पालिकाले दिवा खाजाको व्यवस्था गरेपछि विद्यालय छाड्ने दर घटेको छ । रम्भा गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेसँगै विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीका लागि खाजाको व्यवस्था गरिएको हो । सङ्घीय सरकारले बालकक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दैनिक १५ रुपियाँ अनुदान दिएको छ । रम्भा गाउँपालिकाले ६ देखि ९ कक्षासम्मका विद्यार्थीका लागि दैनिक २० रुपियाँको खाजा खुवाउने गरेको रकमादेवी आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक विष्णुप्रसाद बस्यालले बताउनुभयो । गाउँपालिकाले माथिल्लो कक्षाका विद्यार्थीलाई समेत दिवा खाजाको व्यवस्था गरेपछि विद्यार्थी खुसी हुँदै नियमित विद्यालयमा आउने गरेको बस्यालले बताउनुभयो । दिवा खाजाले माथिल्लो कक्षामा विद्यालय छाड्ने दर कम हुँदै गएको उहाँले बताउनुभयो ।