कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा दुई जना र मलेसियामा एक जनाको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २० देशमा ३१७ पुगेको छ ।
सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८४६ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ तीमध्ये ५१ हजार ११६ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९३ प्रतिशत हो ।
गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, दक्षिण अफ्रीका, बेलायत भारत र संयुक्त अरब इमिरेट्समा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।