काठमाडौं (अस) । एनएमबि बैंक र दराज अनलाइनबीच छूटसम्बन्धी सम्झौता भएको छ । नयाँ वर्षको अवसरमा बैंक ग्राहकले दराज अनलाइनमार्फत सामान खरीद गर्दा छूट उपलब्ध गराउनेबारे दुवै संस्थाबीच बुधवार सम्झौता भएको हो ।
बैंकका ग्राहकले दराज अनलाइनमार्फत सामान खरीद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छूट पाउने बैंकले जानकारी दिएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरशिप प्रमुख अरुण फुँयालले हस्ताक्षर गरेका छन् । बैंकका कार्ड प्रयोगकर्ता उक्त छूट अवसरमा चैत २८ गतेदेखि सहभागी हुन सक्नेछन् ।
दराजबाट सामान खरीद गरी डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा १० प्रतिशत तथा १ हजार रुपैयाँ र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत तथा १ हजार ५०० रुपैयाँ छूट उपलब्ध गराइने बताइएको छ ।