विराटनगर । विराटनगरको आईसीपीबाट चार किलोमीटर दक्षिण पश्चिम भारतीय क्षेत्रमा रहेको मीरगञ्ज पुल भासिएपछि भारतलगायत तेस्रो मुलुकबाट सामान लिएर आउने ट्रक तथा लरीहरू अहिले ११६ किलोमीटर पश्चिम उत्तरमा रहेको सुनसरीको भन्टाबारी नाकाबाट आउँदा २० हजार नेपाली रुपैयाँ बढी भाडा तिर्नुपरेको छ ।
नेपालको दोस्रो ठूलो नाकाका रूपमा रहेको विराटनगर जोगवानी नाकामा ७ वर्षदेखि मीरगञ्जको पुल नै निकासी पैठारीका लागि बाधक बन्दै आएको छ । तर, नेपाल सरकारले त्यहाँ फलामे पुलको साटो नयाँ पुल निर्माण गर्न लगाएर सञ्चालनमा ल्याउन सकेको छैन । उद्योगीहरूले सरकारको फितलो कूटनीतिका कारण सानो समस्या पनि समाधान हुन नसकेको गुनासो गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नेपाल भारत उद्योग वाणिज्य संघका अध्यक्ष अविनाश बोहोराले बेली ब्रिज भासिएमा तत्कालै त्यसलाई खोलेर अन्य स्थानमा सारेर वा त्यहीँ पनि एकै दिनमा बनाउन सकिन्छ । तर, नेपालको कूटनीतिक पहल नै कमजोर भएका कारण प्रत्येक वर्ष विराटनगरका उद्योगी व्यवसायीले ४ महीनासम्म ढुवानीको थप भाडा र डिटेन्सन चार्ज तिरिरहनुपरेको छ ।
उद्योग संगठन मोरङका कोषाध्यक्ष विपीन कावराले अन्तरराष्ट्रिय सिमाना आउने बाटोको पुल निर्माण गर्नसमेत नेपालको कूटनीतिक पहल पुग्न नसक्नु दुःखद भएको बताए । उनले एउटा सामान्य फलामे पुल (बेलीब्रिज) बनाउन १ दिन पर्याप्त हुने बताए ।
बेस बनिसकेको पुलमा पेच कसेर पुल बनाउने हो, जुन विश्वको सबैभन्दा सजिलो प्रविधि हो । तर, सरकारले यति जाबो काममा पनि चासो नदिँदा विराटनगरका उद्योगी व्यवसायीले त्यही पुलका कारण दुःख र घाटा बेहोर्दै आएको कावराले बताए ।
कलकत्ताबाट जोगवानी नाका हुँदै सामान मगाउँदा बढी मूल्य पर्ने भएकाले अहिले उद्योगीहरूले काँकडभिट्टालगायत अन्य नाकाबाट माल मगाउन थालेको कावराले जानकारी दिए । उनले भने, ‘धेरै घुमेर आउनुपर्छ । एक त भाडा १२ हजार भारू थप लिन्छ उता कन्टेनरको डिटेन्सन चार्ज प्रतिदिन १५० डलर तिर्नुपर्छ ।’ त्यही भएर यहाँका उद्योगी व्यवसायी विराटनगर नाकाको विकल्पमा जान बाध्य भएका छन् ।
कावरा र बोहोराले मीरगञ्जबाट ४ किलोमीटर जोगवनी भन्सार आइपुग्ने मालवाहक सवारी झन्डै २०० किलोमीटर घुमेर विराटनगर भन्सार कार्यालय आइपुग्दा औद्योगिक कच्चा पदार्थ र फिनिस्ड गुड्समा प्रतिकिलो ७५ देखि ८० पैसासम्म बढी भाडा तिर्नुपरेको बताए । उनीहरूका अनुसार यो बढी भाडा फिनिस गुड्समा जोड्दा त्यसले कडा प्रतिस्पर्धामा रहेको बजारमा समस्या आउने अथवा माल नबिक्ने हुनाले उद्योगीहरू लागत बढे पनि चुपचाप पुरानै मूल्यमा माल विक्री गर्न बाध्य छन् ।
विराट व्यापार संघका अध्यक्ष सुजन थापाले नेपाल सरकारले ४ किलोमीटर मात्रैको टाढाको पुलका लागि पहल नगर्दा अहिले उद्योगी व्यवसायी र व्यापारीहरूको माल विराटनगर आईसीपीसम्म आइपुग्न ११६ किलोमीटर घुमेर सुनसरीको भण्टाबारी नाका हुँदै आउजाउ गर्नुपर्ने बाध्यता आएको बताए । भारततिर निर्जन बस्ती हुँदै जानुपर्ने र नेपाल भित्रिएपछि पनि कतिपय स्थानमा सुरक्षा थ्रेटका बीच मालसामान ढुवानी गर्नु परिरहेको उनले बताए ।