काठमाडौं। अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकलाई भारत प्रवेशको योजनामा अर्को झट्का लागेको छ ।
कम्पनीले आयातित विद्युतीय कारमा कर छूट दिन गरेको माग सरकारले अस्वीकृत गरेको छ । भारतमा कार उत्पादनका लागि कारखाना नै बनाउने कम्पनीको योजनामा यस अघि नै कर छूट नपाएपछि कम्पनीले आयातित कार ल्याएर बेच्ने तयारी गरेको थियो ।
यसका लागि सरकारसमक्ष कम्पनीले आयात करमा छूट मागेको थियो । भारतमा पहिला नै आंशिक रुपमा बनेका सवारी साधन न्यून शुल्कमा आयात गरेर स्थानीय स्तरमा एसेम्बल गर्न अनुमति दिने कानून भएको भन्दै सरकारले सो माग खारेज गरेको हो ।
‘हामीहरुले कर पुनःसंसोधन गर्नु पर्ने हो कि भनेर हेर्यौ तर अहिलेको कर संरचनामै पनि केही घरेलु उत्पादन चलिरहेका छन् अनि केही लगानी पनि आइरहेका छन्,’ कर अवरोधका रुपमा नरहेको स्पष्ट देखिएको तर्फ औंल्याउँदै केन्द्रिय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डका अध्यक्ष विवेक जोहरीले बिहीवार एक अन्तरवार्तामा भनेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले टेस्लालाई भारतमै स्थानीय रुपमा सवारी साधन उत्पादन गर्न प्रेरित गरेको थियो । तर मस्कले भने आयातित विद्युतीय कारमा कर घटोस् भन्ने चाहेका थिए । भारतमा आयातित विद्युतीय कारमा धेरैमा सय प्रतिशतसम्म कर लाग्छ । तर भारतमै एसेम्बलका लागि ल्याइने पार्ट्समा भने १५ देखि ३० प्रतिशत मात्रै आयात कर लाग्छ ।
सरकारले कम्पनीलाई यसबारे सोधेको भएपनि टेस्लाले अहिलेसम्म पनि स्थानीय स्तरमै सवारी उत्पादन गर्न भारतबाट खरीद गर्ने योजना पेश गरिनसकेको जोहरीको भनाइ छ । टेस्लाको उक्त मागको महाराष्ट्रले सार्वजनिक रुपमै समर्थन गरेको थियो । तर यही हप्ताको शुरुमा पेश गरिएको संघीय बजेटमा पनि स्वच्छ र आयातित सवारी साधनका लागि कर छूट दिने उच्चारण भएन ।
गत महीना कम्पनीले संघीय सरकारहरुमा कयौं चुनौतीको सामना गरिरहेको भन्दै टेस्लाका मस्कले बताएपछि कम्तिमा पाँच ओटा भारतीय राज्यहरुले टेस्लालाई आ–आफ्नो प्रान्तमा पसल खोल्न निमन्त्रण गरेका थिए । भारतले टेस्लालाई पूर्ण रुपमा बनेका कारको सट्टामा आंशिक रुपमा बनेका सवारी साधन वा नक्ड डाउन यूनिट (कार एसेम्बलका लागि चाहिने एकाई) आयात गर्नेबारे विचार गर्न भनिरहेको छ ।
टेस्लाले पनि महिन्द्रा एन्ड महिन्द्र र टाटा मोटर्स लगायत भारतमा शीर्ष अटो निर्माताहरुको अनुसरण गर्नु पर्ने जोहरीको जिकीर छ । यी दुबै कम्पनीहरुले विद्युतीय सवारी साधनको स्थानीय क्षमता बढाउन लगानी गरिरहेका छन् । ‘बनेर तयार भइसकेका सिंगै कार आयात गर्नेहरु पनि छन्, बाटो खुला छ,’ उनले भनेका छन् ।
टेस्लाले शुरुमा छिटोमा सन् २०१९ मा भारतीय बजार प्रवेश गर्ने आशय व्यक्त गरेको थियो । तर उच्च आयात शुल्कका कारण कारहरु महँगो हुने भएकोले शुरुमै आयातित कार बेच्न मस्क हच्किए । अक्टोबरमा आफूले टेस्लालाई चीनमा बनेका कार भारतीय बजारमा बेच्न छाडेर स्थानीय कारखानामै कारको उत्पादन गरी विक्री र निर्यात गर्न एक भारतीय मन्त्रीले अनुरोध गरेको खबरहरु पनि छापिए ।
‘अहिलेको कर संरचनामै केही लगानीहरु आइरहेका छन्, त्यसो भए अरु चाँहि किन आउन सक्दैनन् ?’ जोहरीले उल्टै प्रश्न गरेका छन् । अन्य विदेशी ब्रान्डहरुले पनि भारतमा करको अहिलेकै दायरामा पनि त सवारी साधन बेचिरहेको तर्फ पनि उनले औंल्याएका छन् । एजेन्सीको सहयोगमा