काठमाडौं । गत बुधवार सामान्य अंक बढेको नेप्से परिसूचक बिहीवार भने शून्य दशमलव ५६ प्रतिशत घटेको छ । यस दिन परिसूचक १ हजार ९५६ दशमलव ९२ विन्दुमा झरेको छ । २८० धितोपत्रको ३५ लाख ६२ हजार ६२४ कित्ता शेयर ५० हजार ६९ पटकमा रू. १ अर्ब १० करोड बराबरको शेयर कारोबार भएको छ ।
पछिल्लो समय लगानीकर्ताहरू शेयर बजारप्रति निरुत्साहित भएको देखिएको छ । बुधवार बढेको बजारमा बिहीवार भने विक्रेता नै हाबी हुनुले यो प्रष्ट्याउँछ । त्यसो त बिहीवार मात्रै होइन, गत मंगलवार पनि नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको थियो । त्यसअघि अघिल्लो बिहीवार र गत आइतवार पनि नेप्से घटेको थियो ।
नियामक निकायले बजार सुधारको लागि पहल नगर्दा बजार बढ्न नसकेको लगानीकर्ता बताउँछन् । लगानीकर्ताले शेयर धितो कर्जामा १२ करोडको क्याप हटाउन, १५० प्रतिशतको जोखिम भार १०० प्रतिशतमा झार्न र बैंकको ब्याजदर घटाउन माग गर्दै आएका छन् । यी माग सम्बोधन नहुँदा बजार बढ्न नसकेको लगानीकर्ताको भनाइ छ ।
बिहीवार कारोबारमा आएका धितोपत्रमध्ये बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ३० प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५०२ दशमलव ८० पुगेको हो । त्यस्तै इष्टर्न हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव २६ प्रतिशत बढेर रू। ३७८ दशमलव ९० कायम भएको छ ।
बिहीवार सबैभन्दा बढी इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव ९४ प्रतिशत घटेको छ । यससँगै शेयर मूल्य प्रतिकित्ता रू. ६४३ मा झरेको छ । त्यस्तै मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्य ६ दशमलव ४६ प्रतिशत घटेर रू. २८४ कायम भएको छ । यी दुवै कम्पनीको शेयर मूल्य बुधवार उच्चदरमा वृद्धि भएको थियो । बढेको बेला विक्री गर्नेहरू हाबी भएसँगै शेयर मूल्य घटेको हो ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सिटिजन लाइफ इन्स्योरेन्सले ओगटेको छ । यस कम्पनीको रू. ३ करोड १८ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४४२ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने कम्पनीको सूचीमा दोस्रोमा नबिल बैंक छ । बैंकको रू. ३ करोड १८ लाख बराबरको शेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्डको शून्य दशमलव २४ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक १ दशमलव १७ प्रतिशत घटेको छ । बिहीवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ४० प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ५७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४१ प्रतिशत घटेको छ ।