फागुन ९, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मालपोत कार्यालयमा छिटो छिटो कर्मचारी सरुवा नगर्न निर्देशन दिएकी छिन् ।
छोटो समयमा कर्मचारीको सरुवा हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको भन्दै कर्मचारी सरुवालाई चक्रिय प्रणालीमा लैजान पनि उनले आग्रह गरिन् ।
चक्रिय प्रणाली अनुसार कमर्चारी सरुवा गर्ने प्रक्रियाको सुरुवात भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट गर्न समेत मन्त्री श्रेष्ठले आग्रह गरेकी हुन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको सोमबार अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले मालपोत कार्यालयहरुप्रति जनतामा बसेको छविसँग मन्त्रालय र सरकारको पनि छवि जोडिएकाले यसमा सुधार गर्न इमान्दार भएर काममा लाग्नु आवश्यक रहेको बताइन् ।
मन्त्री श्रेष्ठले मालपोत लगायतका कार्यालयहरु नागरिकसँग प्रत्यक्ष जोडिएको सेवा प्रदायक संस्था भएकाले जनताले परिवर्तन महशुस गर्ने र देखिने गरी काम गर्न विभागलाई निर्देशन दिएकी हुन् ।
विभागले नागरिकका पक्षमा काम गर्दा आइपर्ने नीतिगत र व्यवहारिक समस्या छन् भने त्यो समाधान गरेर कानुनी व्यवधान फुकाउन मन्त्रालय सधैव तयार रहेको पनि श्रेष्ठले भनाई छ ।
मन्त्री श्रेष्ठले देशभरका मालपोत कार्यालयहरुमा प्रविधिको उच्चतम प्रयोग गरी सेवालाई चुस्त दुरुस्त बनाउने, भूमिको दोहन नियन्त्रण गर्ने तथा सरकारी र सार्वजनिक जग्गाको संरक्षण गर्ने विषयमा कुनै कसर नरहने गरि काम गर्न समेत विभागलाई निर्देशन दिएकी छन् ।