काठमाडौं । भारत र अमेरिकाले विश्व व्यापार संगठन (डब्ल्यूटीओ)मा विचाराधीन ६ ओटा विवाद अन्त्य गर्ने सहमति गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा दुई देशबीच यस्तो सहमति भएको हो । यो सहमतिसँगै भारतले पनि २८ अमेरिकी वस्तुमा लगाएको प्रतिकारात्मक शुल्क हटाउने भएको छ ।
मोदी हाल अमेरिकी राष्ट्रपति जो बाइडेन दम्पतीको निम्तोमा अमेरिका भ्रमणमा छन् । अमेरिकाले सन् २०१८ मा राष्ट्रिय सुरक्षाको नाममा भारतबाट आउने केही स्टिल र आल्मुनियमका सामानमा २५ प्रतिशत र १० प्रतिशत आयात कर लगाएको थियो । सोको प्रतिकारमा भारतले पनि सन् २०१९ जुनमा चना, दाल, बदाम, ओखर, स्याउ, बोरिक एसिड जस्ता २८ वस्तुमा अतिरिक्त शुल्क लगाएको थियो ।
अमेरिका र भारतले आजै डब्ल्यूटीओमा चलिरहेको ६ ओटा विवाद अन्त्य गर्न सहमति गरेको अमेरिकी व्यापार प्रतिनिधि केथरिन ताईले बताएकी छिन् । भारतले अमेरिकी कृषि उत्पादक र कम्पनीहरूको लागि बजारमा अवसर पनि विस्तार गर्ने बताइएको छ । एजेन्सी