डाेटी - आज सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । हरेक वर्षको असोज १ गते सुदूरपश्चिमका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा 'बुढी पोल्ने' पर्व मनाइने चलन छ ।
राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व धुमधामका साथ मनाइने गरिएको दिपायल सिलगढी नगरपालिका–४ राजपुरका कमलसिंह विकले बताउनुभयो । सुदूरपश्चिममा भदौ १ गतेका दिन बीच बाटामा गाडिएको सल्ला, बाँझ, निगालो आदिका हाँगाबिँगा काटेर पुतना बुढी अर्थात् राक्षस पुतनाको प्रतिक बनाइएको हुन्छ ।
...