पूर्वीक्षेत्रका उद्योगी/ व्यवसायीद्वारा संघीय सरकारको ध्यानाकर्षण  : मीरगञ्ज पुल तत्काल मरमत होस्

माघ १६, विराटनगर । यहाँका उद्योगी एवं व्यवसायीले जीर्ण मीरगञ्ज पुल तत्काल मरमत गर्न संघीय सरकारसँग माग गरेका छन् । भारतबाट विराटनगर आउने मालबाहक सवारीसाधन आवतजावतमा समस्या परेको भन्दै उनीहरुले सरकारसँग सो माग गरेका हुन् ।            पुलको अवस्था जीर्ण भएपछि सो नाकामा आउने मालबाहक सवारीसाधन सुनसरीको भन्टाबारी नाका हुँदै नेपाल प्रवेश गरिरहेकाले सयम र लागत बढी लाग्ने कारण उपभोक्ता महङ्गीको चपेटामा पर्ने भएका कारण व्यापारी र उद्योगीको ध्यान त्यसतर्फ गएको हो ।            करीब तीन महीनादेखि बिग्रिएको सो पुलको छेउमा निर्माण भइरहेको पक्की पुल धिमागतिमा निर्माण भइरहेकाले पटक–पटक सो पुलमा समस्या आउने र नेपालका पूर्वी क्षेत्रका उद्योगी एवं व्यापारी समस्यामा पर्ने गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए । उनले विराटनगर नाका जोड्ने भारतको जीर्ण अवस्थाको मीरगञ्ज पुलको स्थलगत निरीक्षण गर्दै सोबाट मोरङ–सुनसरी आर्थिक करिडोरको औद्योगिक–व्यावसायिक क्षेत्रमा सिर्जित समस्याको तत्कालै निराकरणका लागि सम्बन्धित निकायमा पहल गरोस् भनेका छन्।            अध्यक्ष रिजालले परराष्ट्र मन्त्रालयसमक्ष सो पुलको स्थायी समाधान नहुञ्जेल भारतको अररिया कुर्साकाँटा–जोगबनी सडकमार्फत ३० टनसम्मका मालबाहक सवारी आवागमनका लागि भारतीय प्रशासनले अनुमति दिनुपर्ने, सो पुलको समानान्तरमा अन्तिम चरणमा निर्माणाधीन पुललाई तीन दिनभित्र अस्थायीरूपमा सञ्चालनमा ल्याउनुपर्ने र हाल स्थगन भएको मीरगञ्ज पुलको जीर्णोद्वार कार्य तत्कालै शुरु गर्नुपर्ने माग राख्दै सोका लागि भारतीय पक्षलाई तत्कालै पहल गर्न अनुरोध गरेका छन् । रासस

सम्बन्धित सामग्री

सरकारको आँखामा नपरेको मीरगञ्ज पुल

अन्तरराष्ट्रिय व्यापारमा लागत घटाउन अनेक उपायको खोजी भइरहेको छ । त्यसमा पनि नेपालजस्तो भूपरिवेष्टित मुलुकका लागि त यो ठूलो चासोको विषय हो । तर, एउटा पुलका कारण सामान आयातनिर्यातमा भाडादर निकै बढी हुँदा र सुरक्षाको समेत समस्या हुँदा पनि सरकारको ध्यान नजानु विडम्बनाको विषय हो । विगत केही वर्षदेखि व्यवसायीले यो समस्या भोगे पनि सरकारले पुल निर्माणको विकल्पमा भारतसँग कूटनीतिक पहल गरेको पाइँदैन । निर्माणाधीन पुल छिटो बनाउन वा त्यो पुलको विकल्पमा कम लागतमा सामान ढुवानी गर्न वैकल्पिक बाटो निकाल्न ढिला गर्नु हुँदैन । विराटनगरको आईसीपीबाट चार किलोमीटर दक्षिण पश्चिम भारतीय क्षेत्रका रहेको मीरगञ्ज पुल भासिएपछि भारतलगायत तेस्रो मुलुकबाट सामान लिएर आउने ट्रक तथा लरीहरू ११६ किलोमीटर बढी घुमेर सुनसरीको भन्टाबारी नाकाबाट आउनुपरिरहेको छ । यसले गर्दा प्रतिकन्टेनर २० हजार नेपाली रुपैयाँ बढी भाडा तिर्नुपरिरहेको छ । विराटनगर जोगवानी नाकामा ७ वर्षदेखि मीरगञ्जको पुल निकासी पैठारीका लागि बाधक बन्दै आएको छ । पुल निकै पुरानो भएको र पुलको फलाममा समस्या आए पनि त्यसको समाधानमा नेपाल सरकारले चासो दिएको छैन । मीरगञ्ज भारतीय भूभाग भएकाले नेपालले त्यहाँ आफ्नो लगानीमा पुल बनाउन सक्दैन । भारतको प्राथमिकतामा त्यो क्षेत्र परेको छैन । त्यसो हुँदा मीरगञ्ज पुलको समस्या लामो समयदेखि बल्झिइरहेको छ । मीरगञ्जभन्दा ३ सय मीटर पश्चिममा भारतले पुल बनाइरहेको छ । पुल निर्माण सम्पन्न हुने अवस्थामा छ । त्यो पुल सञ्चालनका लागि विराटनगर भन्सार कार्यालयले भारतीय अधिकारीहरूलाई आग्रह गरे पनि भारतले चासो दिएको छैन । त्यो निर्माणाधीन पुल तत्कालै सञ्चालनमा आउन सक्ने बताइन्छ । यसका लागि सरकारले भारतसँग कूटनीतिक च्यानलबाट आग्रह गर्नुपर्छ । व्यवसायीहरूले पुलका विषयमा सरकारको ध्यानाकर्षण पनि गराएकै हुन् । भन्सार कार्यालयले पनि पुल भासिँदा परेको समस्या अवगत गराएको देखिन्छ । भारतसँग पुलको समस्या बताएको भए भारतले निर्माणाधीन पुल छिटो सक्छ कुनै गाह्रो देखिँदैन । अर्बौंका ठूला आयोजना केही महीनामै सम्पन्न गर्ने भारतका लागि यो पुल निर्माण निकै सानो कुरा हो । उसले चाहे केही महीनामै यो बन्न सक्छ । यसमा नेपालले कूटनीतिक पहल नगरेको वा कमजोर देखिएको छ । नेपालसँगको व्यापार सहज र सस्तो बनाउनु उसका लागि पनि लाभदायी नै हुन्छ । अतः यसमा सरकारले पहल नगरेको नै देखिन्छ । मीरगञ्ज पुल निकै पुरानो हो । त्यसैले यो जीर्ण हुनु स्वाभाविक हो । सम्भवतः भारतीयहरूले यो पुल निकै कम प्रयोग गर्छन् । त्यही भएर त्यहाँको सरकारको प्राथमिकतामा नपरेको हुन सक्छ । तर, पूर्वी नेपालका लागि भने यो पुल जीवनरेखा नै हो । आफ्नो आवश्यकता भएपछि नेपालले भारतसँग कूटनीतिक पहल थाल्नुपथ्र्यो तर त्यसो भएको पाइँदैन । भारतले विराटनगर आईसीपीसम्म रेल ल्याउने कुरा पनि चलेको थियो । वीरगञ्जमा यस्तो रेल आउन थालिसकेको छ । विराटनगरमा पनि यो आउन सक्छ । तर, रेल नआउन्जेलका लागि भए पनि त्यहाँको पुल बनाउने पहल थाल्न ढिला गर्नु हुँदैन । अहिले भारतले लिपुलेकमा सडक निर्माण गरिरहेकाले भारतसँगको सम्बन्धमा केही समस्या पैदा भएको छ । तर पनि पुल बनाउनका लागि भारतलाई आग्रह गरे उसले अस्वीकार नगर्न सक्छ । जेहोस्, मीरगञ्ज पुलको वैकल्पिक मार्ग बनाउनुपर्छ किनभने काँकडभिट्टाबाट आउन पनि कठिन छ । त्यस रूटमा ठूलाठूला मालवाहक गाडी हिँड्न मिल्ने खालको बाटो पनि छैन । त्यसैले निर्माणाधीन पुल छिटो बनाउन वा त्यो पुलको विकल्पमा कम लागतमा सामान ढुवानी गर्न वैकल्पिक बाटो निकाल्न ढिला गर्नु हुँदैन ।