काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले आइतवार १० करोड कित्ता आईपीओ नेप्सेमा सूचीकृत गराएको हो ।
कुल कित्ता आईपीओमध्ये सर्वसाधारण लगानीकर्ता शेयरधनीतर्फ ३ करोड कित्ता र संस्थापक शेयरधनीतर्फको ७ करोड कित्ता छ । नेप्सेले कम्पनीलाई एचआरएज सिम्बोल प्रदान गरेको छ । उक्त सिम्बोलबाट सोमवार (भोलि)देखि कम्पनीको शेयर कारोबार हुनेछ । सोमवार प्रि–स्पेशल ओपनिङ सेसनमा कम्पनीको शेयर कारोबार भए मात्र नियमित सेसनमा कारोबार शुरु हुनेछ ।
नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता १०३ रुपैयाँ ७ पैसादेखि अधिकतम प्रतिकित्ता २०९ रुपैयाँ २१ पैसासम्मको मूल्य रेञ्ज तोकेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा नेप्सेले कम्पनीको शेयर कारोबारका लागि खुला मूल्य तोकेको हो । कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडछ ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि मङ्सिर २७ देखि पुस २ गतेसम्म आईपीओ विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ विक्री गरेको हो ।
सर्वसाधारणतर्फको कुल कित्ता आईपीओमध्ये ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूमा १५ लाख कित्ता सामूहिक लगानीकोषहरूमा र २ करोड ४९ लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको थियो ।