अर्थतन्त्रको लय कतातिर ? : संकटको वास्तविकतामै विवाद

नेपालको अर्थतन्त्र संकटमा छ भनेर विश्लेषण भइरहँदा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले भने देशको आर्थिक अवस्था सन्तोषजनक रहेको देखाएको छ । उद्यमी व्यवसायीहरूले अप्ठ्यारो अनुभव गरिरहेका बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले अप्ठ्यारामा पुगेको अर्थतन्त्रलाई सम्हालेको र अब केही समयमा नै नतिजा देखिने दाबी गरिरहेका छन् । सरकारले प्रस्तुत गरेको तथ्यांक, निजीक्षेत्रको दाबी र सर्वसाधारणले भोगेको अनुभवलाई हेर्दा अर्थतन्त्रमा तालमेल नमिलेको, तथ्यांकमा केही त्रुटि भएको र आआफ्नो स्वार्थको आधारमा विश्लेषण गरेको देखिन्छ । त्यसैले साँचिकै अर्थतन्त्रमा के भइरहेको छ भन्नेमा चाहिँ सर्वसाधारण कुहिराको काग बन्नुपर्ने अवस्था छ । एउटा उद्यमीका रूपमा मैले देखेको अर्थतन्त्र विगतकै निरन्तरताबाहेक खासै ठूलो संकट आएको वा समाधान भएको देख्दिनँ ।  सकारात्मक संकेत पछिल्लो समय महँगी केही घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । पछिल्लो समय विप्रेषण आप्रवाह बढिरहेको छ । त्यस्तै आयातमा कमी आउँदा विदेशी मुद्रा थपिँदै गएको छ । तर, विदेशी मुद्रा पर्याप्त भए पनि आवश्यक वातावरण नहुँदा सरकार र निजीक्षेत्रको खर्च गर्ने क्षमतामा वृद्धि भएको देखिँदैन । विदेशी मुद्राको सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्ष (आव) को ४ महीनामा नै कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले बढेको छ । चार महीनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महीनाको वस्तु आयात र ११.३ महीनाको वस्तु तथा सेवा आयात धान्ने देखिन्छ । नेपाल श्रीलंका बन्न लागेको भाष्यलाई यसले चिरिदिएको छ । विदेशी मुद्राको अभाव भएर वस्तु आयात गर्न नसक्ने अवस्था नेपालमा देखिँदैन । यसो हुनुमा सरकारले आयातमा गरेको कडाइ एउटा कारण हो । तर, आयात खुला गर्दा पनि वस्तुको आयात बढ्न सकेको छैन । यो नबढ्नु राम्रो हो कि नराम्रो हो भन्न सकिँदैन । यो नबढ्नुको अर्थ उपभोग क्षमता घटेको भनेर अर्थ लगाइँदै छ । तर, उपभोगको मुख्य आधार भनेको विप्रेषण हो र यो बढिरहेको छ । त्यसो भए बचत बढेको हो भन्नुपर्छ । त्यो भनेको अर्थतन्त्रका लागि सकारात्मक पक्ष हो । तर, व्यापक विरोध र मागपछि अहिले राष्ट्र बैंकले नीति परिवर्तन गरेपछि ब्याजदर घटेको छ ।  यसपछि कर्जा केही बढेको छ र बैंकहरू अत्यधिक तरलताको समस्या भोगिरहेका छन् । एक वर्षअघिको तरलताको अभाव हटेको छ । तर, पनि अर्थतन्त्रका केही पक्षहरू सही देखिन्नन् । कात्तिकसम्मको तथ्यांकअनुसार शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँ बचतमा रहेको छ । त्यस्तै चालू खाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको देखिन्छ । तर, अघिल्लो आवको यही अवधिमा चालू खाता ३७ अर्ब ७९ करोड रुपैयाँले घाटामा थियो । अर्थतन्त्रको माखिसांग्लो  अर्थतन्त्रमा सुधार आएको भन्ने सरकारको दाबीलाई शेयरबजारमा निरन्तर भइरहेको केही वृद्धि र घरजग्गा कारोबारमा देखिएको सुधार पनि हो । कोरोना कालमा सुस्ताएको अर्थतन्त्रलाई राहत दिन सरकारले ल्याएको सस्तो पैसा घरजग्गा तथा शेयरबजारमा गएको थियो । तर, यी दुवै क्षेत्रमा मन्दी आएपछि अर्थतन्त्र नै संकटमा देखिएको हो । पैसा शेयरमा डुबेको छ र घरजग्गाको कारोबार नै छैन । यसो भएपछि व्यवसायहरू नै चौपट बन्न पुगेका हुन् । यी क्षेत्रमा उद्योगी व्यवसायी, बैंकर, सरकारी कर्मचारी जो केही लगानी गर्न सक्छन्, ती सबैले यी क्षेत्रमा लगानी गरे । त्यसैको परिणति अर्थतन्त्रमा फोका उठेको थियो । सरकारले यी कुरामा नियन्त्रण गर्न खोज्दा समस्या झनै चर्कियो । अहिले यी क्षेत्रलाई खुकुलो बनाएर अर्थतन्त्र सुधार्न खोजिएको छ । यसो गर्दा आउने समस्या भनेको पुरानै रोगको पुनरावृत्ति हो अर्थात् सरकारले सस्तो पैसा शेयर र घरजग्गामा लगानी गर्ने बाटो बनाइदिएपछि ती क्षेत्र बढ्छन् र कुनै पनि बेला त्यो फोका फुट्न सक्छ । नेपालको अर्थतन्त्रको समस्या नै यही हो । नेपालको जग्गाको भाउ यूरोप अमेरिकाका शहरी क्षेत्रसरह पुगेको छ भनिन्छ । त्यो घरजग्गा किन्नका लागि भ्रष्टाचारको पैसा प्रयोग हुन्छ । जिन्दगीभरको कमाइले घरजग्गा जोड्न नसक्ने भए पनि युवावर्ग निराश भएर देश छाड्दै छ । तिनलाई देश छाड्न सहयोग गर्ने पनि यही घरजग्गा क्षेत्र हो । घरजग्गामा लगानी गर्नेको हातमा केही पैसा परेपछि त्यही पैसा देखाएर क्यानडा र अस्ट्रेलिया उड्नेको संख्या बढेको हो । अर्थतन्त्रको यो चक्र यति अप्ठ्यारोमा छ कि त्यसको गाँठो फुकाउन सरकार, राष्ट्र बैंक र प्रशासनयन्त्रसँग सामथ्र्य नै देखिँदैन । एकातिर छोयो अर्कातिर प्वाल परिहाल्छ । त्यही प्वाल टाल्न अर्को केही वर्ष लाग्छ । अहिलेको कर्जामा खुकुलो नीतिले संकटको प्वाल टाल्न सक्छ कि सक्दैन, केही वर्ष कुुर्नुपर्ने हुन्छ ।  आयात–निर्यात र अर्थतन्त्र देशको अर्थतन्त्रको सबैभन्दा बलियो आधार आयातनिर्यात नै हो । हामीले कति र कस्तो वस्तु आयात गरेका छौं र कस्तो वस्तु निर्यात गरेका छौं, त्यसको अर्थतन्त्रको दिशा र दशा निर्धारण गर्छ । नेपालबाट निर्यात भएका वस्तुको परिमाण, देश र वस्तुको संख्या तथा तिनको उत्पादन स्थिति हेर्दा नेपालको अर्थतन्त्र कहालीलाग्दो छ । प्रणालीभित्रको कुनै छिद्र खोजेर वा सुविधा हेरेर तत्कालीन लाभका आधारमा वस्तुहरूको आयात र निर्यात भइरहेको छ । दिगो अर्थतन्त्रलाई टेवा पुग्ने गरी ज्यादै कम वस्तुमात्र आयात र निर्यात भइरहेका छन् । चार महीनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आएको छ भने आयातमा ३ दशमलव ८ प्रतिशतले कमी आएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार ५० अर्ब ५७ करोड बराबरको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३३ दशमलव ३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १४ दशमलव ५ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमश: ३०७ दशमलव ९ प्रतिशत र ४ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ ।  पहिलो र प्रमुख समस्या भनेको नेपालबाट निर्यात ज्यादै कम हुनु हो । यसले हामीलाई विदेशी मुद्रा कमाउन अवसर प्रदान गर्दैन । स्वदेशमा आम्दानीको अवसर सीमित छ । नेपालमा सबै आन्तरिक माग आयातले धान्ने गरेको छ । नेपालमा निर्यात र आयात करीब करीब १:१३ अनुपात छ । तुलनात्मक लाभका वस्तुको उत्पादन पनि रोकिएको छ । आयातित वस्तुमा पुन: निर्यात गर्दा पनि मूल्य अभिवृद्धि भएको देखिँदैन । सरकारी खर्चको चिन्ता महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिकसम्म नेपाल सरकारको कुल खर्च ३ खर्ब ५५ अर्ब ६३ करोड रुपैयाँ भएको छ । सरकारी खर्च गत आवको पहिलो ४ महिनामा २२ दशमलव १ प्रतिशतले वृद्घि भएकोमा समीक्षा अवधिमा १ दशमलव ३ प्रतिशतले मात्र वृद्घि भएको छ । चालू आवको पहिलो ४ महीनामा चालू खर्च २ खर्ब ७१ अर्ब १७ करोड, पूँजीगत खर्च २९ अर्ब ९९ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च ५४ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । नेपालको अर्थतन्त्रको संरचना करीब ५१ खर्ब पुगेको मानिन्छ । यति सानो संरचना भएको अर्थतन्त्रमा धेरै समस्या छन् । अर्थतन्त्र उकास्ने भनेको सरकार र निजीक्षेत्रले हो । अस्थिर राजनीतिका कुनै पनि दलले पूर्ण अवधि सरकार चलाउन सकेको छैन । अर्थनीतिभन्दा माथि राजनीति हुनुपर्नेमा अर्थनीतिमाथि राजनीति हाबी भएको छ । राजनीति नै कमजोर भएकाले नीति निर्माण पनि कमजोर भइरहेको छ । निर्माण भएका नीतिको कार्यान्वयन पनि निकै कमजोर रहेको छ ।  सुदृढ अर्थतन्त्रका लागि सरकार नै महत्त्वपूर्ण पक्ष हो । सरकारले निर्माण गर्ने वित्त नीतिमा कमीकमजोरी देखिएका छन् । बजेट तर्जुमा नै हचुवा किसिमबाट हुने गरेको छ । आम्दानी र खर्चमा सामञ्जस्य हुन सकेको छैन । सरकारले गर्ने आम्दानी भनेको राजस्व, वैदेशिक अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋण हो ।  हामीले कति र कस्तो वस्तु आयात गरेका छौं र कस्तो वस्तु निर्यात गरेका छौं, त्यसको अर्थतन्त्रको दिशा र दशा निर्धारण गर्छ । नेपालबाट निर्यात भएका वस्तुको परिमाण, देश र वस्तुको संख्या तथा तिनको उत्पादन स्थिति हेर्दा नेपालको अर्थतन्त्र कहालीलाग्दो छ । विकासका लागि पूँजीगत खर्च बढी हुनुपर्छ । तर, केही वर्षदेखि विकास खर्चभन्दा चालूगत खर्च धेरै हुने गरेको छ । यसले के देखाउँछ भने विकास खर्चलाई हाम्रो अर्थतन्त्रले प्राथमिकतामा नराख्दा यो ओझेलमा परेको छ । यस्तो अवस्था आउनुलाई अर्थशास्त्रीय दृष्टिकोणबाट राम्रो मानिँदैन । साथै, पूँजीगत खर्च बढाउनुपर्नेमा चालूगत खर्च बढ्दै गयो भने अनुत्पादक खर्चको बाहुल्य हुने गर्छ । यसले अर्थतन्त्रलाई कमजोर बनाउँछ । त्यसैगरी, सरकारले गर्ने खर्च मितव्ययी हुन सकेको छैन । सरकारबाट प्रवाह हुने सेवा महँगो भएको छ । अन्तरराष्ट्रिय स्तरमा नै वस्तु तथा सेवा महँगो हुँदा आयातित वस्तु तथा सेवा स्वत: महँगो हुन्छ । आयातमा आधारित अर्थतन्त्र भएकाले कच्चा पदार्थ, खाद्य सामग्री, प्रविधि तथा निर्माण उपकरणजस्ता वस्तु खरीदको बाह्य भुक्तानीमा ठूलो रकम खर्च हुने गरेको छ र आयातित वस्तु वृद्धि हुँदा अर्थतन्त्रमा असर परेको छ । विप्रेषण वृद्धि र अर्थतन्त्र  अहिले देशको अर्थतन्त्र विप्रेषणले धानेको छ । करीब १२–१३ खर्ब रुपैयाँ विप्रेषण भित्रिइरहेको छ । यदि यो रकम प्राप्त नहुँदो हो त बाह्य अर्थतन्त्रमा ठूलो दबाब आउन सक्थ्यो । देशको अर्थतन्त्र बलियो भएको अवस्थामा वैदेशिक रोजगारीलाई प्रोत्साहन गर्ने कुरा राम्रो हुन्थ्यो । सस्तो श्रम बेचेर प्राप्त गरेको आम्दानी पनि उत्पादनको क्षेत्रमा लगानी हुन सकेको छैन । जीवन निर्वाहका लागि मात्र विप्रेषणको रकम खर्च गर्ने हो भने देशको अर्थतन्त्र बेलुन फुलेसरह हुनेछ । जुन कुनै पनि बेला विस्फोट हुन सक्छ । बुझ्नुपर्ने कुरा के हो भने, विप्रेषणबाट आउने सबै रकम वैधानिक बाटोबाट आएको छैन । हुन्डीजस्ता अवैध मार्गबाट प्रवेश गर्ने हुँदा यसले पनि अर्थतन्त्रमा समस्या सिर्जना गरेको छ । विप्रेषणबाट आउने सम्पूर्ण रकमलाई वैधानिक बाटोबाट भित्त्याउन सकियो भने यसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान दिन सक्नेछ । विप्रेषणको रकमले आयातका लागि विदेशी मुद्रा पुग्ने गरेको छ । अहिले विप्रेषण बढेकाले विदेशी मुद्राको सञ्चिति निकै बढेको छ । विप्रेषणले उपभोग बढाएको छ । त्यो उपभोगका लागि चाहिने सामान नेपालमा उत्पादन नहुँदा ती सामानका लागि पैसा विदेशिने गरेको छ । उत्पादन बढाउन सकेको भए विप्रेषणको पैसा नेपालमै बस्थ्यो । नेपाल धनी बन्न सक्थ्यो ।  भ्रष्टाचार र अनौपचारिक अर्थतन्त्र  अर्थतन्त्रको ठूलो शत्रु भ्रष्टाचार हो । यही कारण देशमा लगानी गर्ने वातावरण बनेको छैन । भ्रष्टाचारकै कारण अनौपचारिक अर्थतन्त्र मौलाएको छ । घरजग्गा महँगिनुको कारण पनि भ्रष्टाचार नै हो । वैधभन्दा अवैध आयात बढी भएकाले अनौपचारिक अर्थतन्त्र निकै बलियो बनेको छ । कुल अर्थतन्त्रको आधा त अनौपचारिक अर्थतन्त्र रहेको अनुमान छ । यसले अवैध कारोबार बढ्दै गएको छ भने सरकारले राजस्व गुमाउँदै गएको छ । गैरसरकारी संघसंस्थाहरूले अनौपचारिक बाटोबाट अनुदान ल्याउँदा पनि अनौपचारिक क्षेत्र बढेको छ । यसरी अनौपचारिक क्षेत्र हाबी हुँदै गयो भने अर्थतन्त्रको जोखिम बढ्दै जान्छ । भ्रष्टाचारकै कारण विदेशी लगानीकर्ता नेपाल आउन अनिच्छुक देखिएका हुन् । ब्याजदर, निक्षेप र मुद्रास्फीति तरलता अभावले गर्दा ब्याजदर बढ्यो । राष्ट्र बैंकले ब्याजदर बढाएर कर्जा महँगो बनाई उपभोग घटाउने रणनीति लियो । ब्याजदर बढी हुँदा बैंकहरूले लगानी गर्न सकेनन् । अहिले तरलता बढेपछि ब्याजदर घट्न थालेको छ । ब्याजदर घट्दै गयो भने पैसा पलायन हुन्छ । बैंकहरूमा निक्षेप घट्न थाल्छ । त्यसले फेरि ब्याजदर बढ्न सक्छ । नेपालमा यो चक्र चलेको पनि धेरै भइसकेको छ । ब्याजदर मुद्रास्फीति भन्दा थोरै भए पछि बैंकको विकल्प खोज्न थालिन्छ । त्यसले घरजग्गा र शेयरबजार उचाल्छ । यसले दीर्घकालीन रूपमा हाम्रो आर्थिक वृद्धिलाई असर गर्छ । त्यसैले ब्याजदर, निक्षेप र मुद्रास्फीतिलाई सन्तुलनमा राख्नु आवश्यक छ । यसमा सरकार र राष्ट्र बैंकको समन्वयकारी र समुचित भूमिका आवश्यक पर्छ । यो अवस्थामा उद्योगहरूमा लगानी बढाउने हो भने मात्रै उचित समाधान निस्कन्छ । तर, नेपालमा लगानीको वातावरण बन्न सकेको छैन । सरकारको दायित्व अर्थतन्त्र खस्कँदै गए पनि त्यसलाई लयमा ल्याउन राजनीतिक प्रतिबद्धता चाहिन्छ । नीतिगत सुधार चाहिन्छ । केही संरचनागत परिवर्तन पनि आवश्यक हुन्छ । टालटुले नीति र पुरानै संरचनाबाट काम गर्ने हो भने अर्थतन्त्रले गति नलिने निश्चित छ । अस्थिर सरकारका कारण नीति पनि अस्थिर हुने गरेको छ । त्यसैले सरकारले साहसिक कदम चाल्नैपर्छ । केही कठोर र अप्रिय निर्णय लिनैपर्छ । त्यस्तो हिम्मत गर्ने सरकार नआएसम्म अर्थतन्त्रमा तात्त्िवक अन्तर आउने देखिँदैन । लगानी बढाएर उत्पादन नबढाएसम्म अर्थतन्त्र दिगो बन्न सक्दैन । आन्तरिक उत्पादनले आयात कम गर्न सक्नुपर्छ, निर्यात बढाउन सक्नुपर्छ । अहिलेको विश्वमा जुन मुलुकले उत्पादन गर्न सक्छ त्यसैको अर्थतन्त्र बलियो हुन्छ, सरकार पनि बलियो हुन्छ । त्यसकारण सर्वप्रथम आन्तरिक उत्पादनमा वृद्धि गर्नैपर्छ । अर्थतन्त्र सुधार भनेकै उत्पादन बढाउनु हो । करीब ६७ प्रतिशत जनसंख्या कृषिमा लागेको तथ्यांक छ र कुल गार्हस्थ्य उत्पादनमा २४ प्रतिशत योगदान भए पनि यो क्षेत्र उपेक्षित नै छ । बिउ, मल, सिँचाइ, कृषि उपकरणजस्ता आधारभूत कुराको सधैं हाहाकार भइरहन्छ ।  लेखक पर्यटन व्यवसायी हुन् । 

सम्बन्धित सामग्री

‘बार्गेन पर्चेज गेन’ करले ल्याएको तरंग

मर्जर तथा प्राप्ति गरेका तथा फर्दर पब्लिक अफरिङ (एफपीओ) विक्री गरेका कम्पनीबाट कर उठाउन सरकारले ताकेता गरेपछि र सर्वोच्च अदालतले यससम्बन्धी सरकारको निर्णयको पक्षमा फैसला दिएपछि धेरै बैंकले त्यसबापतको कर जम्मा गरेका छन् । बैंकहरूले कर तिरेपछि बैंकहरूको शेयरको मूल्यमा पहिरो जाने विश्लेषण कतिपयले गरे पनि आइतवार नेप्से परिसूचक बढ्यो, कारोबार रकम ५ अर्ब नाघ्यो र बैंकहरूको सूचक ८ दशमलव ११ अंकले मात्र घट्यो । यसले शेयरबजारमा परिपक्वता आएको संकेत गरेको छ । तर, सरकारमाथि यो कर प्रकरणले ठूलो प्रश्न उठाएको छ, यति ठूलो करसम्बन्धी विवाद किन उठ्यो ? यति धेरै रकम कर तिर्ने भइसक्दा समेत आन्तरिक राजस्व विभागलगायत सरकारी कार्यालय के हेरेर बसेका रहेछन् ?  आर्थिक ऐन २०८० को दफा २६ मा सरकारले फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गरी प्राप्त रकमबाट लाभांशबापत वितरित बोनस शेयरको रकम आयमा समावेश नगरेका निकायबाट कर असुली गर्ने र यस्तो कर मङ्सिर मसान्तसम्ममा तिरेमा थप शुल्क र ब्याज मिनाहा गर्ने’ उल्लेख गरेको थियो । त्यस्तै आर्थिक ऐनको दफा २७ मा संस्थाहरू एकापसमा गाभिँदा वा प्राप्ति (मर्जर वा एक्वीजिशन) हुँदा सौदाबाजी गर्दा प्राप्त हुने लाभ (बार्गेन पर्चेज गेन) बापतको आयलाई कर प्रयोजनका लागि आयमा समावेश गरी कर दाखिल गर्न लगाउने व्यवस्था सरकारले राखेको थियो । यसरी निर्धारण भएको कर पनि मङ्सिर मसान्तभित्र दाखिल गरेमा त्यसमा लाग्ने शुल्क तथा ब्याज मिनाहा गर्ने निर्णय सरकारले गरेको थियो । तर, यस्तो करको रकम उठाउन महालेखाले ३ वर्षदेखि ताकेता गरिरहेको थियो । एफपीओ वा मर्जरमा बार्गेन पर्चेज गेनबाट प्राप्त लाभ पूँजीका रूपमा कम्पनीले राखे कर नलाग्ने तर त्यो रकम लाभांशका रूपमा वितरण गर्दा कर लाग्ने महालेखाको ठहर देखिन्छ । मर्जर वा प्राप्तिमा गएका कम्पनीलाई यस्तो लाभांशमा सरकारले छूट दिएको थियो । तर, अहिले धेरै कम्पनीले यसबापतको कर तिरिसकेका छन् । बैंकहरूले सम्भाव्य खर्च भनी कोष छुट्ट्याएकाले उनीहरूले सर्वोच्चको निर्णय आउनासाथ कर दाखिला गरे । तर, अन्य कम्पनीका मामिलामा यस्तो निर्णय भएको भए तिनले यो भार थेग्न सक्ने थिएनन् । कम्पनीहरू बन्द नै हुन्थे । यस्तो करमा सरकारले किन त्रुटि गर्‍यो ? भन्ने प्रश्न अहिले उठेको छ ।  अझ अचम्मको कुरा के छ भने, जति बेला यो कर उठाउनुपर्ने थियो, त्यति बेला करको हाकीम हुँदा कर नउठाउने र सोही व्यक्ति महालेखापरीक्षक भएपछि कर उठाउनुपर्ने भनी प्रतिवेदन लेख्ने काम भएको छ । कर प्रशासनको हाकिमलाई करसम्बन्धी कानून कण्ठै हुनुपर्छ । त्यसैले करमा हाकीम भएका बेला उनले यो विषयलाई किन उठाएनन् ? महालेखा परीक्षक भएपछि मात्रै कर नउठेको किन देखे ? यो गम्भीर प्रश्न पनि अहिले उठेको छ । यसबाट सरकारी अधिकारीहरू करका बारेमा कानूनको व्यवस्थाको सही पालना गर्दैनरहेछन् भन्ने पुष्टि हुन्छ । महालेखाले प्रश्न उठाउनुअघि कर कार्यालयले यसमा किन ध्यान दिएन ? यसमा दोषी को हो ? त्यसको छानबिन हुनुपर्छ कि पर्दैन ?  करमा हाकीम भएका बेला उही व्यक्तिले यो विषयलाई किन उठाएनन् ? महालेखा परीक्षक भएपछि मात्रै कर नउठेको किन देखे ? यो गम्भीर प्रश्न पनि अहिले उठेको छ ।  वास्तवमा नेपालको कर कानूनमा स्पष्टता छैन । एनसेलमा रहेको आफ्नो शेयर विक्री गर्ने आजियाटाको कारोबारमा पनि यही अन्योल देखिएको छ । आजियाटाले एनसेलको शेयर किन्दा पनि यो विवाद आएको थियो । विज्ञहरूले कानूनमा रहेको छिद्र र अस्पष्टताबारे कुरा उठाउँदा पनि सरकारले त्यसमा किन ध्यान दिएन ? करछली भयो भनेर अध्ययन गर्ने संसदीय समितिले कानूनका छिद्र टाल्न के चाहिँ काम गरेको छ ? नेपालमा आउने लगानीकर्तालाई यसरी करमा अल्झाउन थालियो भने कुनै पनि लगानीकर्ता यो उल्झनमा फस्न चाहँदैनन् भन्ने कुरा सरकारले बुझ्न जरुरी छ । ठूलो बजार वा स्रोत भएमा त्यसबाट भोलिका दिनमा फाइदा लिन सक्छु भनेर सोच्ने कम्पनीले यस्तो झमेला ब्यहोर्न पनि सक्छ । भारतमा भेडाफोनको शेयर विक्रीमा पनि यस्तै विवाद आएको थियो तर त्यहाँ कानून संशोधन गरेर मात्रै कर उठाइयो । त्यहाँ बजार देखेर यस्तो कर तिरेर पनि बस्न कम्पनी तयार भयो । तर, नेपालको बजार त्यस्तो नहुँदा यस्ता किचलोले विदेशी लगानीकर्तालाई निश्चय नै तर्साउँछ । कति बेला सरकारले कस्तो निर्णय गर्छ भन्ने निश्चय नभएको अवस्थामा कम्पनीहरू यहाँ लगानी गर्न पक्कै डराउँछन् । सर्वोच्च अदालतले ३ वर्ष अघिदेखिको महालेखाको सुझाव कार्यान्वयनको बाटो खोलिदिएको छ । तर, अन्य विषयमा पनि यस्ता कानूनी अस्पष्टताहरू छन् । तिनको छिटो समाधान खोजिनुपर्छ । उपसचिवभन्दा माथिल्ला सरकारी अधिकारीहरू जुनसुकै मन्त्रालयमा सरूवा हुने प्रावधानले पनि कानून कार्यान्वयनमा र सरकारको कार्य क्षमतामा असर पारिरहेको छ । एउटा मन्त्रालयको विज्ञलाई अर्को मन्त्रालयमा खटाएपछि उसले काम गर्न कठिन हुने देखिन्छ । यसतर्फ पनि ध्यान जानु आवश्यक छ ।  बैंकहरूले यति धेरै कर बुझाउनुपर्दा आइतवार शेयरबजारमा पहिरो जाने अपेक्षाविपरीत कारोबार रकम र नेप्से माथि जानुले लगानीकर्ताले शेयरबजारको लय बुझ्न थालेको देखाउँछ । घट्दो ब्याजदरका कारण बैंकमा पैसा राख्नु लाभदायी छैन भन्ने बुझेका लगानीकर्ता शेयरबजारतिर लागेको देखिन्छ । यसले शेयरबजार हल्लाका भरमा र केही ठूला कारोबारीको चाहनामा चल्छ भन्ने कुरालाई खण्डन गरेको छ । शेयरबजार र ब्याजदरको सम्बन्ध लगानीकर्ताले बुझ्नु भनेको शेयरबजारको परिपक्वता नै हो भन्न सकिन्छ ।

धैर्य गर्नुहोस, अब शेयर बजारले लय समात्छ : विष्णु पराजुली [अन्तरवार्ता]

विगत आठ वर्ष देखि शेयर बजारमा लगानी गर्दै आएकी विष्णु पराजुलीसँग आर्थिक अभियानकी लक्ष्मी शर्माले गरेको कुराकानी सम्पादित अंश तपाई पूँजीबजारमा सक्रिय भएको कति समय भयो, यो अवधिमा तपाईंको अनुभव कस्तो रह्यो ?   म पूँजी बजारमा २०७२ साल देखि सक्रिय रुपमा छु । त्यो बेला नेप्से परिसूचक १८ सय विन्दुमा थियो । सो समयमा मैलै त्यति बुझेको थिएन । त्यसपछि बजार वियरिश ट्रेण्डमा गयो । त्यती बेला ट्रेड भन्दा पनि लगानी गरे । बजार घट्दै जाँदा आफुसँगै भएको पैसाले शेयर किन्दै गए । शेयर बजार सम्बन्धी विस्तारै बुझ्दै थिए त्यसपछि कोभिडको समयमा  शेयर बजार बढ्यो । बुलिस ट्रेण्ड शुरु भएसँगै बिचमा ट्रेड गर्न थालसँगै राम्रै प्रतिफल प्राप्त गरे । जब बजार बढेर ३२ सय विन्दुमा पुग्यो त्यसपछि नियामक निकायले शेयरधितो कर्जामा ४/१२ को सीमा लगाइदियो र सेबोनले ५१ ओटा कम्पनीको लिस्ट निकाल्यो । त्यपछि बजार ओरालो लाग्न थालेपछि केही कमाएको गुमाएपनि । त्यसपछि बजार रुस युक्रेन युद्ध लगायत विभिन्न कारणले प्रभावित भयो । यसबाट मैले बजार सधै बढ्ने मात्रै होइन बढेको बेलामा निश्चित विन्दुमा ठूलो भोलुम सहित कारोबार भएको समयमा विक्री गर्नु पर्छ र बजार घटेर तल्लो विन्दुमा आउदा खरीद गरेमा जोखिम कम हुन्छ भन्ने बुझे ।  शेयर बजारको पछिल्लो अवस्थालाई कसरी नियाल्नु भएको छ ? अहिले लगानीकर्ताहरूमा निराशा देखिन्छ, किन होला ?  बजार घटेर १८०६ विन्दुमा झर्दा बजारमा नेगेटिभ समाचारहरू आए । यसबाट लगानीकर्ताहरू केहि त्रासित भएको पनि देखियो । नेगेटिभ समाचारले लगानीकर्ताको मनोविज्ञानमा केही असर पारेको थियो । तर, बजार लामो समयदेखि वियरिस ट्रेण्डमा रहेकाले रिकभरी हुने चरणमा थियो । सोही समयमा कर विवादका कारण बजार प्रभावित भएको थियो ।  कर विवाद सुल्झिएसँगै शेयर बजारमा सकारातमक प्रभाव पर्न थालेको छ । सोही कारण पछिल्लो आठ दिन बजार निरन्तर, बढेको हो ।  विस्तारै बजारले लय समात्न थालेको पनि देखिन्छ । बढेको बजारमा एक दुई दिन करेक्सन आउनु समान्य हो । शेयर बजारलाई प्रमुख ब्याजरदरले असर पार्छ । सबैले आफूसँग भएको मात्र पैसाले लगानी गर्दैन । ऋण लिएर पनि लगानी गरेका हुन्छन् । यसकारण पनि १८/१९ प्रतिशतसम्म पुगेको ब्याजदर अव बैंकहरूले घटाउँदैछन् । धैर्य गर्नुहोस अव शेयर बजारले विस्तारै लय समात्ने देख्छु ।  अहिलेको समय भनेको धेरैजसोले लगानीको लागि उपयुक्त हो भन्नुहुन्छ, हजुरको विचारमा के लाग्छ ? यो समयमा कस्ता कस्ता कम्पनीमा लगानी गर्दा उपयुक्त हुन्छ ? पछिल्लो समय भनेको लगानीको लागि उपयुक्त समय हो जस्तो लाग्छ मलाई पनि । शेयर बजार हो । कहिले घट्ने बढ्ने भइरहन्छ नै । तर, यो बेला गरेको लगानीमा जोखिम कम हुने देख्छु ।  पछिल्लो समय कम पूँजी भएका कम्पनीमा बढी लगानीकर्ताहरूले ट्रेड गरेको देख्छु । कम्पनीको आधारभुत पक्ष हेरेर लगानी गर्ने कम देखिन्छन । यसो गर्दा चाहिँ अलि बढि नै जोखिम हुन्छ । किनभने निश्चित समूहले कम्पनीको शेयर मूल्य तल माथि पारेको हुन्छ । त्यसमा हामीले ट्रेड गर्दा तल्लो मूल्य भेटाएर सहि समयमा विक्री गर्न सकेमा केही प्रोफिट होला तर, धेरै नै जोखिम हुन्छ । यो समय फन्डामेन्टल बलियो भएका र विगतमा राम्रो लाभांश दिदै आएका कम्पनीमा लगानी गर्नु उचित हुन्छ । किनभने बजार घट्दा पनि बोनस शेयरले कभर गरेको हुन्छ । सोही कारण पनि लगानी गर्नु पूर्व बजारको ट्रेड कम्पनीको वित्तीय विवरण राम्रोसँग केलाउनु पर्छ जस्तो लाग्छ ।  राजधानी बाहिर बसेर पूँजी बजारमा सक्रिय हुनुहुन्छ, पोखरामा  आम मानिसको शेयर प्रतिको आकर्षण कस्तो छ ?  पोखरामा कोभिडको समयमा शेयरप्रति लगानीकर्ताको आकर्षण केही बढेको थियो । त्यो समय सबै ब्यवसायहरू भन्दा हुँदा शेयर बजार खुला थियो र आम मानिसले धेरै चासो राखेको थिए  । अर्को कुरा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आईपीओ निष्कासन गरेपछि पनि शेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको हो । पछिल्लो समय बुझेका र शिक्षित वर्गहरूमात्रै  हुनुहुन्छ । मलाई लाग्छ अझै शेयर शिक्षाको कमि छ । धेरैजसोलाई शेयर भनेको के हो भन्ने थाहा छैन, कतिपयले मलाईपनि सोध्नु हुन्छ डिम्याट,आईपीओ, सिआरएन नम्बर भनेको के हो भनेर मैले जानेको बुझाउँछु । यस्तो अवस्थामा नियामक निकाय अथवा ब्रोकरहरूबाट नै शेयर शिक्षा सम्बन्धी सचेतना कार्यक्रमहरू ल्याउनुपर्छ जस्तो लाग्छ ।  नयाँ ब्रोकर लाइसेन्स र नयाँ स्टक एक्सेचन्ज आउने प्रक्रियामा रहेकोमा अर्थ समितिले रोकेको छ । अन्तिममा  समयमा आएर यो प्रक्रिया रोकिँदा लगानीकर्ताको मनोविज्ञानमा कस्तो असर परेको छ ? अन्तिम समयमा  आएर नयाँ ब्रोकर लाइसेन्स रोकिनू उचित होइन । सर्वोच्चमा रिट परेर फैसला भई अगाडि बढेको प्रक्रियालाई कुनै हालतमा पनि रोकिनू हुदैन ।  अदालत भन्दा माथि अर्थ समिती हुँदैन । कुनै समूहको प्रलोभनमा परेर नयाँ ब्रोकर लाइसेन्स र नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रिया रोकिनु हुँदैन । यो एक किसिमको ब्यापार हो । ब्यापरमा प्रतिष्पर्धा हुनुपर्छ । राम्रो सेवा सुविधा पाइन्छ । नयाँ ब्रोकर लाइसेन्स आउने वित्तिकै पूँजी बजारको पहुँच बढ्छ । नयाँ लगानीकर्ता, नयाँ कारोबारहरू थपिन्छन् । यसले गर्दा शेयर बजार बढ्नमा टेवा पुग्ने देख्छु । कमोडिटिज मार्केट र नयाँ स्टक एक्सचेन्ज आउनुपर्छ भनेर धेरै पहिलादेखि नै लगानीकर्ताको माग हो । अब यी प्रक्रियाहरू अगाडि बढ्दा पूँजी बजारको विकास र विस्तार हुने देखिन्छ । शेयर बजारमा लगानी गरेर सफलता हासिल गर्न विचार पुर्‍याउनु पर्ने मुख्य कुरा के के हुन ? सबैभन्दा पहिला लगानीकर्ताले बजारको ट्रेण्ड र कम्पनीको वित्तीय विवरणलाई राम्रोसँग केलाउनु पर्छ । प्रमुख कुरा भनेको मेरो अनुभवमा कम्पनीको समग्र वित्तीय पक्षलाई राम्रो सँग अध्ययन अनुसन्धान गर्नुपर्छ जस्तो लाग्छ । कम्पनीका विगतका वित्तीय विवरणमा नाफा, पूँजी, रिजर्भ, लाभांशदर, प्रतिशेयर आम्दानी लगायतका सूचकहरू अध्ययन गर्नु जरुरी छ । शेयर बजारमा हामीले जहिले पनि उल्टो गरिरहेका हुन्छौं । बजार घट्दा आत्तिएर विक्री गर्ने र बढ्दा खरीद गर्ने यो एकदमै गलत कुरा हो । बजार घटेर तल आउँदा लगानी गर्ने र बजार बढ्दा आफ्नो टार्गेट मिट भएपछि  विक्री गरेमा राम्रो प्रतिफल प्राप्त हुन्छ जस्तो लाग्छ । शेयर बजारमा सधै प्रोफिट हुन्छ भन्ने हुँदैन हामीले लगानी गर्ने वित्तिकै प्रोफिट भइहाल्छ भन्ने सोचेका हुन्छौ, त्यस्तो होइन । आफूले कस्तो खालको लगानी गरेको हो । त्यसमा ध्यान दिनु जरुरी हुन्छ । शेयर बजारलाई स साना घटना क्रमले पनि छोटो समयमा प्रभावित पारिराखेको हुन्छ । यस्तो अवस्थामा आफूले कस्तो खालको कम्पनीमा लगानी गर्दैछु र कति समयको लागि लगानी गर्ने भनि एकिन गर्नुपर्छ । बजारको ट्रेण्ड र कम्पनीको सम्पूर्ण अवस्थालाई राम्रोसँग केलाएर लगानी गर्न सकेमा शेयर बजारबाट जोखिम भन्दा पनि प्रतिफल नै बढी हुने देख्छु ।

सम्पादकीय : सरकारमा बस्नेसँग विवेकको खोजी

आर्थिक वर्ष २०८०/८१ को बजेटमा उल्लेख पूँजीगत लाभ कर अन्तिम हो कि होइन भन्ने केही दिनदेखिको विवाद आइतवार टुंगिएको छ । धितोपत्र कारोबारमा पूँजीगत लाभकर नै अन्तिम कर हुनेमा अर्थ मन्त्रालयका अधिकारीहरूले सहमति गरेपछि विवादको अन्त्य भएको हो । यद्यपि यो विवादले सरकारको मानसिकता उदांगो मात्र पारेको छैन, अर्थतन्त्र सुधारका लागि विवेकको खोजी गर्नुपर्ने देखिएको छ ।  अहिलेसम्म लगानीकर्ताले पूँजीगत लाभकर तिरेपछि यही अन्तिम हुन्छ भन्ने सोच्दै आएका थिए । बजेटमा सरकारले पूँजीगत लाभकरलाई अन्तिम नमानी वर्षभरिको कारोबारबाट नाफा भए कर तिर्नुपर्ने नीति लियो । जसले पूँजीगत लाभकर अन्तिम होइन भन्ने स्थापित गर्‍यो । त्यसपछि लगानीकर्तालाई आन्दोलित बनायो । अनि आत्तिएको सरकारले लगालग दुई विज्ञप्ति निकालेर भ्रम छर्ने प्रयास गर्‍यो । यतिसम्म कि आफ्नै नीतिलाई लिएर पहिलो दिनको विज्ञप्तिमा पटके शब्द प्रयोग गरेको आन्तरिक राजस्व विभागले भोलिपल्ट त्यसलाई सच्याउनुपर्‍यो । र, बजेट कार्यान्वयनमा नजाँदै आफैले लिएको नीति कार्यान्वयन गर्न नसक्ने अवस्था आएपछि घुँडा टेक्नुपर्‍यो । यस्तो क्रियाकलापले सरकारमा बस्नेको विवेकमा प्रश्न चिह्न खडा गरेको छ । र, यस्तो अवस्थाले अर्थतन्त्र सुधारमा कुनै मद्दत गर्न सक्दैन ।  सरकारले लिने नीति निकै सोचविचार गरेर र पछिसम्म पर्ने असरबारे गम्भीर भएर तय गरिनुपर्छ । विरोध हुन्छ भने त्यसको प्रतिरक्षा गर्न सक्ने गरी तयार भएर मात्रै नीति लिनुपर्छ । तर, अहिले सरकारले हचुवा पारामा करको नीति ल्यायो । शेयर लगानीकर्ताका सामु झुक्नुपर्‍यो । आगामी आर्थिक वर्षको अर्को विवादित करको विषय विगतमा मर्जरमा जाँदा नाफा गरेका बैंकहरूलाई अहिले आएर कर लगाउने विषय पनि हो । १०/१५ वर्षअघिदेखि सरकार र राष्ट्र बैंक दुवैले वित्तीय संस्थाको संख्या घटाउने रणनीतिअनुसार उनीहरूलाई मर्जरमा जान प्रोत्साहन गरेका थिए । करमा केही छूटको सुविधासमेत दिएका थिए । तर, अहिले आएर स्वाप रेसियोको अन्तरलाई आय मानी कर तिर्न अनिवार्य गरेको छ । वास्तवमा दुई कम्पनीहरू मर्जरमा जाँदा कुनै एक कम्पनीले कम मूल्य पाएको हुन्छ भने अर्काले बढी । तर, समग्रमा पूँजी त समान हुने नै हो । यस्तोमा आय मानेर कर लगाउनु तर्कसंगत र विवेकसम्मत मान्न सकिँदैन । त्यही भएर बैंकर तथा केही अर्थशास्त्रीहरूले सरकारले करको धराप थापेको भनेर बजेटप्रति प्रतिक्रिया दिएका छन् । हुन पनि आफैले सुविधा दिएर मर्जर गराउने र मर्जर भइसकेको दशौं वर्षपछि आएर त्यसको कर तिर भन्नु कुनै पनि दृष्टिकोणले जायज देखिँदैन । निजीक्षेत्र सरकारी नियमनमा हुन्छ । त्यसो हुँदा सरकारी नीतिको खुलेर विरोध गरे कारबाही वा वक्रदृष्टिको शिकार हुनुपर्ने बाध्यता आइलाग्छ । तैपनि केही बैंकरले सरकारी नीतिको आलोचना गरेका छन् । यसले निजीक्षेत्र निकै आक्रोशित छ भन्ने देखाउँछ ।  कर भनेकै तर्कसंगत र विवेकसम्मत हुनुपर्छ । अर्थतन्त्र संकटमा भएका बेला करमा जति छूट दिइन्छ त्यति चाँडै अर्थतन्त्रले लय समात्छ । तर, अहिले सामानको विक्री नभएर अथवा उधारो नउठेर समस्यामा परेको अर्थतन्त्रलाई करको दर बढाएर झनै समस्यामा पारिएको छ । यस्तो करले सरकारको आय त केही क्षणलाई बढ्ला तर त्यसपछि बजारमा देखिने मागको कमी र उत्पादन कटौतीले अर्को चरणको समस्या सतहमा ल्याउँछ । सरकारले यो तथ्यलाई जानाजान बेवास्ता गरेको देखिन्छ । कर तिर्नेलाई कर तिर्दा भारी पनि नलागोस् र सरकारको ढुकुटी पनि भरियोस् । त्यस्तै कर दिएबापत करदाताले गौरव गर्ने वातावरण पनि बनोस् । यस्तो कर नीतिमा विवेकको प्रयोग हुन्छ, यो तर्कपूर्ण र व्यावहारिक पनि हुन्छ जसले सरकारप्रति विश्वास बढाउँछ । आफ्नो सुविधा कत्ति पनि नघटाउने र त्यसका लागि जनतामाथि कर थोपर्ने प्रवृत्तिले शेयर लगानीकर्ता जस्तै आमनागरिक विरोधमा उत्रिए भने सरकारले त्यसको सामना गर्न कठिन हुनेछ ।  नेपालमा यस्ता अभ्यास विगतमा पनि हुने गरेकै हो । तर, पछिल्ला दिनमा यस्ता गतिविधिप्रति थप परिपक्व देखाएर सुधार हुनुपर्नेमा उल्टै विवाद सृजना मात्रै गर्न खोज्ने हो भने सरकारले कहिले नयाँ र गर्नैपर्ने काम गर्ला ? आर्थिक विधेयकमा यस्ता त्रुटि खोज्दै जाने हो भने थुप्रै हुन सक्छन्, जुन हुन नपर्ने हो ।

फेरिँदै नेपाल कराते, चुनावी चहलपहल सुरु

३० फागुन, काठमाडौं । दशक लामो विवाद र उतारचढावपछि नेपाली करातेले लय लिन लागेको छ । २०६९ साउनमा तत्कालीन सदस्यसचिव युवराज लामाले दावा गुरुङको नेतृत्वमा महासंघ गठन गरेपछि कराते विवादले ठूलो रुप लियो । संयोगले १० वर्षपछि लामाले नै करातेमा एकता र आगामी कार्यदिशाको मार्ग कोर्ने जिम्मेवारी पाएका छन् । १२ माघमा राखेपले पूर्व सदस्यसचिव […]

पछिल्लो समय प्रचण्डले राजनीतिमा लय समात्नुभएको छ : हरिबोल गजुरेल (भिडिओसहित)

काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावाली नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलले पार्टी विभाजनको खतरा टरेको बताएका छन् । एमसीसीको कारण पार्टीभित्र उत्पन्न विवाद पनि हिजोबाट समाधान भएको उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले […]

अर्थतन्त्रमाथि संकटको बादल : निकास कसरी ?

देशले करीब दुई तिहाइ बहुमतको सरकार पाएपछि सुशासन र विकासले जुन स्तरको गति समात्ने अपेक्षा गरिएको थियो, त्यो अपेक्षालाई अहिले देखिएका अर्थतन्त्रका परिदृश्यले चुनौती दिइरहेका छन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिक अवधिको आर्थिक सूचकले अर्थतन्त्र संकटोन्मुख रहेको देखाएको हो । विश्व अर्थतन्त्रलाई अक्रान्त पारेको कोरोना महामारीले करीब डेढ वर्ष थला परेको अर्थतन्त्रले गति समात्ने अपेक्षा गरिएकै बेलामा राष्ट्र बैंकको तथ्यांकले दिएको संकेतले गम्भीर अर्थ राख्छ । अर्थतन्त्र उत्थानका लागि उत्पादन र आयात प्रतिस्थापनमा एकोहोरिनुपर्छ । मूल्यअभिवृद्धि र तुलनात्मक लाभका उत्पादनमा जोड दिनुपर्छ । यसका लागि स्थानीय कच्चा पदार्थका आधारित उत्पादन बढाएर लागत न्यूनीकरण गरिनुपर्छ । कोरोनाबाट थलिएको अर्थतन्त्रलाई लयमा फर्काउने सन्दर्भमा सरकारी उदासीनता र फितलो व्यवस्थापनका कारण अर्थतन्त्रका आयामहरू संकटतर्फ धकेलिएकोमा विवाद आवश्यक छैन । जनताले स्पष्ट र बलियो जनादेशसहितको सरकार निर्माणको आधार बनाइदिएर पनि राजनीतिक दलहरूको आन्तरिक किचलो र दाउपेचका कारण राजनीतिक अस्थिरता कायमै रहनु र दलीय ध्यान सुशासनको सट्टा नेतृत्वको स्वार्थमा धकेलिँदा अर्थतन्त्रका सरोकार कचल्टिने वातावरण बनेको हो । विकासले लय पक्रिने विश्वास कमजोर हुँदै गएको छ । सुशासन र समृद्धि राजनीतिको वास्तविक एजेन्डा हुन छोडेको छ । सत्तागमनमात्रै राजनीतिको एकल ध्याउन्न हुँदा आर्थिक विकास र यसका सूचकहरू बलियो हुने प्रश्नै भएन । राष्ट्र बैंकका अनुसार राष्ट्रिय बचत निरन्तर कमजोर बनिरहेको छ । चालू आर्थिक वर्षको पहिलो ४ महीनालाई आधार बनाएर राष्ट्र बैंकले तयार पारेको तथ्यांकले देशको शोधनान्तर अवस्था, मुद्रास्फीति, विप्रेषण आप्रवाह, विदेशी मुद्रोको सञ्चय, वैदेशिक व्यापारजस्ता अर्थतन्त्रका आधारभूत सूचकहरू नकारात्मक बन्दै गएको देखाएको छ । यस्ता सूचकहरूले अर्थतन्त्र संकटतर्फ उन्मुख भएकोमात्र देखाएको छैन, राज्य सञ्चालकहरूलाई सचेत पनि गराएको छ । विदेशबाट आउने विप्रेषण र निर्यातबाट हुने आम्दनीको तुलनामा आयातमा बाहिरिने रकम बढी हुँदा शोधनान्तर घाटा उच्च दरमा बढेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिक अवधिको तुलनामा यो वर्षको समीक्षा अवधिका यस्तो घाटा उल्लेख्य देखिएको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा १ खर्ब १० अर्ब रुपैयाँले नाफामा रहेको शोधनान्तर अहिले १ खर्ब ५० अर्ब रुपैयाँले घाटामा जानु भनेको आय र खर्चका व्यापक असन्तुलन हो । गतवर्ष कोरोना महामारीका कारण बजार र मागमा आएको मन्दी कारण बचत उच्च भएको पनि हुन सक्छ । यो वर्ष व्यापार बढ्दा उत्पन्न उपभोगका कारण पनि यो असन्तुलन हुन सक्छ । विदेशी मुद्राको सञ्चिति पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो ४ महीनामा विदेशी मुद्राको सञ्चिति १५ खर्ब ६ अर्ब रुपैयाँ रहेकोमा चालू वर्षको यो अवधिमा १२ खर्ब २२ अर्ब रुपैयाँमा खुम्चिएको छ । यसले ७.२ महीनाको वस्तु तथा सेवाको आयात धान्ने राष्ट्र बैंकको अनुमान छ । कुनै समय हामीकहाँ १३÷१४ महीनासम्मको आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेको तथ्यांक राष्ट्र बैंकले नै प्रकाशित गर्दै आएको थियो । गत आर्थिक वर्षको पहिलो ४ महीनामा चालू खाता १९ अर्ब रुपैयाँले बचतमा रहेकोमा यो आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २ खर्ब २३ अर्ब रुपैयाँले घाटामा पुगेको छ । विदेशी मुद्राको सञ्चिति घट्दा अत्यावश्यकीय वस्तु तथा सेवाको आयातमा कठिनाइ त हुन्छ नै, यसले समग्र अर्थतन्त्रको पद्धतिमै आघात पुर्‍याउँछ । वैदेशिक राजगारीले उपभोगलाई बढावा दिए पनि घाटा पूर्ति गर्दै आएको थियो । यसमा पनि नकारात्मक तथ्य बाहिर आएको छ । विप्रेषण आप्रवाह पनि निकै घटेको छ । ७ दशमलव ५ प्रतिशतले घटेर यो आय ३ खर्ब १२ अर्ब रुपैयाँमा झरेको छ । गत आवको सोही अवधिमा यो १२ प्रतिशतभन्दा बढीले बढेको थियो । गैरवित्तीय माध्यम (हुन्डी)बाट रकम आउन थालेको अनुमान राष्ट्र बैंकको छ । यस्तो उपाय विप्रेषण आयमा मात्र होइन, वैध आयातमा पनि हुन्डी कारोबारका बाध्यता सरकारी नीतिकै कारण उत्पन्न भएको छ । अव्यावहारिक भन्सार मूल्यांकन प्रणालीका कारण व्यापारीहरूलाई हुन्डीको सहारा लिनुपरेको स्वयम् व्यवसायीले बताउने गरेका छन् । राष्ट्र बैंकका अनुसार ४ महीनामा ६ खर्ब ५० अर्ब रुपैयाँको बस्तु आयात हुँदा निर्यात ८२ अर्ब रुपैयाँको मात्र भएको छ । वैदेशिक व्यापारघाटा ५६ दशमलव ८ प्रतिशतले बढेर ५ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित भएको छ । अर्थतन्त्रका यस्ता नकारात्मक सूचकहरूको समुचित व्यवस्थापनमा सरकारको चरम उदासीनता छ । सरकारको आर्थिक सल्लाहकार मानिएको राष्ट्र बैंक, योजना आयोगजस्ता निकायले तयार पारेका तथ्यांक र अध्ययनका निष्कर्षको सार्वजनिकीकरण केवल कर्मकाण्डजस्ता मात्र लाग्न थालेको छ । यस्ता अध्ययनको सारलाई सरकारले योजना र नीति निर्माणका माध्यमबाट सम्बोधन गर्नुपर्ने हो । यसमा आशलाग्दो काम अहिलेसम्म देख्न पाइएको छैन । राष्ट्र बैंकको तथ्यांकले यो अवधिमा वैदेशिक लगानीमा सुधार आएको देखाएको छ । यसलाई सकारात्मक मानिए पनि अहिले सतहमा देखिएको तरलता संकट र उद्यमी व्यापारीको मनोविज्ञानलाई हेर्दा उत्साहको निरन्तरतामा ढुक्क हुन सकिने अवस्था छैन । लगानी वातावरण र लगानी तथा सम्पत्तिको स्वतन्त्रतासम्बन्धी सूचक हामीकहाँ उत्साह प्रदान गर्ने खालका छैनन् । पूँजी, श्रम, पारवहन, ऊर्जाजस्ता उत्पादनका आधारभूत पक्षको उपलब्धता भरपर्दो र सहज हुन सकेको छैन । कर तथा राजस्व, भन्सार नीतिमा विरोधाभासको कमी छैन । व्यवसायको शुरुआतदेखि पूरा गर्नुपर्ने प्रक्रिया, पूँजीको प्रबन्ध र महँगो लागत, महँगो र न्यून गुणस्तरीय ऊर्जा, कर भुक्तानीको झन्झटिलो प्रक्रिया र अधिक समयलाई व्यावसायिक वातावरणको अवरोधको रूपमा छन् । स्वदेशकै लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बेलामा बाहिरका केही लगानी बढ्दैमा उत्साहित भइहाल्नु पनि अति उत्साह हुन सक्छ । तर, लगानी वातारणका क्षेत्रमा पनि पर्याप्तै सुधारका काम गर्नुपर्ने अवस्था छ । अहिले सतहमा देखिएको तरलता संकटले अर्थतन्त्र दबाबमा रहेको स्पष्ट पारिरहेको छ । यसले व्यवस्थापन सही हुन नसकेकोलाई नै संकेत गरेको छ । चालू आर्थिक वर्षको शुरुआतसँगै नकारात्मक सूचकहरूको शृंखला नै शुरू भएको छ । निर्यातको तुलनामा आयात अधिक, आयात धान्ने क्षमता न्यून हुँदै जानु अर्थतन्त्रका निम्ति अवश्य पनि राम्रो संकेत होइन । अर्थतन्त्र उत्थानका लागि उत्पादन र आयात प्रतिस्थापनमा एकोहोरिनुपर्छ । मूल्यअभिवृद्धि र तुलनात्मक लाभका उत्पादनमा जोड दिनुपर्छ । यसका लागि स्थानीय कच्चा पदार्थका आधारित उत्पादन बढाएर लागत न्यूनीकरण गरिनुपर्छ । राजनीतिक तहबाट लगानी अभिवृद्धि, रोजगारी सृजना, व्यापारघाटा सन्तुलन, राष्ट्रिय आयको अभिवृद्धिका गफ निकै सुनिएको छ । आर्थिक अवयवको परिदृश्य भने जताततै नकारात्मकमात्र प्रतीत हुन्छ । सरकार सञ्चालनमा रहेको र विपक्षी राजनीति सत्ता र शक्तिमा एकचित्त भएको छ । यसले अर्थतन्त्र उत्थानको विषय प्राथमिकतामा पर्न सकेन । फलस्वरूप आर्थिक सूचकहरूले संकटलाई संकेत गरिरहेका छन् । ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।

जुट्ला त ओली-प्रचण्डबीच सहमति?

काठमाडौं : यतिखेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र प्रधानमन्त्री एवम्‌ अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीचको विवाद मत्थर हुँदै गएको भनिएको छ। तर, निम्तिएका विवादहरूलाई मत्थर पार्ने या सल्ट्याउने हो भन्नेबारे नेकपाले अझै लय समात्न नसकेको देखिएको छ। ...

‘गलबन्दी’ विवाद: प्रकाश सपूत र शम्भु राईबीच सहमति

काठमाण्डौ – चर्चित लोकगीत 'गलबन्दी' को विषयलाई लिएर पुराना लोक गायक शम्भु राई र प्रकाश सपूतबीच भैरहेको विवाद मिलेको छ ।  गायक राईले आफ्नो 'आउ नाचौँ साथी हो कम्मर कसेर' बोलको गीतको लय प्रकाश सपूतले 'गलबन्दी' गीतमा हुबहु नक्कल गरेको भन्दै नेपाल प्रतिलिपी रजिष्ट्रारको कार्यालयमा मु...