काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई आगामी माघ मसान्तसम्म २० अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने बाध्यता छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूको पूँजी २० अर्ब रुपैयाँ कायम गर्नुपर्ने व्यवस्था गरेसँगै कम्पनीलाई पूँजी बढाउनुपर्ने बाध्यता परेको हो ।
सर्वसाधारणमा आईपीओ जारी गरेकै पहिलो वर्ष नै कम्पनीले लाभांशसमेत वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ४ प्रतिशत बोनस शयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव फागुन २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ ।
कम्पनीले लाभांशसहित ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसमेत सोही सभाबाट पारित गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रहेको छ । ४ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब ४० करोड कायम हुनेछ ।
बोनस शेयरपछि कायम चुक्ता पूँजीको आधारमा ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि कम्पनीले पारित गरेको हो । कम्पनीले १० शेयर वराबर ८ शेयरको अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी १८ अर्ब ७२ करोड रुपैयाँ कायम हुनेछ ।
नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीका लागि तय गरेको न्यूनतम चुक्ता पूँजी कायम गर्न हकप्रदपछि पनि कम्पनीलाई थप १ अर्ब २८ करोड रुपैयाँ आवश्यक हुन्छ । थप रकम बोनस शेयरमार्फत कायम गर्ने सम्भावना देखिन्छ ।
कम्पनीको लाभांश र बोनसप्रति लगानीकर्ताको आकर्षण भने बढेको पाइएन । फागुन महीनाको कारोबारको अवस्थालाई हेर्दा कम्पनीको सर्वाधिक रकमको कारोबार भएको छ भने मूल्यमा पनि कमी आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कम्पनीको शेयर मूल्य माघको तुलनामा फागुनमा प्रतिकित्ता ५० रुपैयाँ १० पैसाले घटेको छ ।
हुन त फागुनमा कम्पनीको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजनसमेत भएको थियो । फागुन मसान्तसम्मको कारोबारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६४२ रुपैयाँ कायम भएको छ । माघ मसान्तसम्मको कारोबारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६९२ रुपैयाँ १० पैसा रहेको जानकारी नेप्सेले दिएको छ ।
फागुन महीनामा कुल ६१ अर्ब ६८ करोड २१ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएकोमा हिमालयन रिइन्स्योरेन्सले सर्वाधिक हिस्सा ओगटेको छ । नेप्सेका अनुसार कम्पनीको उक्त महीना २ अर्ब ९९ करोड ६१ लाख रुपैयाँभन्दा बढीको ४६ लाख ८० हजार कित्ता शेयर कारोबार भएको हो ।