काठमाडौं । संसद विघटनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले देशैभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक र विरोधपत्र पठाएको छ ।
नेकपा प्रचण्ड-माधव समूहले गठन गरेको केन्द्रीय संघर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध पत्र र नेपालको संविधान-२०७२ पठाएको हो ।
काठामाडौं जिल्ला प्रशासन कार्यालयमा जुलुस सहित पुगेको काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तक सहित विरोधपत्र पठाएको छ । नेकपा काठमाडौं जिल्ला कमिटीका इन्चार्ज सावित्रा भूसालले केन्द्रीय संघर्ष समितिको आयोजनामा प्रधानमन्त्री ओलीलाई विरोधपत्र र नेपालको संविधान बुझाइएको बताउनुभयो ।
संविधानको पुस्तक पठाउन नेताहरु प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्धमा संघर्ष गरौं लेखिएको ब्यानर सहित काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेका थिए ।