य लिएको समितिको दाबी रहे पनि व्यवसाय विस्तार नभएकाले यसले उल्टै जोखिम बढाएको छ । बीमा कम्पनीहरूले समितिको निर्णयको विरोध गर्नु यही कारण हुन सक्छ । पहिले जीवन बीमाका लागि २ अर्ब र निर्जीवन बीमाका लागि १ अर्ब रूपैयाँ चुक्ता पूँजी हुनुपर्ने व्यवस्था थियो । समितिले त्यसलाई बढाएर जीवनका लागि ५ अर्ब र निर्जीवनका लागि २ अर्ब ५० करोड रूपैयाँ पुर्‍याएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जर गराउने उद्देश्यले नियामक नेपाल राष्ट्र बैंकले चुक्ता पूँजी वृद्धि गरेको थियो । तर, बैंकहरू हकप्रदतर्फ गए जसले गर्दा बकिङ क्षेत्र समस्यामा फसिरहेको छ । अहिले तिनीहरू अधिक पूँजीको भारले थिचिएका छन् । त्यस्तै ठूलो पूँजी निष्क्रिय भएर बसेकाले तरलताको समस्या बढाउन पनि पूँजी वृद्धि एक कारक मानिएको छ । बैंकिङ क्षेत्रमा समस्या त थपियो नै तर राष्ट्र बैंकले उद्देश्य पनि पूरा भएन । यही अवस्थामा बीमा कम्पनीहरूमा पनि आउने सम्भावना देखिन्छ । कम्पनीको आकार कत्रो बनाउने, कति चुक्ता पूँजी पुर्‍याउने भन्ने कुरा कम्पनीको व्यापारको आकारमा निर्भर हुने हो र यसको अन्तिम निर्णय साधारणसभाले गर्नुपर्ने हो । तर, लादिएको यो बाध्यात्मक नियामकीय निर्णयले बीमा कम्पनीहरूलाई बलियो बनाउनभन्दा समस्या थपिदिन सक्छ । बीमाको बजार बढेको छैन । व्यवसायको आकार पनि बढेको छैन । यस्तोमा जोखिम कम गराउन चुक्ता पूँजी बढाउनु परेको भन्ने समितिको दाबी पत्याउन सकिँदैन । पूँजी वृद्धि गर्न आधार हुनुपर्छ । विद्यमान चुक्ता पूँजीले व्यवसाय गर्न पुगेन भने मात्रै पूँजी वृद्धि गर्ने हो । तर, हकप्रद शेयर जारी गरेर पूँजी वृद्धि गराउने हो भने बीमा कम्पनीहरू पनि अधिक पूँजीको भारले थिचिने सम्भावना देखिन्छ । यसबाट कम्पनीहरूको मुनाफा प्रभावित हुन्छ, जसले गर्दा शेयरधनीहरूले पाउने लाभांश घट्छ । यही कारण शेयरबजार पनि प्रभावित हुन सक्छ । शेयरबजारका परिपक्व लगानीकर्ताले यही तथ्यलाई मनन गरेकाले बीमा कम्पनीहरूको मूल्य बढ्ने अपेक्षाविपरीत ओरालो लागिरहेको विश्लेषण गरिएको छ । व्यवसाय बढेअनुसार जोखिमको मात्रा कम गराउने लक्ष्य लिएको समितिको दाबी रहे पनि व्यवसाय विस्तार नभएको हुँदा यसले उल्टै जोखिम बढाएको छ । बीमा कम्पनीहरूले समितिको निर्णयको विरोध गर्नु यही कारण हुन सक्छ । तोकिएको समयसीमाभित्र पूँजी बढाउन असम्भव हुने उनीहरूले बताइरहेका छन् । यी तथ्यलाई हेर्दा समितिले गम्भीर अध्ययन गरेर चुक्ता पूँजी बढाउने निर्णय गरेको हो भन्न सकिने अवस्था देखिँदैन । समिति एकातिर बीमा कम्पनीहरूको संख्या घटाउने कुरा गर्छ भने अर्कातिर नयाँ कम्पनीहरूलाई अनुमतिपत्र दिन उदार रहेको देखिन्छ । कतिपय कम्पनीहरू भर्खरै मात्र सञ्चालनमा आएका छन् । नयाँ बीमा कम्पनी सञ्चालनका लागि स्वीकृति दिएको २/३ वर्षभित्रै संख्या बढी भयो, मर्जर गरेर घटाउनु पर्‍यो भन्नु विरोधाभासपूर्ण देखिन्छ । नयाँ कम्पनी खोल्न अनुमति दिने प्रक्रिया बन्द गरेको समितिले केही कम्पनीलाई अनुमति दियो । यो अनुमति दिँदा ठूलो आर्थिक अनियमितता भएको चर्चा व्यापक भएको पनि थियो । नयाँ कम्पनीहरूले चुक्ता पूँजी नै पुर्‍याउन नभ्याउँदै संख्या घटाउन भनेर पूँजी बढाउने निर्णय गर्नु केटाकेटीको खेलजस्तै भएको छ । मर्जर नै खोजेको हो भने पूँजी वृद्धि नगरीकन नै यस्तो दबाब दिन सकिन्थ्यो । अर्को अहिले बीमाक्षेत्रको ठूलो समस्या भनेको दक्ष जनशक्तिको अभाव हो । त्यो अभाव कसरी पूरा गर्ने भन्नेमा समितिले प्रभावकारी काम गर्न सकेको छैन । यस्तोमा पूँजी वृद्धिका लागि सबै विकल्प खुला गरिदिएपछि हकप्रदको विकल्प नै धेरै कम्पनीले अँगाल्ने सम्भावना बढी देखिन्छ । अतः समितिले चुक्तापूँजी वृद्धिका लागि गरेको निर्णय हतारको निर्णय हो भन्ने देखिन्छ । यदि समितिले बीमा कम्पनीहरूलाई मर्जर नै गराउन चाहेको हो भने सीधै भन्न सक्छ । यसका लागि प्रोत्साहन र सहुलियत दिएर कम्पनीहरूलाई आकर्षित गर्न सकिन्छ । समिति आफैले गरेको गलत निर्णय कम्पनीहरूमाथि लादेर समस्याको समाधान निस्कँदैन ।

सम्बन्धित सामग्री

जीवन बीमा कम्पनीहरूसँग अन्तरक्रिया

काठमाडौँ– बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बुधबार काठमाडौंमा बीमकको पूँजी वृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्दै कम्पनीहरूले एक वर्षभित्र पूँजी वृद्धि गर्नै पर्ने बताए । लगानी अनुरूपको […]

भारतको भन्दा नेपालका बैंकको चुक्ता पूँजी किन बढी ?

‘मैले पूँजी बढाउने आँट गरे’ पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल जुनसुकै कार्यक्रममा पुग्दा पनि बोल्ने यो वाक्य ‘थेगो’ जस्तै बनेको छ । उनको यो कुरा सुन्दा एउटा लोककथाको झल्को आउन थालेको छ । कथाअनुसार बिहे गरेर गएको ज्वाइँ आमाछोरी दुवैलाई मन परेनछ । आमाले छोरीका लागि अर्को ज्वाइँ खोजेर छोरीलाई फिर्ता बोलाइछन् । छोरी जिम्मा लगाउन पहिलो ज्वाइँ आफै गएछ । बाटामा भेटिएको बाघलाई ज्वाइँले खुकुरी प्रहार गरी घाइते पारेपछि यस्ता कुरा सामान्य हुन्, कसैलाई नभन्नु भनेछ । छोरी चाहिँ माइतीघरमा पुगेकै दिन आमाले ठिक्क पारेको नयाँ ज्वाइँसँग बुइँगलमा सुत्न गइछन् । बुइँगलमा अन्न खान आएको मुसा समाउन खोज्दा कान समातेछ र तानातानमा कान चुँडिएपछि ‘मैले काटेँ मुसाको कान, ससुरालीको बचाएँ धान’ भन्दै चिच्याउन थालेछ । डा. नेपालको ‘थेगो’ दोस्रो ज्वाइँले गरेको कार्यभन्दा केही फरक छैन । नेपालले पूँजी बढाउन ‘आँट’ गरेँ भन्नु कुनै पनि हिसाबले ‘बहादुरी’ होइन । बैंक तथा वित्तीय संस्था सबलीकरण गर्न जगेडा कोष बढाउने, मुद्रा आपूर्ति सहज गर्ने र भुक्तानी प्रणाली व्यवस्थित गर्नेजस्ता काम गरेको भए साँच्चीकै ‘आँटिलो र बहादुर’ भन्न सकिन्थ्यो । उनले भन्ने गरेको ‘आँट’ अहिले वित्तीय क्षेत्र अस्तव्यस्त बनाउने अस्त्र बनेको छ । औचित्यहीन पूँजी वृद्धि चिरञ्जीवी नेपाल गभर्नर भएको ४ महीना नबित्दै साउनमा जारी गरेको मौद्रिक नीति, २०७२ मार्फत बैंक तथा वित्तीय संस्थालाई २ वर्षभित्र ४ गुणाले चुक्ता पूँजी बढाउन निर्देशन दिए । गभर्नर भएको करीब ४ महीनामा नेपालले के अध्ययन गरेर यति धेरै मात्रामा पूँजी वृद्धिको नीति लिए आजको दिनसम्म पनि ‘आँट’ गरे भन्नेबाहेक त्यसको औचित्य सावित हुन सकेको छैन । बैंक वित्तीय संस्थाले पनि यति पूँजी वृद्धि किन भनेर प्रश्न गर्न सकेनन् । बरु विभिन्न उपकरण उपयोग गरी पूँजी बढाउने कार्ययोजना पेश गरे पनि अन्तत: हकप्रदको ओइरो लगाए । यो अवधिमा बैंक अफ काठामाडौं र लुम्बिनी बैंक मात्र गाभिए । अन्य केही ससाना बैंक गाभिए पनि त्यसले कुनै अर्थ राखेन बरु ग्रामीण क्षेत्रमा बैंकिङ बानी पारिरहेका यस्ता ससाना बैंक ठूलो बैंकसँग गाभिँदा स्थानीय स्तरमा बैंकिङसमेत ओझेल पर्‍यो । साना बैंक करीब समाप्तै भए । पूँजी पुगेर पनि चिरञ्जीवी सन्तुष्ट हुन सकेनन् र ‘बिग र मेगा’ मर्ज गर्छु/गर्नुपर्छ भन्दै बैंकलाई जोडी खोजेर आउन अर्को आदेश जारी गरे । आफ्नो अन्तिम मौद्रिक नीतिमा ७० प्रतिशत बोनस र ३० प्रतिशत मात्र नगद लाभांश बाँड्न पाउने अर्को नियन्त्रणमुखी आदेश जारी गरे । यसलाई त्यसपछिका गभर्नर महाप्रसाद अधिकारीले पनि जारी राखे । भारतीय बैंकको पूँजी रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले सरकारी, निजी र विदेशी गरी वाणिज्य बैंकलाई तीन भागमा बाँडेको छ । भारतका बैंकको पूँजी नेपालको तुलनामा धेरै नै कम देखिन्छ । आरबीआईले यहाँ जस्तो पूँजी वृद्धि गर्न आदेश दिएको देखिँदैन । भारतमा देशभर सेवा दिने बैंकको पूँजी ६ अर्ब भारतीय रुपयाको (भारू) हाराहारी छ । सन् १९२० मा केरलामा स्थापित सीएसबी (क्याथोलिक सिरियन) बैंकको पूँजी भारू १ अर्ब ७३ करोड मात्र छ । बैंकले १८ प्रान्त र २ केन्द्र शासित प्रदेशमा सेवा विस्तार गरेको छ । झन्डै साँढे ३ करोड जनसंख्या भएको केरला राज्यको लागि नेपाली बैंकको तुलनामा अत्यन्तै थोरै पूँजी हो । तर पनि आरबीआईले यसको पूँजी नेपालको सरह पुर्‍याउने आदेश दिएको देखिँदैन । यस्तै, भारतभर सेवा पुर्‍याएको एचडीएफसी बैंकको पूँजी भारू ५ अर्ब ५१ करोड मात्र छ । भारतमा भारू १ खर्ब ६५ अर्बसम्म पूँजी भएको बैंक पनि छ । बैंकको पूँजी धेरै हुँदैमा गतिलो हुने होइन रहेछ भन्ने भारतीय बैंकलाई हेर्दा थाहा हुन्छ । थोरै पूँजी हुँदा पनि बैंकले ठूलो पूँजी हुनेको जत्तिकै नाफा कमाउन र पूँजी पर्याप्तता अनुपात अर्थात् क्यापिटल एड्क्वेसी रेसियो (सीएआर) कायम राख्न सकिने रहेछ भन्ने उदाहरण भारतका बैंकले दिएका छन् । केही भारतीय वाणिज्य बैंकको पूँजी, जगेडा, निक्षेप, लगानी र सीएआर आदि तालिकामा पेश गरिएको छ । केटाकेटी, गुलेली र मट्यांग्रा शुरूको अनुच्छेदमा उल्लिखित प्रसंगलाई यहाँ फेरि जोडौं । नेपालका वित्तीय क्षेत्रका नियामक सबैको पारा चिरञ्जीवी नेपालको जस्तै छ । नेपालकै बाटोमा लागेर बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले पनि बीमा कम्पनीको पूँजी ४ गुणा बढाए । चापागार्इंको आदेशमाथि बीमा कम्पनीले पनि कुनै प्रश्न गरेनन् र बैंककै पाराले पूँजी पुर्‍याए । पूँजी त पुग्यो तर, व्यापार थिएन र अहिले पनि छैन । पूँजीको भारले थिचिएको बेला नयाँ अध्यक्ष सूर्यप्रसाद सिलवालले पनि अरू केही काम नपाएर होला १ वर्षभित्र डेढ गुणा पूँजी बढाउन अर्को आदेश जारी गरेका छन् । सिलवालको पूँजी बढाउने आदेशको विज्ञप्तिमा ‘नेटवर्थ’ बढाउने भन्ने हाँसो उठ्दो वाक्य छ । नेपाल राष्ट्र बैंक र बीमा समिति नियामक बन्न किन सक्दैनन् र नियन्त्रक बन्छन् जटिल विषय बनेको छ । नेपाल धितोपत्र बोर्डका प्रमुखको काम पनि उस्तै छ । हालै बोर्डका अध्यक्षले ‘दर्तै’ नभएको कम्पनीको उजुरी सुनेर परिपत्र विधिबाट किन शेयर जारी गरेको भन्दै अनुसन्धानमा लागेका छन् । अघिल्ला अध्यक्षले वित्तीय सल्लाहकार बन्दै ५१ ओटा कम्पनीको सूची सार्वजनिक गरिदिए । निचोडमा, यी सबै नियामकको काम हेर्दा ‘केटाकेटी आए, गुलेली खेलाए, मट्यांग्र्राको सत्यानाश’ भने जस्तै छ । मट्यांग्राले चरो मार्ने कुरै छाडौं, चराको प्वाँख पनि झार्न सकेका छैनन् लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

बीमा कम्पनीहरूको हितमा चुक्ता पूँजी वृद्धिको निर्णय

काठमाडाैँ – बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरिएको बताएका छन्। ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा बीमा कम्पनीहरूका सञ्चालक समितिका अध्यक्षहरूसँग समसामयिक विषयमा बिहीबार भएको छलफल कार्यक्रममा अध्यक्ष सिलवालले धेरै लामो गृहकार्य गरेर […]

बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धिको निर्णय सबैको हितमा : अध्यक्ष सिलवाल

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमा प्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरिएको बताएका छन् । बीमा समितिको कार्यालयमा बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्षहरूसँग समसामयिक विषयमा आज भएको छलफल कार्यक्रममा अध्यक्ष सिलवालले धेरै लामो गृहकार्य गरेर बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरिएको स्पष्ट गरे । “बीमा कम्पनीहरूको पूँ

बढ्ला त वाणिज्य बैंकको चुक्ता पुँजी ?

२ असार, काठमाडौं । केहि दिनयता सामाजिक सञ्जालमा वाणिज्य बैंकहरूको चुक्ता पूँजी बढाउनुपर्ने बहस चलिरहेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेका कारण पनि कतै बैंकहरूको पूँजी वृद्धिको नीति आउने हो कि भन्ने आशंका एकथारीलाई छ । कतिपयले ‘क’ वर्गका बैंकहरूको चुक्ता पुँजी तीन गुणा बढाएर २४ अर्ब पुर्‍याउनुपर्ने बताउँदै आएका छन् । […]

आयल निगमले सर्वसाधारणका लागि ६ अर्बको सेयर जारी गर्ने

नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ। यो खबर राजु चौधरीले आजको कान्तिपुरमा लेखेका छन्। चुक्ता पूँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो। हाल निगमको चुक्ता पूँजी २९ करोड रुपैयाँ छ। चुक्ता पूँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्‍याइने निगमले जनाएको छ। निगमका अनुसार…