भोजपुर । प्रदेश १ सरकारको ४ करोड ८४ लाख लागतमा निर्माण भइरहेको दिङ्ला बहुउद्देश्यीय धर्मशालाको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेको करीब १४ महिना अवधिमा धर्मशालाको निर्माण अन्तिम चरणमा पुगेको हो ।
बालागुरु षडानन्दको जन्मभूमि भोजपुरको दिङ्लामा उक्त धर्मशाला निर्माण भइरहेको छ । तीनतले भवन ३० मिटर लम्बाइ र २० मिटर चौडाइको छ । निर्माण अवधि आगामी असोज महीनासम्म भए पनि तोकिएको अवधिभन्दा अगाडि सक्नेगरी काम भइरहेको निर्माण कम्पनीले बताएको छ ।
धर्मशाला निर्माणपछि विभिन्न समयमा हुने मेला, महोत्सव तथा अन्य विविध कार्यक्रम व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ । प्रदेश सरकारले विषेश महŒवका साथ अघि बढाएको धर्मशालाले षडानन्द नगरपालिकाको विकासमा टेवा पुग्ने षडानन्द नगरपालिकाकी उपप्रमुख मेरिका राईले बताइन् ।
निर्माणाधीन धर्मशालाको अनुगमन तथा निर्माणका क्रममा आइपर्ने समस्यामा षडानन्द नगरपालिकाले पनि सहयोग गर्दै आएको छ । भवनलाई गुणस्तरीय तवरबाट समयमै सम्पन्न गराउन नगरपालिकाले पहल गरिरहेको नगर प्रमुख वीरबल राईले बताए । धार्मिक तथा ऐतिहासिक महŒव बोकेको दिङ्ला बजारको विकासमा प्रदेश सरकारले विभिन्न योजना सञ्चालनमा ल्याएसँगै स्थानीयवासी उत्साहित बनेका छन् ।