काठमाडौं । ‘ग्लोबल मनी विक’का अवसरमा नेपाल राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयले वित्तीय चेतना अभिवृद्धिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
सो अवसरमा राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयले यही चैत ५ गते विराटनगर महानगरपालिका क्षेत्रका उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीबीच निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । राष्ट्र बैंकले सोही दिन विराटनगरस्थित महेन्द्र माध्यमिक विद्यालयमा प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई खुत्रुके वितरण गरेको थियो ।
यस्तै, चैत ६ गते सुनसरीको भुटाहास्थित बालकृष्ण माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययरत ५० जना विद्यार्थीलाई र चैत ८ गते कटहरी गाउँपालिका–७, थलाहास्थित जनता माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत ६० जना विद्यार्थीलाई सहभागी गराई सम्बन्धित विद्यालयमा बचत, लगानी, कर्जा, बीमा, विप्रेषण, डिजिटल बैंकिङ लगायतका विषय समेटेर कक्षा सञ्चालन गरेको थियो ।
राष्ट्र बैंकले चैत ७ गते विराटनगर महानगरपालिकास्थित सत्यनारायण माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत ५० जना विद्यार्थीलाई विराटनगरस्थित आफ्नो कार्यालयको अवलोकन भ्रमण गराउनुका साथै बैंकको सभाहलमा वित्तीय चेतना अभिवृद्धि कक्षा सञ्चालन गरेको थियो ।
राष्ट्र बैंकले यही चैत ११ गते निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः रु. दश हजार, रु. पाँच हजार र रु. तीन हजार नगद पुरस्कारसहित प्रमाण पत्र तथा मेडल प्रदान गरेको छ ।
निबन्ध लेखन प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालयकी श्रेया गुप्ता प्रथम, बाल कल्याण माध्यमिक विद्यालयकी स्वीकृती अधिकारी द्वितीय र आदर्श माध्यमिक विद्यालयका आदर्श बराल तृतीय भएका छन् ।
ग्लोबल मनी विक यही चैत ५ देखि ११ गतेसम्म मनाइएको हो ।