दाङ । दाङको कोठरी–डुरुवा जोड्ने हापुरखोलाको पुलको निर्माण कार्य छ वर्षदेखि अलपत्र अवस्थामा छ । निर्माण शुरू भएको लामो समय बितिसक्दा पनि अझैसम्म निर्माण पूरा हुन सकेको छैन ।
समयमा पुल नबनेका कारण स्थानीयवासीलाई आवतजावतमा समस्या भएको बताइएको छ । २०७२ सालमा सो पुलको निर्माण सम्झौता भएको थियो । निर्माण व्यवसायीको लापरबाही र पुल बन्ने स्थानमा जग्गा विवादले पुल निमार्णको काममा ढिलाइ भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए ।
उनका अनुसार उक्त पुल निर्माणका लागि ६ वर्षअघि १३ करोडमा सूर्य कन्स्ट्रक्सन निर्माण कम्पनी सुर्खेतलाई जिम्मेवारी दिइएको थियो । सो कम्पनीले निर्माण बीचैमै छाडेर दोस्रो कम्पनीलाई निर्माण गर्न जिम्मा दिए पनि सो कम्पनी पनि सम्पर्कविहीन भएपछि निर्माण रोकिएको छ ।
कार्यालयबाट ठेकेदारलाई सम्र्पक गरी दुई हप्ताभित्र काम शुरू नगरे कम्पनीलाई कालोसूचीमा राख्ने र सूचना प्रकाशित गर्ने चेतावनीसमेत दिइएको छ । प्रमुख जैसवालले जग्गाधनीले मुआब्जा खोजेकाले निर्माणमा अवरोध भएको पनि बताए । सडक डिभिजन कार्यालय दाङका इञ्जिनीयर तथा सूचना अधिकारी अमीर सुवेदीले हालसम्म उक्त पुलको काम ४० प्रतिशत मात्रै सम्पन्न भएको बताए । तुलसीपुर उपमहानगरपालिका–१५ का सूर्य चौधरीले पुल नहुँदा वर्षात्को समयमा वारपार गर्न निकै कठिनाइ हुने गरेको गुनासो गरे ।
पुल निर्माण सम्पन्न भए तुलसीपुर उपमहानगरपालिका– १४ र १५ का हजारौं स्थानीय बासिन्दा लाभान्वित हुनेछन् । यसअघि सडक डिभिजन कार्यालय दाङले गत आर्थिक वर्षको असार मसान्तमा काम सक्नेगरी काम अगाडि बढिरहेको बताएको थियो तर अझैसम्म उक्त पुल निमार्णको काम अलपत्र अवस्थामै छ । रासस