पुस २१, चितवन । चितवनमा सेवा दिइरहेका ईन्टरनेट सेवा प्रदायक कम्पनी(आईएसपी) हरुले विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रलाई करीब १ करोड रुपैयाँ पोल प्रयोग गरेको भाडा तिरेका छन ।
कार्यालयका अनुसार १४ ओटा ती सेवा प्रदायक कम्पनीले भदौयता ९६ लाख ८४ हजार ७९ रुपैयाँ भाडा तिरेका हुन् । कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलले बक्यौता रहेका ती कम्पनीहरुले भदौ पछि उक्त रकम तिरेको जानकारी दिए ।
पोल भाडा बक्यौता तिर्नेमध्ये सबैभन्दा बढी पोल भाडा चित्रवन युनिक केवल रहेको छ । उक्त केवलले ३० लाख ५५ हजार ६८ रुपैयाँ र सबैभन्दा कम पीडीएस सर्भर नेटवर्कले २५ हजार ४२५ रुपैयाँ बक्यौता तिरेको छ ।
यसैगरी कनेक्ट नेपालले १ लाख ७७ हजार ९७५रुपैयाँ, त्रिवेणी केवल नेटवर्कले १ लाख ९३ हजार ८०० रुपैयाँ, प्राइम नेटवर्कले २ लाख ३ हजार ४०० रुपैयाँ, फाइवर वल्र्ड कम्यूनिकेसन प्रालिले १ लाख २२ हजार ४० रुपैयाँ र ब्रोडलिंकले १ लाख १हजार ७०० रुपैयाँ पोल भाडा तिरेका छन ।
अन्य बक्यौता तिर्ने आईएसपी कम्पनीहरुमा वेबसर्फरले ३ लाख ५ हजार १०० रुपैयाँ, डिसहोमले ६ लाख ६१ हजार ५० रुपैयाँ, सुबिसु नेटवर्कले २२ लाख २४ हजार ६६ रुपैयाँ, टेक माईन्डस कम्युनिकेशसनले २० लाख रुपैयाँ र एक्जिएटा एनसेल कम्पनीले ८५ हजार ४२८ रुपैयाँ तिरेको उनले जानकारी दिए ।
यस्तै दुई कम्पनीले स्वघोषणा गरी पोड भाडा तिरेका छन । ती मध्ये एक कम्पनीले १ लाख ११ हजार ४८७ रुपैंया र अर्को स्वघोषणा गरी बुझाउने कम्पनीले ४ लाख १७ हजार ५४० रुपैंया पोल भाडा बुझाएका छन । स्वघोषणा गर्ने कम्पनीले कार्यालयसंँग समन्वय नगरी बैंकमा सिधै रकम जम्मा गरेकोले नाम नखुलेको उनले बताए ।
अन्य बक्यौता ताकेता गरेसँगै आउने क्रम रहेको र सम्झौता अनुसारनै पोल भाडा तिरिएको पौडेलले बताए । हालसम्म सबै इन्टरनेट सेवा प्रदायक कम्पनीले ६० लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बांँकी रहेको कार्यालयले बताएको छ ।
लामोसमयपछि पनि आईएसपीहरुले प्राधिकरणलाई बक्यौता तिर्न अटेर गरेपछि कार्यालयले असोजमा उनीहरुको इन्टरनेट सेवाका उपकरणहरु जफत गर्ने र तार काटिदिएको थियो ।