काठमाडौं (अस) । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. शंकर शर्मालाई आइतवार स्वागत गरेको छ । संस्थाको सचिवालयमा आयोजित एक कार्यक्रममा संस्थाका अध्यक्ष सृजना राणाले राजदूत शर्मालाई स्वागत गरेकी हुन् ।
कार्यक्रममा संघले नेपाल तथा भारतबीच रहेको बहुआयामिक सम्बन्धको चर्चा गर्नुका साथै वर्तमान द्विपक्षीय आर्थिक सम्बन्धमा रहेका विद्यमान समस्याबारे राजदूत शर्मालाई अवगत गराएको छ । संघका अध्यक्ष राणाले संघले नेपालको समग्र औद्योगिक तथा आर्थिक विकासका लागि पुर्याउँदै आएको योगदानबारे जानकारी गराएकी थिइन् । साथै नेपालमा औद्योगिक लगानी प्रवर्द्धनमा भारतका लागि नेपाली राजदूत एवं भारतस्थित नेपाली राजदूतावासको भूमिका महत्त्वपूर्ण रहेको उनले बताएकी थिइन् । यस्तै नेपालको उद्योग क्षेत्रमा भारतीय लगानी भित्र्याउन पहल गर्न राजदूत शर्मालाई उनले आग्रह गरिन् ।
कार्यक्रममा संघका महासचिव आरबी रौनियारले नेपाल–भारत व्यापार तथा पारवहनको क्षेत्रमा रहेका समस्याबारे प्रस्तुति दिएका थिए । यस्तै संघका उपाध्यक्ष सुनिल केसीले नेपालमा आउन चाहने साना तथा ठूला सबै किसिमका भारतीय लगानीकर्ताका लागि दूतावासले सहजीकरण गर्ने विश्वास ब्यक्त गरे ।
उक्त अवसरमा नवनियुक्त राजदूत डा. शर्माले दूतावासले नेपालमा भारतीय लगानी प्रवर्द्धनका लागि संघसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।