काठमाडौं । बाँटफाँट भएको ६ दिनमै हिमालयन रिइन्स्योरेन्स आईपीओ लगानीकर्ताको डिम्याट खातामा आएको छ । हिजो मंगलवार कम्पनीको शेयर डिम्याट खातामा आएको हो । कम्पनीको आईपीओ पुस ११ गते बाँडफाँट भएको थियो ।
शेयर डिम्याट खातामा आएसँगै यी शेयर नेप्सेमा सूचीकृत भएपछि त्यसको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ ।
कम्पनीको आईपीओले रू. १०३ दशमलव ०७ देखि ३०९ दशमलव २१ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०३ दशमलव ०७ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको स्टक सिम्बोल एचआरएल रहेको छ ।
कम्पनीले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त गरेको छ। यससँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचीकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँट भएको साधारण शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अद्यावधिक गर्ने लगायतका शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य एनएमबि क्यापिटलले गर्नेछ।