धैर्य गर्नुहोस, अब शेयर बजारले लय समात्छ : विष्णु पराजुली [अन्तरवार्ता]

विगत आठ वर्ष देखि शेयर बजारमा लगानी गर्दै आएकी विष्णु पराजुलीसँग आर्थिक अभियानकी लक्ष्मी शर्माले गरेको कुराकानी सम्पादित अंश तपाई पूँजीबजारमा सक्रिय भएको कति समय भयो, यो अवधिमा तपाईंको अनुभव कस्तो रह्यो ?   म पूँजी बजारमा २०७२ साल देखि सक्रिय रुपमा छु । त्यो बेला नेप्से परिसूचक १८ सय विन्दुमा थियो । सो समयमा मैलै त्यति बुझेको थिएन । त्यसपछि बजार वियरिश ट्रेण्डमा गयो । त्यती बेला ट्रेड भन्दा पनि लगानी गरे । बजार घट्दै जाँदा आफुसँगै भएको पैसाले शेयर किन्दै गए । शेयर बजार सम्बन्धी विस्तारै बुझ्दै थिए त्यसपछि कोभिडको समयमा  शेयर बजार बढ्यो । बुलिस ट्रेण्ड शुरु भएसँगै बिचमा ट्रेड गर्न थालसँगै राम्रै प्रतिफल प्राप्त गरे । जब बजार बढेर ३२ सय विन्दुमा पुग्यो त्यसपछि नियामक निकायले शेयरधितो कर्जामा ४/१२ को सीमा लगाइदियो र सेबोनले ५१ ओटा कम्पनीको लिस्ट निकाल्यो । त्यपछि बजार ओरालो लाग्न थालेपछि केही कमाएको गुमाएपनि । त्यसपछि बजार रुस युक्रेन युद्ध लगायत विभिन्न कारणले प्रभावित भयो । यसबाट मैले बजार सधै बढ्ने मात्रै होइन बढेको बेलामा निश्चित विन्दुमा ठूलो भोलुम सहित कारोबार भएको समयमा विक्री गर्नु पर्छ र बजार घटेर तल्लो विन्दुमा आउदा खरीद गरेमा जोखिम कम हुन्छ भन्ने बुझे ।  शेयर बजारको पछिल्लो अवस्थालाई कसरी नियाल्नु भएको छ ? अहिले लगानीकर्ताहरूमा निराशा देखिन्छ, किन होला ?  बजार घटेर १८०६ विन्दुमा झर्दा बजारमा नेगेटिभ समाचारहरू आए । यसबाट लगानीकर्ताहरू केहि त्रासित भएको पनि देखियो । नेगेटिभ समाचारले लगानीकर्ताको मनोविज्ञानमा केही असर पारेको थियो । तर, बजार लामो समयदेखि वियरिस ट्रेण्डमा रहेकाले रिकभरी हुने चरणमा थियो । सोही समयमा कर विवादका कारण बजार प्रभावित भएको थियो ।  कर विवाद सुल्झिएसँगै शेयर बजारमा सकारातमक प्रभाव पर्न थालेको छ । सोही कारण पछिल्लो आठ दिन बजार निरन्तर, बढेको हो ।  विस्तारै बजारले लय समात्न थालेको पनि देखिन्छ । बढेको बजारमा एक दुई दिन करेक्सन आउनु समान्य हो । शेयर बजारलाई प्रमुख ब्याजरदरले असर पार्छ । सबैले आफूसँग भएको मात्र पैसाले लगानी गर्दैन । ऋण लिएर पनि लगानी गरेका हुन्छन् । यसकारण पनि १८/१९ प्रतिशतसम्म पुगेको ब्याजदर अव बैंकहरूले घटाउँदैछन् । धैर्य गर्नुहोस अव शेयर बजारले विस्तारै लय समात्ने देख्छु ।  अहिलेको समय भनेको धेरैजसोले लगानीको लागि उपयुक्त हो भन्नुहुन्छ, हजुरको विचारमा के लाग्छ ? यो समयमा कस्ता कस्ता कम्पनीमा लगानी गर्दा उपयुक्त हुन्छ ? पछिल्लो समय भनेको लगानीको लागि उपयुक्त समय हो जस्तो लाग्छ मलाई पनि । शेयर बजार हो । कहिले घट्ने बढ्ने भइरहन्छ नै । तर, यो बेला गरेको लगानीमा जोखिम कम हुने देख्छु ।  पछिल्लो समय कम पूँजी भएका कम्पनीमा बढी लगानीकर्ताहरूले ट्रेड गरेको देख्छु । कम्पनीको आधारभुत पक्ष हेरेर लगानी गर्ने कम देखिन्छन । यसो गर्दा चाहिँ अलि बढि नै जोखिम हुन्छ । किनभने निश्चित समूहले कम्पनीको शेयर मूल्य तल माथि पारेको हुन्छ । त्यसमा हामीले ट्रेड गर्दा तल्लो मूल्य भेटाएर सहि समयमा विक्री गर्न सकेमा केही प्रोफिट होला तर, धेरै नै जोखिम हुन्छ । यो समय फन्डामेन्टल बलियो भएका र विगतमा राम्रो लाभांश दिदै आएका कम्पनीमा लगानी गर्नु उचित हुन्छ । किनभने बजार घट्दा पनि बोनस शेयरले कभर गरेको हुन्छ । सोही कारण पनि लगानी गर्नु पूर्व बजारको ट्रेड कम्पनीको वित्तीय विवरण राम्रोसँग केलाउनु पर्छ जस्तो लाग्छ ।  राजधानी बाहिर बसेर पूँजी बजारमा सक्रिय हुनुहुन्छ, पोखरामा  आम मानिसको शेयर प्रतिको आकर्षण कस्तो छ ?  पोखरामा कोभिडको समयमा शेयरप्रति लगानीकर्ताको आकर्षण केही बढेको थियो । त्यो समय सबै ब्यवसायहरू भन्दा हुँदा शेयर बजार खुला थियो र आम मानिसले धेरै चासो राखेको थिए  । अर्को कुरा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आईपीओ निष्कासन गरेपछि पनि शेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको हो । पछिल्लो समय बुझेका र शिक्षित वर्गहरूमात्रै  हुनुहुन्छ । मलाई लाग्छ अझै शेयर शिक्षाको कमि छ । धेरैजसोलाई शेयर भनेको के हो भन्ने थाहा छैन, कतिपयले मलाईपनि सोध्नु हुन्छ डिम्याट,आईपीओ, सिआरएन नम्बर भनेको के हो भनेर मैले जानेको बुझाउँछु । यस्तो अवस्थामा नियामक निकाय अथवा ब्रोकरहरूबाट नै शेयर शिक्षा सम्बन्धी सचेतना कार्यक्रमहरू ल्याउनुपर्छ जस्तो लाग्छ ।  नयाँ ब्रोकर लाइसेन्स र नयाँ स्टक एक्सेचन्ज आउने प्रक्रियामा रहेकोमा अर्थ समितिले रोकेको छ । अन्तिममा  समयमा आएर यो प्रक्रिया रोकिँदा लगानीकर्ताको मनोविज्ञानमा कस्तो असर परेको छ ? अन्तिम समयमा  आएर नयाँ ब्रोकर लाइसेन्स रोकिनू उचित होइन । सर्वोच्चमा रिट परेर फैसला भई अगाडि बढेको प्रक्रियालाई कुनै हालतमा पनि रोकिनू हुदैन ।  अदालत भन्दा माथि अर्थ समिती हुँदैन । कुनै समूहको प्रलोभनमा परेर नयाँ ब्रोकर लाइसेन्स र नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रिया रोकिनु हुँदैन । यो एक किसिमको ब्यापार हो । ब्यापरमा प्रतिष्पर्धा हुनुपर्छ । राम्रो सेवा सुविधा पाइन्छ । नयाँ ब्रोकर लाइसेन्स आउने वित्तिकै पूँजी बजारको पहुँच बढ्छ । नयाँ लगानीकर्ता, नयाँ कारोबारहरू थपिन्छन् । यसले गर्दा शेयर बजार बढ्नमा टेवा पुग्ने देख्छु । कमोडिटिज मार्केट र नयाँ स्टक एक्सचेन्ज आउनुपर्छ भनेर धेरै पहिलादेखि नै लगानीकर्ताको माग हो । अब यी प्रक्रियाहरू अगाडि बढ्दा पूँजी बजारको विकास र विस्तार हुने देखिन्छ । शेयर बजारमा लगानी गरेर सफलता हासिल गर्न विचार पुर्‍याउनु पर्ने मुख्य कुरा के के हुन ? सबैभन्दा पहिला लगानीकर्ताले बजारको ट्रेण्ड र कम्पनीको वित्तीय विवरणलाई राम्रोसँग केलाउनु पर्छ । प्रमुख कुरा भनेको मेरो अनुभवमा कम्पनीको समग्र वित्तीय पक्षलाई राम्रो सँग अध्ययन अनुसन्धान गर्नुपर्छ जस्तो लाग्छ । कम्पनीका विगतका वित्तीय विवरणमा नाफा, पूँजी, रिजर्भ, लाभांशदर, प्रतिशेयर आम्दानी लगायतका सूचकहरू अध्ययन गर्नु जरुरी छ । शेयर बजारमा हामीले जहिले पनि उल्टो गरिरहेका हुन्छौं । बजार घट्दा आत्तिएर विक्री गर्ने र बढ्दा खरीद गर्ने यो एकदमै गलत कुरा हो । बजार घटेर तल आउँदा लगानी गर्ने र बजार बढ्दा आफ्नो टार्गेट मिट भएपछि  विक्री गरेमा राम्रो प्रतिफल प्राप्त हुन्छ जस्तो लाग्छ । शेयर बजारमा सधै प्रोफिट हुन्छ भन्ने हुँदैन हामीले लगानी गर्ने वित्तिकै प्रोफिट भइहाल्छ भन्ने सोचेका हुन्छौ, त्यस्तो होइन । आफूले कस्तो खालको लगानी गरेको हो । त्यसमा ध्यान दिनु जरुरी हुन्छ । शेयर बजारलाई स साना घटना क्रमले पनि छोटो समयमा प्रभावित पारिराखेको हुन्छ । यस्तो अवस्थामा आफूले कस्तो खालको कम्पनीमा लगानी गर्दैछु र कति समयको लागि लगानी गर्ने भनि एकिन गर्नुपर्छ । बजारको ट्रेण्ड र कम्पनीको सम्पूर्ण अवस्थालाई राम्रोसँग केलाएर लगानी गर्न सकेमा शेयर बजारबाट जोखिम भन्दा पनि प्रतिफल नै बढी हुने देख्छु ।