काठमाडौं । वित्तमा आमजनताको पहुँच स्थापना गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले निरन्तर गर्दै आएको वित्तीय चेतना अभिवृद्धि कार्यक्रमको विशेष सत्र काभ्रेको नमोबुद्ध नगरपालिकामा सम्पन्न भएको छ । हिन्दूकुश इन्स्योरेन्स इनिसियटिभले व्यवस्थापन सो कार्यक्रम नमोबुद्ध नगरपालिका–१ मथुरापाटीका महिला उद्यमीको वित्तीय शीप विकासमा केन्द्रित रहेको बताइएको छ ।
गत बुधवार सम्पन्न कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा रहेका नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले पूँजीको प्रयोग सबै जनताले गर्नुपर्ने र गर्न पाउनुपर्नेमा जोड दिए । ‘गरिब र सीमान्तकृत समुदायका छोराछोरीले पठाएको रेमिट्यान्सले बैंकिङ क्षेत्र चलायमान हुने, तर तिनै गरिब र सीमान्तकृत समुदायका सदस्यहरूको बैंकमा पहुच नहुने बिडम्बनापूर्ण स्थितिबाट अर्थतन्त्र गुज्रिरहेकाले बैंकिङ सेवा भोग गर्न पाउनु सबै जनताको हक हो,’ उनले भने ।
कार्यक्रममा बचत, कर्जा, बीमा, शेयर बजार र वित्तीय प्रणालीका बारेमा छलफल भएको थियो । कार्यक्रमका सहभागीहरूले बैंकबाट सहज रूपमा ऋण प्राप्त गर्न नसकेको र सहुलियतपुर्ण कर्जा प्राप्त गर्न झनै कठिनाइ रहेको गुनासो समेत गरेका थिए । वित्तीय चेतना सम्बन्धी कार्यक्रम सो क्षेत्रमा नभएकाले समावेशी बैंकिङ सेवा उपयोग गर्न कठिनाइ भएको उनीहरूको भनाइ थियो । राष्ट्र बैंककी सहायक निर्देशक सृजना क्षेत्रीले कार्यक्रमका सहभागीहरूको मूल्यांकन अनुसार कार्यक्रम प्रभावकारी रहेको बताइन् । वित्तीय साक्षरताका लागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू नतीजामुखी भएर लाग्नुपर्नेमा उनले जोड दिइन् ।
हिन्दूकुश इन्स्योरेन्स इनिसियटिभले सीमान्त क्षेत्रमा वित्तीय शिक्षा विकासमा काम गरिरहेको छ । यसैगरी राउटे, चेपाङ, सुरेल, जिरेल, डोम लगायत समुदायमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिँदै आएको संस्थाले बताएको छ ।