काठमाडौं । ब्रोइलर कुखुरा मासुको मूल्य घटेको छ । भारतबाट अवैध रूपमा तयारी मासु र जिउँदो ब्रोइलर कुखुरा भित्रिन थालेपछि नेपालमा मासुको मूल्य घटेको पोल्ट्री व्यवसायीले बताएका छन् । मासु व्यवसायी संघले दिएको जानकारीअनुसार गत माघ दोस्रो सातातिर प्रतिकिलो ३ सय ३० रुपैयाँ रहेको कुखुरा मासुको मूल्य त्यसपछि बढेर ४ सय रुपैयाँसम्म पुगेको थियो । मंगलवारदेखि लागू हुने गरी मासुको मूल्य प्रतिकिलो १० रुपैयाँ घटाएर ३ सय ९० कायम गरिएको छ ।
भारतीय सीमा नाकाबाट अवैध रूपमा जिउँदो ब्रोइलर कुखुरा र तयारी मासु भित्रिन थालेपछि बाध्य भएर मूल्य घटाउनुपरेको पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले जानकारी दिए । उनका अनुसार नाकामा कडाइ नगर्दा अवैध रूपमा ठूलो मात्रामा नेपालमा जिउँदो कुखुरा र तयारी मासु भित्रिने क्रम बढेको छ । ‘हाम्रोमा भन्दा भारतमा कुखुराको उत्पादन लागत कम छ । त्यसैले उताबाट सस्तोमा ल्याएर यता बेच्ने काम भएकाले नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा बाध्य भएर मूल्य घटाउनुपरेको हो,’ उनले भने ।
मूल्य घट्दा उपभोक्ताले भने सस्तोमा मासु खान पाएका छन् । तर, अवैध रूपमा कुखुरा र मासु भित्रिँदा स्वदेशी उद्योग संकटमा पर्नसक्ने खतरा बढेको मिश्र बताउँछन् । नेपालको एकमात्र आत्मनिर्भर उद्योगका रूपमा रहेको पोल्ट्रीले कोरोना महामारीपछि विभिन्न उतारचढाव झेल्दै आएको छ । १ सय ६० अर्ब लगानी रहेको उद्योग धराशयी हुने खतरा बढ्दै गएको सरोकारवाला बताउँछन् ।
मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले पनि सीमापारिबाट सस्तोमा कुखुरा भित्रिँदा र आन्तरिक बजारमा कुखुरा मासुको खपत घट्दा बाध्य भएर मूल्य घटाउनुपरेको बताए । उनका अनुसार बजारमा देखिएको आर्थिक संकटका कारण मासु खपत केही मात्रामा घटेको हो । मूल्य घट्नुको अर्को कारणका रूपमा अहिलेको आर्थिक संकटलाई पनि लिन सकिने उनले बताए । सामान्य अवस्थामा देशभर हरेक दिन ८ लाख किलो कुखुराको मासु खपत हुने गर्छ । यसमध्ये काठमाडौं उपत्यकामा मात्रै दैनिक ५ लाख किलो मासु खपत हुन्छ । अहिले समग्र खपत ३० प्रतिशतसम्मले घटेको बिसीको दाबी छ ।