वैशाख ५, काठमाडौ । नेपाली चलचित्र जगतकी नायिका सुरक्षा पन्त फ्रान्समा हुने ७५ औं वार्षिक कान्स फिल्म फेस्टिभलमा सहभागी हुने पहिलो नेपाली नायिका भएकी छन् ।
पन्तले अभिनय गरेको बेल्जियमको चलचित्र ‘द एट माउन्टेन्स’ कान्स फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट भएको छ । उनले अभिनय गरेको उक्त चलचित्र नेपालको मनाङ जिल्लामा सुटिङ भएको थियो ।
पन्त मंगलवारनै फ्रान्स पुगी सकेकी छन् । उनले अभिनय गरेको फिल्म द एट माउन्टेन्स बुधवार कान्समा प्रिमियर भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छिन् ।
सन् २०१९ को अन्त्यदेखि शुरु भएको कोरोना महामारीका कारण रोकिएको चलचित्र महोत्सव फ्रान्समा मंगलवारदेखि जारी छ । पन्त अभिनित द एट माउन्टेन्स चलचित्र उपन्यास द एट माउन्टेन्समा आधारित मित्रताको कथा हो । उक्त फिल्म फेस्टिभलमा अभिनेत्री पन्त प्रिमियर, प्रेस मिट र फोटोसुटलगायतका कार्यक्रममा पनि सहभागी हुने छिन् ।
त्यसैगरि, नेपालबाट अर्को चलचित्र लोरीको टोली पनि उक्त फिल्म फेस्टिभलमा सहभागी छ । यो फिल्म नेपालबाट नेपालको प्रतिनिधित्व गर्दै आधिकारिक रूपमा छनोट भएको पहिलो चलचित्र हो । अविनाश विक्रम शाहको निर्देशनमा बनेको उक्त चलचित्रले १४० ओटा देशका ३ हजार ५०० भन्दा बढी चलचित्रमध्ये शीर्ष नौ मा परेको छ ।
उक्त चलचित्रले चीन, दक्षिण कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना र लिथुआनियाका चलचित्रसँग प्रतिस्पर्धा गर्नेछ । यस वर्षको कान्स फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुँदैछ। साथै, उक्त महोत्सभमा २५ ओटा फिल्म प्रमुख विधामा छनोट भएका छन् ।