एशियाली विकास बैंक (एडीबी) को सहजीकरणमा बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआईएन) ले गत जुन २०१५ मा सवारीसाधन सम्झौता (एमभीए) मा हस्ताक्षर गरे । यसको उद्देश्य यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई ती देशबीचका सीमा वारपार आवागमन गर्न सक्षम बनाउने हो । यस सम्झौताले चार देशलाई नजिक ल्याउनुका साथै बीबीआईएन उपक्षेत्रको व्यापारिक तथा आर्थिक अन्तरसम्बन्धलाई बल पु¥याउने लक्ष्य राखिएको छ ।
बीबीआईएन एमभीएले यो कुरालाई स्पष्टरूपमा उल्लेख नगरेको भए पनि एउटा देशमा दर्ता भएको सवारीसाधन अर्को देशमा सञ्चालनमा रहँदा त्यसका कामदारहरू परिवर्तन गर्न सक्ने अधिकार यातायात सञ्चालकलाई हुने गर्छ ।
सन् २०१५ मा प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएपश्चात् तथा बंगलादेश, भारत र नेपालले सम्झौतालाई अनुमोदन गरेपछि भुटानले भने वातावरणीय चासोहरू औंल्याउँदै यसको अनुमोदनलाई थाती राख्यो । यद्यपि, भुटानले यो सम्झौता तत्काललाई बीआईएन (बंगलादेश, नेपाल र भारत) बीच मात्रै कार्यान्वयन गर्नका निम्ति सहमति दिएको छ । हाल, सदस्य राष्ट्रहरूले एमभीएको कार्यान्वयन गर्न प्रोटोकलहरू (एउटा यात्रुवाहक र अर्को मालवाहक सवारीसाधनका लागि) माथि छलफल गरिरहेका छन् । प्रोटोकलहरूमा हस्ताक्षर भइसकेपछि एमभीए कार्यान्वयनमा आउनेछ ।
चार देशको सम्झौता तीन देशबीच कसरी कार्यान्वयनमा आउन सक्छ ?
बीबीआईएन एमभीएको अनुमोदनलाई थाती राखेको भुटानको सरकारले आफू पछि जोडिने गरी अन्य तीन देशबीच सम्झौताको कार्यान्वयन गर्न सहमति प्रदान गरेको छ । गत फेबु्रअरी २०२० मा भएको बीबीआईएन एमभीएको पछिल्लो बैठकमा सदस्य राष्ट्रहरूले सम्झौता कार्यान्वयनका लागि तीन राष्ट्रबीच हस्ताक्षर हुने समझदारीपत्र (एमओयू) को मस्यौदामाथि छलफल गरी अन्तिम रूप दिएका छन् । एमओयूमा हस्ताक्षरले यसको कार्यान्वयनलाई सहजीकरण गर्नेछ ।
बीबीआईएन एमभीएको कार्यान्वयनबाट सबैभन्दा ठूलो लाभग्राही को हुन्छ ?
यस उपक्षेत्रमा सवारीसाधनहरूको निर्बाध आवागमनले कारोवारको लागत घटाउने, सीमा वारपार व्यापार बढाउने तथा आर्थिक क्रियाकलाप फस्टाउन योगदान गर्ने अपेक्षा गरिएको छ । साथै, आआफ्ना अर्थतन्त्रको आकार जत्रो भए पनि तीन देशमा रोजगारी सृजना गर्न पनि मद्दत पुग्नेछ ।
एउटा देशबाट अर्को देशमा प्रवेश गर्ने यात्रुवाहक तथा मालवाहक सवारीसाधनका लागि कुन निकायले अनुमति जारी गर्छ ?
बीबीआईएन एमभीएले उल्लेख गरेको छ कि प्रत्येक देशले अनुमति जारी गर्ने निकायको बारेमा आपैm निर्णय गर्नेछन् र अर्को राष्ट्रलाई जानकारी गराउनेछन् । (एमभीएको धारा ३, अनुच्छेद १२)
के एमभीएले भूपरिवेष्टित राष्ट्रहरूको अधिकारलाई प्रभावित तुल्याउँछ ?
एमभीएले स्पष्ट पारेको छ कि यस सम्झौताले हस्ताक्षरकर्ता राष्ट्रहरूको अन्य अन्तरराष्ट्रिय प्रतिबद्धताबाट सृजित हुने ‘भूपरिवेष्टित राष्ट्रका अधिकार’सँग सम्बद्ध अधिकार र उत्तरदायित्वलाई प्रभावित तुल्याउँदैन । (एमभीएको धारा १४ को दफा ४)
अतिकम विकसित/भूपरिवेष्टित र प्राविधिक रूपमा कमजोर राष्ट्रहरूले यात्रुवाहक तथा मालवाहक सवारीसाधनको आवागमनको अनलाइन अनुगमनका लागि ‘ट्र्याकिङ प्रणालीको जडान’को आवश्यकतालाई कसरी परिपूर्ति गर्न सक्छन् ?
भारत र नेपालबीच ‘ट्र्याकिङ प्रणालीको जडान’ कार्यान्वयनका क्रममा छ भने भारत र बंगलादेशबीच छलफलका क्रममा छ । यसका अतिरिक्त बंगलादेशले एशिया र प्रशान्तमा कागजरहित सीमा वारपार व्यापारको सहजीकरणसम्बन्धी फ्रेमवर्क सम्झौता (सीपीटीए) मा हस्ताक्षर गरेको छ, जसका लागि ‘ट्र्याकिङ प्रणालीको जडान’ आवश्यक पर्छ ।
बीबीआईएन एमभीएका हस्ताक्षरकर्ताबीच सवारीसाधनको आकार र प्रकृतिमा उल्लेख्य भिन्नता छ । एमभीएसले यस मामलालाई कसरी सम्बोधन गर्छ ?
हस्ताक्षरकर्ता राष्ट्रहरूबीच पहिले नै भएका परामर्शहरूमा ७५०० किलोभन्दा बढीको श्रेणीसहित प्रस्तावित सबै वजन श्रेणीहरूलाई सबै राष्ट्रहरूमा पूर्वाधार गुणस्तरको भावी विस्तारको सम्भावनालाई हेरेर यथावत् राखिन सक्ने कुरा भएको छ । साँघुरा पूर्वाधारहरूका कारण हाल निर्धारित सीमाहरूलाई सञ्चालन अनुमति दिइएका सवारीसाधनको प्रकृति र वजन तोक्ने प्रावधानहरूको प्रयोग गरेर तथा प्रदान गरिएका अनुमतिको संख्यालाई घटाएर व्यवस्थापन गर्न सकिन्छ ।
सवारीसाधनहरूलाई समानताका आधारमा अनुमति जारी गर्दा साना राष्ट्रलाई सहयोगी नहुन सक्छ, किनकि तिनीहरू विकासको भिन्न चरणमा छन् र अर्थतन्त्र एवं पूर्वाधारका हिसाबले बराबरी आकारका छैनन् । यस विषयलाई एमभीएले कसरी निरुपण गर्छ ?
विगतका परामर्शहरूमा स्पष्ट पारिएको छ कि एमभीएको कार्यान्वयन सानो स्तरमा शुरू गरिनेछ र प्रत्येक राष्ट्रमा क्षमता विस्तार भएसँगै यसलाई घनीभूत पार्दै लगिनेछ । यस्ता निर्णयहरू लिँदा साना राष्ट्रहरूको हित र क्षमतालाई उचित ध्यान दिइनेछ ।
यदि कुनै सवारीसाधन अर्को सदस्य राष्ट्रको सीमाभित्र पुगिसकेको अवस्थामा यसको वैधानिकताको म्याद गुज्रियो भने उक्त सवारीसाधन र यसका चालक दललाई के हुन्छ ?
यदि अर्को राष्ट्रको भूभागमा प्रवेश गरेको सवारीसाधनको ‘अनुमतिपत्र’ यसको म्याद सकिनुअगावै प्रयोग भएको रहेछ भने यात्रा पुरा नहुन्जेलसम्मका लागि यो वैध रहन्छ । तर, यस्तो घटनामा सञ्चालकले यस एमभीएमा उल्लेख भएअनुसार अस्थायी प्रवेशका लागि आवश्यक शर्तहरू पूरा गर्नुपर्नेछ ।
बीबीआईएन एमभीएको कार्यान्वयनले साना राष्ट्रहरूमा ठूला राष्ट्र सवारीसाधनको भेल लाग्ने र वातावरणमा असर पुग्नेछ । यसलाई बीबीआईएन एमभीएले कसरी समाधान गर्छ ?
बीबीआईएन एमभीएले एउटा राष्ट्रका निश्चित संख्यामा सवारीसाधनलाई अर्को राष्ट्रमा प्रवेश गर्न अनुमति दिन्छ । यसले निश्चित सडक र भन्सार कार्यालयहरूको छनोट गर्न अनुमति प्रदान गर्छ, जसमा सवारीसाधनको वजन र प्रकृतिसमेत निर्धारण गरिएको हुन्छ । त्यसैले साना राष्ट्रहरूमा ठूला राष्ट्रका सवारीसाधनको भेल लाग्ने सम्भावना न्यून छ । साथै, प्रत्येक राष्ट्रले तोकिएको संख्यामा सवारीसाधनलाई अनुमति दिने हुँदा वातावरणीय प्रभावको पनि सहजै आकलन गर्न सकिन्छ । ‘क्लीन फ्यूल’को प्रयोगमा जाने आवश्यक उपायहरू अवलम्बन गरेर पनि यस परिस्थितिमा थप सुधार गर्न सकिन्छ ।
बीबीआईएन एमभीएमा ‘सवारीसाधनको दायित्व बीमा’ सम्बन्धी प्रावधान छ ?
बीबीआईएन एमभीएको धारा ११ ले श्रेणीगत रूपमा उल्लेख गरेको छ कि एउटा दर्तावाल बीमा कम्पनीले सबै राष्ट्रमा अनियमित सवारीसाधनहरूलाई तेस्रो पक्ष क्षतिविरुद्धको सुनिश्चितता गर्नेछ भने नियमित यात्रुवाहक तथा मालवाहक सवारीसाधनका लागि बृहद् बीमा नीति कार्यान्वयन गरिनेछ ।
एउटा राष्ट्रको सवारीसाधनले अर्को राष्ट्रको क्षेत्रमा दुर्घटना गराउँदा तेस्रो पक्षलाई बीमा/क्षतिपूर्तिको व्यवस्था बीबीआईएन एमभीएले गरेको छ ?
यो सम्झौताले कुनै पनि दुर्घटनाबाट तेस्रो व्यक्तिलाई क्षति पुगेको र त्यसबाट सवारीसाधनको सञ्चालक वा मालिकलाई दायित्व उत्पन्न भएको अवस्थामा बीमा/क्षतिपूर्ति उपलब्ध गराउँछ । दुर्घटनाबाट क्षति भोग्ने व्यक्तिले सवारीसाधन सञ्चालक वा मालिकको सवारी दायित्व बिमकसँग क्षतिपूर्ति दाबी गर्ने अधिकार राख्छ । अर्को देशको सवारीसाधन भएमा त्यसको प्रतिनिधि कार्यालय वा बीमा कम्पनीमार्फत यस्तो दाबी गर्न सकिन्छ ।
एउटा देशको सवारीसाधन अर्को देशको भूभागमा सञ्चालन भइरहँदा उससँग तेस्रो पक्ष बीमा छ या छैन भन्ने कसरी थाहा हुन्छ ?
सम्झौताअनुसार सवारीसाधन सञ्चालकले हरेक समयमा आफूसँग भएको वैध बीमाको प्रमाण साथमा राख्नुपर्छ र चाहेको बेला देखाउनुपर्छ ।
बीबीआईएन एमभीएले नियमित र अनियमित यात्रुवाहक सवारीसाधनलाई अस्थायी प्रवेशको अनुमति दिन्छ ? यदि दिन्छ भने त्यस्तो अस्थायी प्रवेशका लागि कस्ता कागजातहरू चाहिन्छन् ?
बीबीआईएन एमभीएले एउटा देशको सवारीसाधनलाई अर्को देशको भूभागमा अस्थायी प्रवेशका लागि अनुमति दिन्छ । अस्थायी प्रवेशका लागि सवारीसाधनहरूले आफ्नो देशको सरोकारवाला निकायद्वारा जारी गरिएको कागजात बोक्नुपर्ने हुन्छ, जसमा अनुमति नम्बर र मिति, अनुमतिको वैधानिकता गुज्रिने म्याद, सवारीसाधन दर्ता भएको देश, सवारीसाधनको दर्ता नम्बर, प्रवेश तथा निष्कासन विन्दुलगायत विवरण समावेश हुन्छन् । यो विद्युतीय माध्यमबाट गरिन्छ । यस्तो कागजातको पूर्ण प्रारूप यात्रुको प्रोटोकलमा उपलब्ध गराइन्छ ।
यदि यातायात सञ्चालकले सम्झौताका प्रावधानहरू उल्लंघन गरेको खण्डमा के हुन्छ ?
यदि यातायात सञ्चालकले सम्झौताका प्रावधानहरू उल्लंघन गरेको खण्डमा सम्बद्ध राष्ट्रको भन्सार प्रशासनले यातायात सञ्चालक वा मालिक वा अनुमतिवाहकलाई सम्झौतामा उल्लेख भएअनुसार रकम असुलीका लागि सूचना जारी गर्नेछ र त्यसको एक प्रति सवारी सञ्चालकको देशको अनुमति जारी गर्ने तालुकदार निकायलाई पनि पठाइन्छ । यदि आधिकारिक सञ्चालक वा मालिक वा अनुमतिवाहकले सूचनामा उल्लेख भएअनुसारको रकम तोकिएको अवधिमा तिर्न सकेन भने त्यस देशको आधिकारिक निकायले सम्बद्ध देशको भन्सार प्रशासनबाट हुने भुक्तानी प्रभावित बनाउनेछ ।
सम्झौताले नसमेटेका विषयहरू उत्पन्न भएमा कुन कानून लागू हुन्छ ?
यात्रुवाहक तथा मालवाहक सवारीहरूको आवागमनलाई सम्झौतामा उल्लिखित प्रावधानहरूले निर्देशित गर्ने भए तापनि केही क्षेत्र छन् जहाँ राष्ट्रिय कानून आकर्षित हुन्छ (कुनै पनि विषयमा जुन बीबीआईएन एमभीएले स्पष्टरूपमा समेटेको छैन) । यसमा सडक दस्तुर, सवारीसाधन चलाउन नसक्ने गरी बिग्रेको अवस्था आदि पर्छन् ।
एउटा देशमा दर्ता भएको सवारीसाधन अर्को देशको भूभागमा चलिरहेका बेला त्यसलाई ट्र्याक गर्ने कुनै प्रावधान छ ?
सम्झौतामा उल्लेख भएअनुसार हस्ताक्षरकर्ता देशहरूले सवारीसाधनको प्रभावकारी ट्र्याकिङका लागि चाँडोभन्दा चाँडो उचित सफ्टवेयरसहित विद्युतीय अनुगमन प्रणालीको स्थापना गर्नेछन् ।
एउटा देशमा दर्ता भएको सवारीसाधन अर्को देशको भूभागमा चलाउँदा त्यसका चालक दल परिवर्तन गर्न सकिने प्रावधान बीबीआईएन एमभीएमा छ ?
बीबीआईएन एमभीएले यो कुरालाई स्पष्टरूपमा उल्लेख नगरेको भए पनि एउटा देशमा दर्ता भएको सवारीसाधन अर्को देशमा सञ्चालनमा रहँदा त्यसका कामदारहरू परिवर्तन गर्न सक्ने अधिकार यातायात सञ्चालकलाई हुने गर्छ । यस्तो कार्यले कुनै प्राविधिक व्यवधान उत्पन्न नगर्ने र एउटा देशको सवारीसाधन अर्को देशमा निर्बाध सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा छ ।
एउटा देशको सवारीसाधन अर्को देशमा चलिरहँदा दुर्घटना भयो, मेशिन बिग्रियो वा तालिकाविपरीत रोकिनुपर्यो भने के हुन्छ ?
सम्झौतामा भनिएको छ कि एउटा देशको सवारीसाधन अर्को देशमा दुर्घटना भएको वा नचल्ने गरी बिग्रेको अवस्थामा त्यसका चालक दल वा आधिकारिक सञ्चालकले स्थानीय कार्यालयमा यी कुराहरूका लागि सूचना दिनेछन्:
क) सम्बद्ध देशको कानूनअनुसार आवश्यक कदम चाल्न ।
ख) यात्रु तथा चालक दललाई सुरक्षित तरीकाले गन्तव्यमा पुर्याउनका लागि आवश्यक
सहयोग प्राप्त गर्न ।
ग) यात्रु तथा चालक दलका लािग आवश्यक वा आपत्कालीन स्वास्थ्य सहायताको प्रबन्ध गर्न ।
लेखक बीबीआइएन एमभीएसम्बन्धी अध्येता हुन् ।