लोडशेडिङ अन्त्य भइसकेपछि  किन प्रिमियम महशुल ?

वीरगञ्ज । लोडशेडिङ अन्त्य भइसकेपछि electricity आपूर्ति लिएका र डेडिकेटेड लाइन माग नै नगरेका औद्योगिक ग्राहकसँग नेपाल विद्युत् प्राधिकरणले प्रिमियम दरको महशुल लगाएर अहिले करौडौं रुपैयाँ बक्यौता देखाएको प्रति बारा–पर्साका उद्यमीले आपत्ति व्यक्त गरेका छन् ।  उद्योगीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर प्राधिकरणको प्रक्रियागत कमजोरीको भार औद्योगिक ग्राहकमाथि थोपर्ने काम भएको बताएका हुन् । वीरगञ्ज उद्योग वाणिज्य संघको टोलीले ऊर्जामन्त्रीलाई भेटेर प्राधिकरणले उद्योगीमाथि अन्याय गरेको गुनासो गरेका छन् ।  Load shedding अन्त्य भएको २ वर्षपछि २०७७ असारमा विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन खारेज गरेर सामान्य महशुल दर तोकेको थियो । यही २ वर्षको बीचको महशुल विवादित छ । लोडशेडिङकै समयमा पनि Dedicated line माग नगरेका उद्योगले प्रिमियम महशुल नतिर्ने बताइरहेका छन् ।  ‘जसले डेडिकेटेडबाट आपूर्ति माग गरेको थियो, त्यस्ता उद्योगलाई प्रिमियम दरको महशुल तिराए पनि माग नै नगरेकालाई तिराउन खोज्नु अन्याय हो,’ उद्यमीले भने ।  उद्योगीहरूले माग नै नगरेको डेडिकेटेड महशुल नतिर्ने बताएर सामान्य दरको हिसाबले रकम बुझाइरहेका छन् । प्राधिकरणले त्यस्तो रकमलाई बक्यौता मानेको छ ।  ‘लोडशेडिङ अन्त्यसँगै NEPAL ELECTRICITY AUTHORITY को विनियमावली पनि संशोधन गर्नुपर्ने थियो । तर, उसले उल्टै त्यसयता विद्युत् माग गरेका ग्राहकसँग पनि प्रिमियम दरको ६५ प्रतिशतसम्म महँगो महशुल दर लगायो,’ उपाध्यक्ष राजपालले भने, ‘विगतमा डेडिकेटेड माग नै नगरेका र लोडशेडिङ अन्त्य भइसकेपछिका ग्राहकको नाममा देखाइएको बक्यौता मिनाहा हुनुपर्छ ।’ लोडशेडिङ अन्त्य भई डेडिकेटेड लाइनको औचित्य नै सकिएको अवस्थामा त्यसयता आपूर्ति लिएका ग्राहकसँग प्रिमियम महशुल असुल्न खोज्नु अनुचित भएको उद्यमीको भनाइ छ । उद्योगीसँगको भेटमा मन्त्री बस्नेतले प्राधिकरण र उद्योगीबीचको यो विवादबारे आफू जानकार रहेको बताए । मन्त्री बस्नेतले समस्याको निकासका लागि पहल गर्ने आश्वासन दिएको उपाध्यक्ष राजपालले जानकारी दिए ।  विद्युत् प्राधिकरणको प्राविधिक र प्रक्रियागत कमजोरीका कारण उत्पन्न समस्याको भार उद्योगमाथि थोपर्नु अन्याय भएको उद्योगीको तर्क छ । प्राधिकरणले २०७५ जेठ १ गतेदेखि औद्योगिक क्षेत्रमा लोडशेडिङ अन्त्य गरेको थियो । प्राधिकरणले विद्युत् महशुल संकलन विनियमावली २०७३ संशोधन नभएको भन्दै त्यसयता २ वर्षसम्म डेडिकेटेड र टं«क लाइनको प्रिमियम दरको महशुल लगाउँदा समस्या भएको संघका उपाध्यक्ष माधव राजपालले बताए । #abhiyandaily #aarthikabhiyan #newbusinessage #hydropower #electricity

सम्बन्धित सामग्री

किन अड्कियो डेडिकेटेड–ट्रंक लाइन विवादको निकास ?

वीरगञ्ज । सरकार र नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत् महशुलको लफडालाई ‘अनिर्णयको बन्दी’ बनाएको निजीक्षेत्रले बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजीक्षेत्रसँगको भेटमा विद्युत् महशुल निर्धारण आयोगले महशुल तोक्नुअघि र औद्योगिक क्षेत्रमा लोडशेडिङ अन्त्य भएयताको महशुलमा प्रिमियम शुल्क नलाग्ने बारम्बार दोहोर्‍याए पनि सो विषय कार्यान्वयनमा नआउँदा निकास कचल्टिएको उद्योगीहरूले बताएका हुन् ।   तत्कालीन उर्जा सचिव दिनेश घिमिरे संयोजकत्वको समितिले समेत २०७२ पुस २९ गते विद्युत् महशुल निर्धारण आयोगले प्रिमियम महशुल निर्धारण गरेकाले त्यसअघिको महशुलमा प्रिमियम लिन नमिल्ने सुझाएको थियो । समितिले लोडशेडिङ अन्त्य भएपछि २०७५ जेठयताको महशुलमा पनि यो शुल्क लिन नहुने बताएको थियो । विद्युत् नियमन आयोगले पनि यही ठहर गर्दै २०७७ असारमा डेडिकेटेड र ट्रंक लाइन खारेज गरेको थियो । सरकार, सरकारले गठन गरेका समिति, अयोग सबैले यो अवधिवाहेकको महशुलमा मात्र प्रिमियम शुल्क तिर्नुपर्नेमा बताइरहँदा उद्योगी समेत यो सर्तमा सहमत देखिन्छन् । तर, सरकारले यसबारेमा द्रुतमार्गबाट निर्णय नगर्दा समस्याले निकास पाउन नसकेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले बताएका छन् । ‘उद्योग बन्द गरेर समस्या झन् गम्भीर बन्दै जान्छ । उद्योगमा तत्काल लाइन जोडेर महशुल भुक्तानीको लागि सरकारले सहज वातावरण बनाइदिनु पर्दछ,’ अग्रवाललको भनाइ छ ।  प्रधानमन्त्रीले उद्योगीलाई आश्वासनमात्र दिने र प्राधिकरणले लाइन काट्दै जाने अवस्थाले औद्योगिक क्षेत्रका अशान्तिका संकेत देखिएको संघले बताएको छ । लाइन काटिएका २३ मध्ये ८ ओटा ठूला उद्योग बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेको र २ हप्ताभन्दा लामो समयदेखि उत्पादन बन्द हुँदा कतपिय उद्योगका कामदार सडकमा उत्रिएको संघका उपाध्यक्ष माधव राजपालले बताए ।  समस्याको निकासमा सरकारी ढिलाइले उत्पादन, रोजगारी, राजस्व, विद्युत् खपत घटेको दाबी उनले गरे । तर, प्राधिकरणले कति उद्योगलाई २०७० सालदेखि र कतिपयलाई २०७७ असारसम्म प्रिमियम महशुलको बील पठाएको उद्योगीहरूले बताएका छन् । प्राधिकरणले यस्ता उद्योगसँग २२ अर्ब रुपैयाँभन्दा बढी रकम उठाउनुपर्ने बताए पनि यो रकममा प्रमियम दर तोकिनुअघि र लोडशेडिङ अन्त्य भइसकेपछिको रकम बढी भएको प्राधिकरणकै तथ्यांकले देखाउँछ । त्यसमा जरीवाना र ब्याजसमेत जोडिएको छ ।  प्रधानमन्त्रीले यो समयको महशुलमा ६५ प्रतिशत महँगो प्रिमियम शुल्न नलाग्ने बताएकाले यो निर्णय कार्यान्वयनमा आएमा दुई तिहाईजति रकमको विवाद स्वत : समाधान हुने दाबी उद्योगीको छ । प्राधिकरणले ६० किस्तामा महशुलन तिर्न सक्ने बताइसकेकाले महशुल तोक्नुअघि र लोडशेडिङ अन्त्य भइसकेपछिको रकम र जरीवाना हटाउनेवित्तिकै अधिकांश उद्योगले लाइन जोडाएर उद्योग चलाउने दाबी उद्योगीको छ ।  प्राधिकरणले कति उद्योगलाई २०७० सालदेखि र कतिपयलाई २०७७ असारसम्म प्रिमियम महशुलको बील पठाएको उद्योगीहरूले बताएका छन् । यस्तो रकम नतिर्ने अडान उद्योगीहरूको छ । कतिपय उद्योगीले आफूहरूले डेडिकेटेड र ट्रंक लाइन माग नगरेको र लोडशेडिङ पालन गरेको भन्दै टाइम अफ डे (टीओडी) मीटरको डाटा देखाउन चुनौती दिएका छन् । प्राधिकरणले यस्तो डाटा मेटिएको बताउँदै आएको छ ।  लोडशेडिङको समयमा डेडिकेटेडको सुविधा उपभोग गरेकाले प्रिमियम महशुल तिर्नुपर्ने भए पनि उपयोग नगरेकालाई जबर्जस्ती तिराइन नहुने नेपाल उद्योग वाणिज्य महासंघ व्यापार समितिका अध्यक्ष सुवोधकुमार गुप्ता बताउँछन् । ‘प्राधिकरणले टीओडीको डाटा छैन भन्न मिल्दैन । जसले उपयोग गरेर पनि तिर्दिन भनेको छ भने डाटा देखाएर विद्युत चोरीमा कारवाही गर्दा हुन्छ । तर, उपयोग नै नगरेकालाई जबर्जस्ती तिराउनु अन्याय हुन्छ,’ गुप्ताले भने ।

डेडिकेटेड–ट्रंक लाइन विवाद : २४ घण्टाभित्र लाइन जोड्न व्यवसायीको माग

वीरगञ्ज । डेडिकेटेड र ट्रंक लाइनको महशुल विवाद तत्काल समाधान गरी उद्योग सञ्चालनको वातावरण बनाउन बारा र पर्साका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघ, बारा उद्योग वाणिज्य संघ र जितपुरसिमरा उद्योग वाणिज्य संघले संयुक्त विज्ञप्तिमार्फत यस्तो आग्रह गरेका हुन् ।  नेपाल विद्युत् प्राधिकरणले महशुल बक्यौता देखाएर लाइन काटेपछि बारा पर्सा औद्योगिक कोरिडोरमा आठओटा ठूला उद्योग बन्द भएको र त्यहाँ कार्यरत मजदूर कर्मचारी सडकमा उत्रिन थालेको उनीहरूको भनाइ छ । यसबाट निम्तिन सक्ने असहजताप्रति संवेदनशील बन्न उनीहरूले सरकारलाई आग्रह गरे । मंगलवार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले लाइन काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्न आग्रह गरे । ‘उद्योग बन्द गरेरमात्र समस्याको समाधान निस्किने होइन । उद्योगमा लाइन जोडेर पनि निकासका लागि छलफल गर्न सकिन्छ ।’ आर्थिक मन्दीले उद्योग थला परेको बेला प्राधिकरणको कदमले औद्योगिक वातावरण झन् बिगारेको अध्यक्ष अग्रवालको दाबी छ ।  ‘विद्युत् प्राधिकरणको असान्दर्भिक र अव्यावहारिक नीतिले यतिबेला औद्योगिक ग्राहक अन्याय र अन्योलमा परेका छन् । प्राधिकरणले अहिलेसम्म २३ ओटा उद्योगको लाइन काटिसकेको छ । तीमध्ये पर्सा/बारा औद्योगिक कोरिडोरका आठ ठूला उद्योग पनि छन् । लाइन काटिएका उद्योगको उत्पादन बन्द हुँदा कामदार सडकमा उत्रिएको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक मन्दीले उद्योग व्यापार धराशयी हुने अवस्थामा पुगेका बेला प्राधिकरणको कदमले एकातिर उत्पादनलाई अनिश्चित बनाएको छ भने अर्कातिर औद्योगिक वातावरण बिगार्ने जोखिम बढेको छ ।’  अध्यक्ष अग्रवाल, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह र जितपुरसिमराका अध्यक्ष मोहन शर्माले निकालेको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उद्योगीहरूले डेकिकेटेड र ट्रंक लाइनबाट खपत गरेको महशुल तिर्दैनौं कहिल्यै भनेका थिएनन्, अहिले पनि भनेका छैनन् । उपभोग नै नगरेको विद्युत्को महशुल जबरजस्ती तिराउन खोजिनुचाहिँ अन्यायपूर्ण हो भन्नेमात्रै निजीक्षेत्रको अडान हो ।’  वीरगञ्ज उद्योग वाणिज्य संघ, बारा उद्योग वाणिज्य संघ र जितपुरसिमरा उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बद्ध संस्थाका पदाधिकारी ।  प्रधानमन्त्रीले उद्योगीहरूलाई उच्चस्तरीय समिति बनाएर समस्याको निकास दिने र महशुल निर्धारण आयोगको सुझावअनुसार महशुल असुल गरिने बताइरहँदा प्राधिकरणले धमाधम लाइन काटेर उद्योग बन्द गराउनुलाई उद्योगीहरूले सरकारको द्वैध नीतिको संज्ञा दिएका छन् । तत्कालीन ऊर्जा सचिव दिनेश घिमिरे संयोजक रहेको समितिले महशुल निर्धारण अयोगले शुल्क तोक्नुअघि (२०७२ पुस २९ अघि) र देश लोडशेडिङमुक्त भइसकेपछि (२०७५ वैशाखपछि) महशुलमा प्रिमियम शुल्क लिन नमिल्ने सुझाव दिएको थियो । डेडिकेटेड र ट्रंक लाइनको महशुलसम्बन्धी मूल विवाद यही समयको हो ।  नेपाल उद्योग वाणिज्य महासंघ व्यापार समितिका सभापति सुबोधकुमार गुप्ताले लोडशेडिङमा डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् खपत गरेको हो भने टीओडी मीटरको डाटा हेरेर तिराउन प्राधिकरणलाई चुनौती दिए । ‘तर, यसमा प्राधिकरणले बलमिच्याइँ गरिरहेको छ । सरकारले समस्या सुल्झाउनुपर्नेमा प्राधिकरणको मनपरीलाई समर्थन गरेजस्तो देखियो,’ गुप्ताले भने, ‘जसले खपत गरेको हो उसले तिर्नुपर्छ । खपत नगरेकालाई जबरजस्ती गर्न मिल्दैन ।’ प्राधिकरणले औद्योगिक क्षेत्रमा लोडशेडिङ हटाइसकेपछि पनि प्रिमियम शुल्क लगाएको संघका उपाध्यक्ष माधव राजपालले बताए । ‘२०७२ पुस २९ अघि र २०७५ वैशाखपछिको महशुल र डेडिकेटेड/ट्रंक माग्दै नमागेका, लोडशेडिङ पालन गरेका उद्योगले तिर्दिन भन्नु स्वाभाविक छ,’ उपाध्यक्ष राजपालले भने, ‘लोडशेडिङ पालन गरेका उद्योगले प्राधिकरणले टीओडी मीटरको डाटाबाट विद्युत् खपत प्रमाणित गरिदिए महशुल तिर्छौं भनिरहेको बेला सरकार र प्राधिकरण तत्काल समस्या समाधानको बाटोमा नगएर बल्झाउने काम गरे ।’

निकास उन्मुख डेडिकेटेड–ट्रंक लाइन विवाद : प्राधिकरणको एकाधिकार तोड्न आवश्यक

नेपाल विद्युत् प्राधिकरण र निजीक्षेत्रका केही उद्योगीबीच डेडिकेटेड फिडर र ट्रंक लाइनबापतको महशुल विवाद अहिले चरम उत्कर्षमा छ । करीब १ दशकदेखि कचिल्टिरहेको यो विवाद प्राधिकरणले धमाधम लाइन काट्न थालेपछि अब निकास पाउने हो कि भन्ने लाग्न थालेको छ । केही समय अघिसम्म उद्योगीको पक्षबाट लाइन नकाट्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिनुभएका प्रधानमन्त्री पुष्कमल दाहालबाटै लाइन काट्न निर्देशन पाएपछि प्राधिकरणले अहिलेसम्म नौओटा उद्योगको लाइन काटिसकेको छ । यसबीचमा उद्योगी र प्राधिकरणका अधिकारीहरूको अभिव्यक्ति हेर्दा उनीहरू समस्यालाई लम्ब्याउन होइन, सल्ट्याउन चाहेको प्रतीत हुन्छ । अहिलेसम्म प्राधिकरण र उद्यमी आआफ्नै अडानमा कायम रहेकोमा लाइन काटिएपछि दुवै अडानबाट एक कदम पछि हटेर निकास उन्मुख भएका छन् । प्राधिकरण करीब २२ अर्ब रुपैयाँको बक्यौता सूचीबाट ७ अर्ब रुपैयाँको हाराहारीमा आइसकेको छ भने उद्योगीहरू लोडशेडिङ अन्त्य भएयताको महशुलमा प्रिमियम नतिर्ने र उपभोग गरेको हदसम्म तिर्न तयार भएको अवस्था छ । दुवै पक्ष निकासको ‘मध्यमार्गी बाटो अपनाउन तयार रहेको’ अहिलेको यो लचकता विवाद निरूपणको प्रस्थानबिन्दु हुन सक्छ/बनाइनुपर्छ । अब पनि कुनै बहानामा निकास अवरुद्ध बनाइने हो भने अन्यहीन विवादमात्र होइन, उत्पादन र रोजगारीका लागि प्रत्युत्पादक हुन सक्छ भन्नेमा पनि सतर्क हुन जरुरी छ ।  अर्को, अहिले बारा–पर्सा कोरिडोरलगायत स्थानमा लाइन काटिएर उत्पादन बन्द भएका उद्योगका मजदूर कर्मचारी सडकमा उत्रिएको अवस्थामा यो विवादलाई चाँडो समाधान नगर्ने हो भने यो औद्योगिक, सामाजिक अशान्तिको बीउ बन्न सक्छ । यस्तै ससाना घटनाक्रमलाई उचित तरीकाले सम्बोधन गर्न नसक्दा नै त्यसबाट उत्पन्न हुने असन्तोष आक्रोशमा रूपान्तरित हुँदै सत्ता र व्यवस्था परिवर्तनसम्ममा टुंगिएका उदाहरणहरूको कमी छैन । चौतर्फी आर्थिक संकट, यसप्रति चरम निराशा र असन्तुष्टि मडारिइरहेको अहिलेको अवस्थामा सानै कारणले पनि त्यो असन्तुष्टि विस्फोट हुन सक्छ भन्नेमा राजनीतिक चेतको खाँचो छ ।  जतिखेर देशमा चरम लोडशेडिङ थियो, आमजनता १८ घण्टासम्म विद्युत्विहीन अवस्थामा बाँचेको थियो । उद्योग कलकारखाना पनि प्रभावित थियो । तर, केही उद्योगहरू, जसले प्राधिकरणको माथिल्लो भोल्टेज (६६ केभी वा त्योभन्दा माथिको प्रसारण लाइन) बाट आपूर्ति लिएका थिए । त्यस्ता उद्योगले लोडशेडिङ पालना नगरे पनि हुने अवस्था थियो । यसमा उद्योगको मात्र दोष होइन, समस्या प्राधिकरणको कमजोर प्रणालीमा थियो । यस्तो प्रसारण लाइनबाट आपूर्ति लिएका ग्राहकले आफ्नै सबस्टेशन बनाउनुपर्ने अवस्था थियो ।  अहिले पनि माथिल्लो भोल्टेजबाट आपूर्ति लिनेले यो पूर्वाधार स्वयम् बनाउनुपर्छ, प्राधिकरणले बनाएर दिँदैन । उद्योगी आफैले बनाएको सबस्टेशनबाट उद्योगमा लाइन दिने/नदिने उद्योगीकै हातमा थियो, यस्तोमा लोडशेडिङ पालन गर्ने कि नगर्ने पनि उद्योगीकै इच्छामा भरपर्ने कुरा भयो । यसमा प्राधिकरणले आग्रहमात्र गर्न सक्ने भयो, नियन्त्रण रहने भएन । यस्तो अवस्थामा प्राधिकरणका कतिपय कर्मचारी र उद्योगीको मिलेमतोमा लोडशेडिङ पालना नगरेका तथ्यहरू पनि बाहिर आएका थिए ।  समग्र विवादको जड, विद्युत् व्यापारमा नेपाल विद्युत् प्राधिकरणको एकाधिकार र यसको आडमा मौलाएको मनपरी नै हो । बजारमा प्रतिस्पर्धी नै नभएपछि के हुन्छ ? न प्रविधि अद्यावधिक हुन्छ, न ग्राहकको सन्तुष्टिलाई नै प्राथमिकतामा राखिन्छ, न गुणस्तरीय सेवा दिनुपर्छ । ग्राहकमाथि अव्यावहारिक शर्त जति थोपरे पनि भयो ।  यस्तो दुरुपयोग २०७० सालदेखि नै भइरहेको भए पनि प्राधिकरणले २०७२ सालमा दैनिक २० घण्टाभन्दा बढी विद्युत् खपत गर्न चाहने उद्योगका लागि माथिल्लो भोल्टेजबाट प्रिमियम दरमा डेडिकेटेड र ट्रंक लाइनबाट आपूर्ति दिने सूचना निकालेर आवेदन मागगरेपछि त्यसैवर्ष साउनदेखि केही उद्योगले यो शर्तमा विद्युत् खपत गरे । यस्तो विद्युत् उपभोग गर्नेमा बढी ऊर्जा खपत गर्ने प्रकृतिमा सिमेन्ट, फलामलगायत उद्योग थिए । प्राधिकरणले अस्पताल, कारागारलगायत क्षेत्रमा पनि यस्तै लाइनबाट आपूर्ति दिएको थियो । तर, प्राधिकरणले यसको महशुल दर भने २०७२ पुुसमा मात्रै निर्धारण गरेको थियो । कतिले यो सुविधा लिएर महशुल तिरेका पनि छन् । कतिले उपयोग गरेर पनि महशुल तिर्न अनेक बहानाबाजी गरिरहेको पनि सत्य हो । तर, माथिल्लो भोल्टेजबाट आपूर्ति लिएर पनि डेडिकेटेड र ट्रंक लाइनको सहुलियत नलिएको दाबी गर्दै महशुल नतिर्ने उद्योग पनि छन् ।  नेपाल विद्युत् प्राधिकरणले २०७० सालदेखिकै रकम जोडेर बील पठाएको र लोडशेडिङ अन्त्य भइसकेपछि पनि २ वर्षसम्म ६५ प्रतिशतसम्म महँगो प्रिमियम बिल जोडेर पठाइरहेकाले त्यस्तो बील तिर्न नसक्ने उद्योगीको अडान अहिले पनि छ । यो अडान शत प्रतिशत गलत छ भन्ने होइन । जसले लोडशेडिङको समयमा विद्युत् खपत गरेको छैन र लोडशेडिङ अन्त्य भइसकेपछि आपूर्ति लिएका छन् वा त्यसयताको बीलमा प्रिमियम तिराउन खोज्नु अन्याय हुन जान्छ । यसमा तत्काल उचित निकाससहित विवादलाई किनारा लगाउनुपर्छ । तत्कालीन सचिव दिनेशकुमार घिमिरे संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा पनि २०७२ माघदेखि २०७५ वैशाखसम्मको ट्रंक र डेडिकेटेड लाइनको महशुलमा मात्रै प्रिमियम दरमा लिन सुझाएको थियो । २०७५ जेठ १ देखि लोडशेडिङ अन्त्य भए पनि प्राधिकरणले विद्युत् महशुल संकलन विनियमावली संशोधन नभएको भन्दै २०७७ असारसम्म प्रिमियम दरको विद्युत् महशुलसहितको बिल पठाइरहेको थियो । यतिसम्म कि, २०७५ जेठपछि आपूर्ति लिएका ग्राहकलाई समेत यस्तो बिल आइरहेको थियो । यो सबै रकम घटाउँदा प्राधिकरणले २२ अर्ब रुपैयाँ भनेको बक्यौता १ तिहाइभन्दा पनि कम अर्थात् ७ अर्बमा सीमित हुने प्राधिकरणकै अधिकारीहरूको भनाइ सार्वजनिक भएको अवस्थामा सरकारले मन्त्रिपरिषद्बाट घिमिरे समितिको प्रतिवेदनका आधारमा निर्णय हुने हो भने समस्याले निकास पाउन सक्छ । प्राधिकरणका उच्च पदस्थ अधिकारीहरू पनि समस्यालाई अब बढी गिजोल्ने पक्षमा छैनन् । सरकारले निर्णय गरिदिए ७ अर्ब असुलेर निकास दिने पक्षमा देखिएका समाचार सञ्चारमाध्यममा आइरहेका छन् ।  यो समग्र विवादको जड, विद्युत् व्यापारमा नेपाल विद्युत् प्राधिकरणको एकाधिकार र यसको आडमा मौलाएको मनपरी नै । बजारमा प्रतिस्पर्धी नै नभएपछि के हुन्छ ? न प्रविधि अद्यावधिक हुन्छ, न ग्राहकको सन्तुष्टिलाई नै प्राथमिकतामा राखिन्छ, न गुणस्तरीय सेवा दिनुपर्छ । ग्राहकमाथि अव्यावहारिक शर्त जति थोपरे पनि भयो । ‘खाए खा नखाए घिच्’ भन्ने आहानलाई प्राधिकरणले टपक्क टिपेको आभास हुन्छ । आज कुनै पनि ग्राहकले अतिरिक्त रकम नबुझाएसम्म सेवा पाउन सक्ने स्थिति छैन । ग्राहकको सन्तुष्टि परै जाओस्, प्राधिकरणका कर्मचारीलाई रिझाएर सेवा लिनुपर्ने बाध्यता आमग्राहकसँग छ ।  अझ, औद्योगिक ग्राहक भन्नेबित्तिकै कर्मचारीले काम अल्झाउने र मोटो अनधिकृत आय नलिई कामै नगरिदिने गुनासो आजको होइन, जति नै सुधार र पारदर्शिताको कुरा गरे पनि भुइँ तहमा अवस्था आज पनि उस्तै छ । आजको विश्व व्यापार ग्राहकको सन्तुष्टिमुखी भइरहँदा विद्युत् प्राधिकरण यस्तो निकाय बनेको छ, जहाँ ग्राहक जति थिचोमिचो सहेरै भए पनि त्यहीबाट सेवा लिन लाचार छन् । आज प्राधिकरणको अर्को प्रतिस्पर्धी हुँदो हो त १० वर्षसम्म प्रिमियम महशुलको विवाद पक्कै तन्किने थिएन । आवश्यक पर्ने नियम कानून तत्कालै सुधार/संशोधन गरेर ठीक गरिन्थ्यो । तात्पर्य, विद्युत् व्यापारलाई व्यवस्थित बनाउने हो र भविष्यमा यस्ता विवाद नआऊन् भन्ने हो भने यसलाई प्रतिस्पर्धी बनाउनैपर्छ । यो प्राधिकरणको दक्षता अभिवृद्धि र कर्मचारीको गलत रवैया सुधारको प्रस्थानबिन्दु बन्न सक्छ ।  ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।

‘न्यायोचित निकास देऊ’

वीरगञ्ज। वीरगञ्जका उद्यमीले यो विवादको ‘न्यायोचित निकास निकाल्नुपर्ने’ बताएका छन् । औद्योगिक ग्राहकले विद्युत् खपत गरेको महशुल तिर्नुपर्नेमा विवाद नरहेको तर महशुल असुल्ने नाममा डेडिकेटेड र ट्रंक लाइन माग नै नगरेका उद्योगको लाइन काटेर अन्याय गर्न नहुने उनीहरूको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले ६३ उद्योगले २१ अर्ब ८७ करोड रुपैयाँ महशुल तिर्न बाँकी रहेकाले लाइन काट्ने अभियान थालिएको र शुरूमा बढी रकम बक्यौता राख्नेको विद्युत् आपूर्ति काटिएको बताएको छ ।  हिलेसम्म नौओटा ठूला उद्योगका लाइन काटेको छ । लोडशेडिङको समयमा प्राधिकरणसँग २० घण्टाभन्दा बढी अवधि विद्युत् उपभोगका लागि सम्झौता गरेका ग्राहकसँग महशुल लिनु स्वाभाविक भए पनि माग नै नगरेका र लोडशेडिङ अन्त्य भइसकेपछिको आपूर्तिमा उक्त महशुल लगाउनु अन्याय हुने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले बताए । ‘प्राधिकरणले पहिला ती उद्योगले त्यस्तो सहुलियत मागेको र लोडशेडिङको समयमा विद्युत् खपत गरेको प्रमाण सार्वजनिक गर्नुपर्छ,’ अग्रवालले भने ।  उद्योग, व्यापार क्षेत्र समस्यामा रहेका बेला प्राधिकरणले पारदर्शी तरीकाले महशुल असुल्ने नीति लिनुपर्ने उद्योगीको माग छ । प्राधिकरणले लोडशेडिङ अन्त्यपछि आपूर्ति लिएका ग्राहकलाई पनि २ वर्षसम्म प्रिमियम दरमा बिल पठाएको भेटिएको छ । २०७५ जेठमा लोडशेडिङ अन्त्य भएको थियो । प्राधिकरणले विद्युत् महशुल संकलन विनियमावली २०७७ असारमा संशोधन गरेको थियो । विद्युत् नियमन आयोगले डेडिकेटेड फिडर र ट्रंक लाइन खारेज गरेर सामान्य महशुल दर नतोक्दासम्म प्राधिकरणले प्रिमियम भन्दै सामान्यको तुलनामा ६५ प्रतिशत बढी महशुलको बिल पठाएको उद्योगीहरूको भनाइ छ ।  लोडशेडिङ हटिसकेपछि सामान्य लाइनबाट आपूर्ति माग गरेर पनि प्रिमियम दरको बिल थमाइएका ग्राहकले यस्तो रकम नतिर्ने अडान लिनु स्वाभाविक भएको संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले बताए । यो विवादको निकास सामान्य भए पनि सरकार, प्राधिकरण र केही खराब नियतका उद्योगीको बद्नियतका कारण कचल्टिएको आम उद्योगीको बुझाइ छ ।  संघका उपाध्यक्ष माधव राजपालले यो समस्याको समाधान सहज रूपमा गर्न सकिने बताए । ‘लोडशेडिङको बेला प्राधिकरणसँग सम्झौता गरेर खपत गरेका वा सम्झौता नगरे पनि लोडशेडिङमा उद्योग चलाएका उद्योगीसँग असुल्नुपर्छ । यस्तो सहुलियत नलिएका र लोडशेडिङ हटिसकेपछि आपूर्ति लिएका ग्राहकको लाइन काट्नु अन्याय हो,’ राजपालले भने । लाइन काटेर उद्योग बन्द गराएरमात्र समस्या समाधान नहुने अध्यक्ष अग्रवालले बताए । ‘यसमा प्राधिकरण र उद्योगीको समझदारीमा निकास पहिल्याउनु उचित हुन्छ,’ उनले भने ।  के हो डेडिकेटेड र ट्रक लाइनको लफडा ? दैनिक १६ घण्टासम्म लोडशेडिङको समयमा माथिल्लो भोल्टेज (६६ केभीभन्दा माथि) बाट विद्युत् आपूर्ति लिएका औद्योगिक ग्राहकको लाइन काट्ने प्राविधिक क्षमता प्राधिकरणसँग थिएन । त्यस्ता उद्योगले आफ्नै सब स्टेशन बनाएर आपूर्ति लिएकाले लोडशेडिङ पालन गर्ने कि नगर्ने उद्योगीकै हातमा थियो ।  केही उद्योगले प्राधिकरणकै कर्मचारीको मिलेमतोमा लोडशेडिङ पालन नगरेको पत्ता लागेपछि प्राधिकरणले माथिल्लो भोल्टेजलाई ‘डेडिकेटेड फिडर र ट्रंक लाइन’ भन्दै नियमित आपूर्ति लिन चाहने उद्योगसँग २०७० सालमा आवदेन माग गरेको थियो ।  तर, यस्तो आपूर्तिको महशुल निर्धारण २०७३ मा ल्याइएको विद्युत् महशुल संकलन विनियमावलीले गरेको हो । प्राधिकरणले माथिल्लो भोल्टेजबाट आपूर्ति लिएका सबै ग्राहकले दैनिक २० घण्टाभन्दा बढी विद्युत् खपत गरेको भन्दै चर्को महशुल लगाएर बिल पठाएपछि विवाद शुरू भएको हो । यो विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो । सर्वोच्चले प्राधिकरणकै पक्षमा फैसला गरेको छ ।  प्राधिकरणले २०७५ जेठदेखि लोडशेडिङ अन्त्य घोषणा गरे पनि विनियमावली संशोधनमा २ वर्ष समय लगायो । विनियमावलीमा समान्य महशुल दर भए पनि संशोधनअघिसम्म प्रिमियम महशुलको बिल काटेको थियो । लोडशेडिङ अन्त्य भइसकेपछि आपूर्ति लिएका ग्राहकलाई समेत प्रिमियम महशुल लगाएर बिल आए पनि उद्योगीले सामान्य दरले महशुल तिर्दै आएका छन् । यस्ता उद्योगको महशुल पनि बक्यौता देखिएको छ ।

अभियान: प्रिमियम दरको विद्युत् शुल्कमा अनिर्णय

नेपाल विद्यत् प्राधिकरणले विधिवत् रूपमा लोडशेडिङ अन्त्य भएको घोषणा गरेको वर्षौं बिते पनि उद्योगहरूसँग लिने गरिएको प्रिमियम शुल्कबारे अझै निर्णय गर्न सकेको छैन । उद्यमीहरूले आफूले माग नगरे पनि प्रिमियम दरको महशुल लगाएको भनेर त्यसको विरोध गर्दै आएका छन् । तर, प्राधिकरणले बक्यौता देखाएर उद्यमीलाई मानसिक तनाव दिइरहेको छ जुन गलत छ ।  लोडशेडिङका बेलामा प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड लाइनबाट प्रिमियम दरको महशुलमा बिजुली उपलब्ध गराएको थियो । त्यति बेला यस्तो लाइन माग नगरेका औद्योगिक ग्राहकलाई समेत यस्तो शुल्क लगाएको थियो । लाइन माग नगरेका उद्योगीहरूले यो शुल्क नतिर्ने भनी विरोध गर्दै आएका छन् । यतिका वर्षसम्म यति सानो समस्या पनि कसरी र किन ब्युँताइरहेको हो रहस्यमय देखिएको छ । हो, आफूले खपत गरेको बिजुलीको शुल्क जोसुकैले पनि तिर्नुपर्छ । नतिर्नेमाथि कारबाही हुन्छ । तर, त्यही विषयलाई वर्षौंसम्म अल्झाइरहनु कुनै पनि हालतमा स्वीकार्य हुँदैन । विद्युत् नियमन अयोगले २०७७ पछि डेडिकेटेड र ट्रंक लाइन खारेज गरी सामान्य महशुल दर तोकेको थियो । तर, आयोगले यो नियमको व्यवस्था गर्नु अघि र लोडशेडिङ अन्त्य भएपछिका २ वर्षको महशुलमा व्यवसायी र प्राधिकरणबीच विवाद रहँदै आएको छ । यो महशुलको विवाद समाधान गर्न वीरगञ्जका उद्योगीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर आग्रह गरेका छन् । वास्तवमा जुन सुविधा उद्योगीले मागेकै छैनन् त्यसमा बलजफ्ती तिराउन खोज्नु उपयुक्त होइन ।  उद्योगीहरूलाई प्रोत्साहित गर्नु सरकारको काम हो । सकेसम्म सस्तो र गुणस्तरीय बिजुली उपलब्ध गराउने हो भने नेपालमा उद्योगहरू खुल्ने सम्भावना बढी छ । सस्तो बिजुली उपलब्ध भए उत्पादनको प्रतिस्पर्धी क्षमता बढ्छ । यसका लागि काम गर्नुपर्नेमा उल्टै पुरानो विषयलाई बल्झाएर उद्योगीलाई सास्ती दिने काम भइरहेको छ ।  यसरी उद्योगीमाथि दबाब दिनु अन्याय हो । यसले उद्योगीहरूलाई हतोत्साही बनाउँछ । प्राधिकरण नेतृत्वले आफ्नो ब्यालेन्स सीट नाफामा देखाउन यस्तो बक्यौता बाँकी राखेको हुन सक्छ । त्यस्तै प्राधिकरणको क्रियाकलापले जनतामा उद्योगीहरूले बिजुलीको पैसा तिरेनन् भन्ने सन्देश पुगेको छ । यसरी उद्योगीहरू विरुद्ध नकारात्मक सन्देश पुग्नु राम्रो मान्न सकिँदैन । कुनै पनि गतिशील सरकारले ऐन, नियम र विनियममा नयाँ कुरा थपघट गर्नुपरे तत्कालै गर्ने गर्छ । तर, नेपालमा कुनै पनि सरकारी कार्यालयले विषयको संवेदनशीलता हेरेर यस्तो निर्णय लिएको पाइँदैन । उदाहरणका लागि यात्री मोटरसाइकललाई सवारी प्लेट नम्बर उपलब्ध नगराउनुलाई लिन सकिन्छ । एउटा सामान्य निर्णयले हुने कामका लागि पनि व्यापक दबाब र विरोधपछि सरकारले समाधानमा चासो दिएको छ । व्यवसायीहरूले पनि यस्तै विरोध गर्दै हिँड्नुपर्ने अवस्था आयो भने उनीहरूले व्यवसाय सम्हाल्ने कि उजुरबाजुर गर्दै हिँड्ने ?  अहिले उद्योगहरूको नाममा रहेको बक्यौता मिनाहा गर्न पनि कुनै ठूलो महाभारत गरिरहनुपर्ने देखिँदैन । सरकारी अधिकारीहरूले उद्योगीहरूसँग उनीहरूको माग जायज भएको बताउने गरेका छन् तर समाधानमा भने पहल लिने गरेका छैनन् । यो भनेको गैरजिम्मेवारीको पराकाष्ठा हो । विद्युत् सुधारमा ठूलै परिवर्तन ल्याएको दाबी गर्ने प्राधिकरण नेतृत्वको यो तरीका सही छैन । एकातिर प्राधिकरण बिजुली बढी हुने भएकाले कसरी खपत बढाउने भनेर इन्डक्शन चूल्हो बाँड्ने जस्तो कार्यक्रम ल्याउन तयार देखिन्छ भने अर्कातिर ठूलो परिमाणमा बिजुली खपत गर्ने उद्योगहरूलाई अनेक किसिमले झुलाउने र आपूर्ति पनि सही ढंगले नगर्ने दोहोरो चरित्र प्रदर्शन गरिरहेको छ । यो अवस्थाको अन्त्य हुनु जरुरी छ । नेपालमा लामो समयदेखि व्यवसाय गर्ने वातावरण छैन भन्ने गुनासो रहँदै आएको हो । यस्तो गुनासो अन्त्यका लागि सरकारले व्यवसाय गर्न चाहनेलाई जतिसक्दो बढी सहयोग गर्न आवश्यक हुन्छ । तर, प्रिमियम महशुल कायमै राखेर सरकारले उद्योगी, व्यवसायीलाई अप्ठ्यारो पार्न खोजेको देखिन्छ । औद्योगिक विकास आवश्यक रहेको मुलुकमा व्यवसायी र सरकारबीच द्वन्द्व बढ्नु वा कायम रहनु उपयुक्त हुँदैन । त्यसैले सरकारले यस्ता समस्यालाई चाँडोभन्दा चाँडो समाधान गर्नुपर्छ ।

इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा रु एक हजारसम्म क्यासब्याक पाइने भएको छ । इसेवा मार्फत आफ्नो जीवन बीमाको  प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम रु एक हजारसम्म क्यासब्याक पाइने भएको हो ।इसेवाका अनुसार यस्तो क्यासब्याक ४८ घण्टा भित्र पाइने छ । यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मिती बाट ७ दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइनेछ । यसरी भुक्तानी गर्दा इसेवाले हाल इन्स्योरेन्स्को शुल्क भुक्तानीमा सुरु गरेको लखपति योजनामा पनि सहभागी हुन सकिनेछ । यस योजनामा हरेकदिन एक जनाले एक हजार र बम्पर उपहारमा रु एक लाख रुपैयाँ जित्न सकिनेछ ।साथै मेटलाइफका कुनैपनि शाखा कार्यालयका काउण्टरबाट इसेवा तथा फोनपे को क्यूआर मार्फत पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ । हाल इसेवाबाट सबै बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्न सकिन्छ । देशभर एक लाख ५० हजार  भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब ६५ लाख पुगिसकेको छ । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।यस्तै १ सय ५३ वर्ष पुरानो अमेरिकन लाइफ इन्स्सोरेन्स् कम्पनीको शाखाका रूपमा नेपालमा मेटलाइफले सन् २००१ देखि सेवा दिँदै आएको छ । विश्वका ४० देशमा अमेरिकन लाइफ इन्स्योरेन्स्का शाखा रहेका छन् । नेपाली बीमा बजारमा आग्रणी मानिने मेटलाइफले हरेक समय नयाँ र सर्वसाधारणका लागि उपयोगी जीवन बीमा योजना सञ्चालन गर्दै आएको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना बीमा तथा स्वास्थ बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउँदै आएको छ ।

प्राधिकरणले प्रमाणित गर्न सके भुक्तानी दिन तयार छौं

डेडिकेटेड फिडर र ट्रंकलाइन बापतको विद्युत् महशुल विवाद अझै पनि टुंगो लाग्न सकेको छैन । सरकारमा नयाँ ऊर्जा मन्त्री आएसँगै यस मामिलामा ठोस निर्णय हुन सक्ने अपेक्षा गरिए पनि त्यो हुन सकेन । नेपाल विद्युत् प्राधिकरण त्यसबापतको महशुल उठाउने दाउमा छ । उद्योगीहरू भने उक्त महशुल रकम नतिर्ने अडानमा छन् । प्रस्तुत, यसै सन्दर्भमा उद्योगीहरूको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासँग आर्थिक अभियानका मिलन विश्वकर्मा र विजय दमासेले गरेको कुराकानीको सार : डेडिकेटेड फिडर तथा ट्रंक लाइन बापतको विद्युत् महशुल कसरी र किन विवादमा आयो ? यसलाई औद्योगिक क्षेत्रले कसरी लिएको छ ? सर्वप्रथम म यो विवाद कसरी शुरू भयो भन्ने बुझ्नुपर्ने हुन्छ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हुँदा २०७२ असारमा साधारण महशुल दरमा ६५ प्रतिशत प्रिमियम थप गरेर इच्छुक उद्योगीहरूलाई डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत निरन्तर विद्युत् आपूर्ति गर्ने निर्णय गरेको थियो । ट्रंक लाइनको हकमा दिनमा कम्तीमा ६ घण्टा लोडसेडिङ भएको हुनुपर्ने र २० घण्टाभन्दा बढी विद्युत् आपूर्ति भएको हुनुपर्ने शर्त पनि थियो । सो शर्त पूरा भएमा मात्र प्राधिकरणले प्रिमियममा महशुल उठाउन पाउने थियो । तर, तत्कालीन अवस्थामा प्राधिकरणसँग विद्युत् महशुल निर्धारण गर्ने अधिकार थिएन । त्यसपछि प्राधिकरणले २०७२ पुस २९ गते तत्कालीन विद्युत् महशुल निर्धारण आयोगबाट उक्त महशुलदर अनुमोदन गराएको थियो । आयोगले २०७२ माघ १२ गते एक पत्रिकामा सूचना जारी गर्दै डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत प्रयोग गर्ने विद्युत्को महशुलदर लागू गर्‍यो । साथै, आयोगले प्राधिकरणले महशुल निर्धारण गरेको मितिदेखि आयोगले अनुमोदन गरेको मितिसम्मको अवधिको महशुलमा प्रिमियम लिन नपाइने र प्रिमियम सहित लिएको भए फिर्ता गर्नेगरी पनि निर्णय गरेको हो । तर, प्राधिकरणले ३ वर्षपछि आएर छूट बिलको नाममा त्यस अवधिको पनि प्रिमियममै महशुल गणना गरेर बिल पठायो । तर, अधिकांश उद्योगले त्यसरी विद्युत् प्रयोग गरेका थिएनन् । यद्यपि, डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत् प्रयोग गरेका उद्योगहरूले प्रिमियममै बिल भुक्तानी गरेका पनि हुन सक्छन् । समग्रमा २०० भन्दा बढी उद्योगले डेडिकेटड फिडर र ट्रंक लाइन बापत विद्युत् प्रयोग गरेर प्रिमियममा भुक्तानी पनि गरेका छन् । तर, प्राधिकरणले त्यसरी विद्युत् प्रयोग नगरेका ५५/५६ उद्योगलाई प्रिमियम सहितको विल पठायो । त्यसैको कारण यो विवादित भएको हो । यस्तै, २०७५ बैशाखपछि त मुलुक लोडसेडिङमुक्त भएको भनेर घोषणा नै गरियो । लोडसेडिङ अन्त्य भएको अवस्थामा डेडिकेटेड फिडर र ट्रंक लाइन माफत छुट्टै विद्युत् आपूर्ति गर्नुको कुनै ओचित्य नै भएन । त्यस यता सबै उद्योगले नर्मल फिडरमार्फत नै विद्युत् पाइरहेका छन् । तर, प्राधिकरणले भने २०७५ वैशाख देखि २०७७ असारसम्मको अवधिको महशुल पनि प्रिमियममै गरेर पठाएको छ । त्यसयता भने हालको विद्युत् नियमन आयोगले डेडिकेटेड फिडर र ट्रंक लाइन बापतको विद्युत् महशुलदर खारेज गरेको भएर बिल आएको छैन । आयोगले महशुलदर सदर नगरेसम्मको अवधि र लोडसेडिङ हटेपछिको अवधिको पैसा दिने कुरा आउँदै आउँदैन । आयोगले उक्त महशुलदर निर्धारण गरेको मितिदेखि लोडसेडिङ अन्त्य भएकोे मितिसम्मको अवधिको महशुलदर मात्र बहसको विषय हो । त्यस अवधिमा प्रिमियममा विद्युत् प्रयोग गरेका उद्योगले भुक्तानी दिइसकेका छन् । त्यस अवधिमा प्रिमियममा विद्युत् आपूर्ति नगरेको उद्योगले भुक्तानी दिन सक्दैनन् । कुनै पनि समयमा डेडिकेटेड फिडर र ट्रंक लाइन प्रयोग नगर्दा नगर्दा पनि त्यसबापतको बिल आउँदा भुक्तानी नदिनु स्वाभाविक हो । जुन जुन उद्योगले त्यसरी विद्युत् प्रयोग गरेका थिए, उनीहरूले भुक्तानी दिएका नै छन् । यदि प्राधिकरणले प्रिमियममा विद्युत् दिएको प्रमाणित गर्न सक्छ भने हामी भुक्तानी दिन तयार छौं । सबै उद्योगमा टीओडी मिटर जडान छ । त्यसमा विद्युत् आपूर्ति सम्बन्धमा सबै रेकर्ड हुन्छ । प्राधिकरणले टीओडी मिटरबाट आवश्यक डेटा निकालेर यस विषयमा आवश्यक निर्णय गर्नुपर्छ । त्यो छूट बिल पहिले नै मासिक रूपमा आएको भए पनि यस्तो समस्या आउने थिएन । त्यस्तो विद्युत् प्रयोग गर्न नचाहने उद्योगहरूले त्यसबेला प्राधिकरणसँग छलफल गरेर आवश्यक निर्णय गर्ने थिए । तर, प्राधिकरणले ३ वर्षपछि छूट बिलको नाममा यस्तो ग¥यो । त्यसले गर्दा पनि यो विवादित भएको हो । यसैको नाममा हाम्रो बदनाम गर्ने काम पनि भएको छ । हामीले नर्मल बिलहरू हरेक महीना भुक्तानी गर्दै आएका छौं । तर, उद्योगीहरूले महशुल तिरेनन् भनेर बदनाम गरिएको छ । यस्तै, यसमा एउटा बहसमा नआएको विषय पनि छ । २०७२ माघ १२ गते तत्कालीन महशुल निर्धारण आयोगले महशुलदर लागू गरेको थियो । तर, त्यसको १ महीनापछि फागुन ११ गते प्राधिकरणले गोरखापत्रमा एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म विद्युत् अभावका उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत् दिन स्थगन गरेको जानकारी दिएको थियो । तर, प्राधिकरणले हालसम्म त्यो सूचनालाई काट्नेगरी अर्थात् उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत् दिन शुरू गरेको भनेर सूचना नै प्रकाशन गरेको छैन । त्यसैले, यसैबाटै प्राधिकरणले उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् नदिएको प्रमाणित हुन्छ । लोडसेडिङको अवधिमा त डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत् प्रयोग भएको थियो होला नि ?   थियो होला । तर प्रमाणित त हुनुपर्‍यो नि । प्रयोग गरेकाले त भुक्तानी दिएका छन् । प्रयोग नगरेकाले मात्र पैसा नदिएका हुन् । हामीले त त्यस समयमा पनि लोडसेडिङको सामना गरेका हौं । लोडसेडिङ हुँदा जेनेरेटर चलाएर उद्योग चलाएका हौं । त्यसबेलाको तालिकाअनुसार र जुन समयमा विद्युत् आउँथ्यो, त्यही समयमा विद्युत् प्रयोग गरेको हो । अघिपछि जेनेरेटर नै प्रयोग गरिएको छ । डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् प्रयोग नगर्दा पनि बिल आउनु र प्राधिकरणले उद्योगीहरूले पैसा तिरेनन् भनेर सार्वजनिक रूपमै भन्नुलाई कसरी लिनु भएको छ ? समग्रमा यस विषयले हामीलाई सामाजिक रूपमा अपमान गरिदिएको छ । अन्य मुलुकमा हुन्थ्यो भने क्षतिपूर्तिको माग गर्ने थियौं । मिडियाले नै फलानो उद्योगले यति पैसा तिरेन भनेर भन्दा अपमान बोध हुन्छ । हामीलाई सामाजिक सञ्जालमा अझै पनि ‘बिजुलीको पैसा किन नतिरकोे ?’ भनेर म्यासेज आउँछ । परिवारका सदस्यहरू बजार गर्न जाँदा पनि यस्तै किसिमका प्रश्नहरू सामना गर्नुपरेको छ । प्राधिकरणले पनि यत्तिकै बिल पठाएको त छैन होला, यसमा के भन्न चाहनु हुन्छ ? त्यो प्राधिकरणको आन्तरिक कुरा हो । त्यो कसरी भयो, प्राधिकरणले नै भन्न सक्छ । हाम्रो भनाइ के हो भने प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइन बापत विद्युत् प्रयोग गरेको प्रमाणित गरेमा भुक्तानी तिर्न तयार छौं । अन्यथा भुक्तानी हुने छैन । तत्कालीन महशुल निर्धारण आयोगले डेडिकेटेड फिडर र ट्रंक लाइनको प्रिमियम सहितको महशुलदर सदर नगर्दासम्म केही उद्योगहरूले त्यसरी नै विद्युत् प्रयोग गरेका थिए होलान् । प्राधिकरणलाई विद्युत् महशुलदर निर्धारण गर्ने अधिकार नभए पनि २०७२ असारदेखि २०७२ पुसससम्मको अवधिको महशुल तिर्नुपर्ने उद्योगहरूको नैतिक जिम्मेवारी त हुन्छ होला नि ? त्यो प्राविधिक विषय हो । यसमा मेरो केही प्रतिक्रिया छैन । तर, महशुल दर तोक्ने अधिकार प्राधिकरणसँग छैन । यसमा आयोगको निर्णय नै लागू हुनुपर्छ । आयोगले उक्त महशुलदर सदर गर्नुभन्दा पहिलाको प्रिमियम सहितको महशुलदर कानूनसम्मत छैन । यसमा प्राधिकरणको नै कमजोरी हो । त्यो अवधिको प्रिमियम सहितको महशुलदर दिइन्छ भने त्यो कालोबजारी अन्तर्गत पर्छ । केही वर्षअघि शिवम् सिमेन्टले हालेको एक रिटमा उच्च अदालतले पनि २०७२ असारदेखि २०७२ पुससम्मका लागि प्रिमियम सहितको महशुल लागू नहुने भनेर आदेश दिएको छ । तर, प्राधिकरणले त्यो शिवम् सिमेन्टको हकमा मात्र भनेको छ नि ? यो सैद्धान्तिक निर्णय हो । प्राधिकरणले त्यो शिवम्का लागि मात्र हो भनेर भन्न पाउँदैन । सैद्धान्तिक रूपमा त्यो सबै उद्योगका लागि लागू हुन्छ । त्यसलाई एउटा नजिरको रूपमा लिनुपर्छ । अब यो विवाद कसरी समाधान गर्नुपर्छ होला ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुन फैसला गरेको छ, अब त्यसै अनुसार अघि बढ्नुपर्छ । अख्तियारले विद्युत् महशुल निर्धारण आयोगले विद्युत् महशुल दर तोक्नुअघि सर्वोच्चले जुन फैसला गरेको छ, त्यो सबैको हकमा लागू हुनुपर्छ । लोडसेडिङ अन्त्य भएपछि पनि सबै समान भएका छन् । त्यसबीचको समयको हकमा भने टीओडी मिटर मार्फत प्रमाण जुटाएर प्राधिकरणले आवश्यक निर्णय गर्नुपर्छ । प्रमाण पुग्छ भने हामी भुक्तानी दिन तयार छौं । सरकार अथवा जो कोहीले गलत तरिकाले पैसा उठाउन पाउँदैन । प्राधिकरण निजी संस्था भइदिएको भए के हुन्थ्यो ? त्यो निजी संस्थाले ढुंगामुढा गरेर मान्छे जेलमा हुने अवस्था आउँथ्यो । सप्लाई नै नगरेको सामानको बिल तपाईंलाई पठाइएको छ, प्रमाण छैन । तर पैसा माग्यो भने कसरी तिर्नुहुन्छ ? यो बदनियत हिसाबले पठाइएको बिल हो । यसमा नीतिगत निर्णयबाट गलत भएको हो त ? हो, प्राधिकरणले २०७२ फागुन ११ गते एक सूचना मार्फत उद्योगलाई डेडिकेटेड फिडरमार्फत विद्युत् दिन सक्दैनौं भनेको थियो । अर्काे सूचना नआउने बेलासम्मको हकमा त्यस्तो भनिएको थियो । तर, अहिलेसम्म कुनै सूचना आएको छैन । त्यसअनुसार त्यो समयदेखि सरकारले डेडिकेटेड फिडरमार्फत विद्युत्् दिन नसकेको भन्ने यसैबाट पुष्टि हुन्छ । प्राधिकरण बदनियत ढंगले प्रस्तुत भएको तपाईंहरूको बुझाइ हो ? हो, नीतिगत रूपमा भएका निर्णयहरूलाई नहेरी बदनियत ढंगले सरकारले उद्योगहरूलाई डेडिकेटर लाइनको शुल्क तिर्न भन्दै ताकेता गरेको देखिन्छ । प्राधिकरणले जसलाई विद्युत् आपूर्ति दिएको छ, त्यसबाट शुल्क लिनुपर्छ, त्यसमा दुईमत नै भएन । तर प्रयोग नै नगरिएको विद्युत््को शुल्क तिर्न भन्नु न्यायोचित होइन । सरकारले विद्युत् प्रयोग गरेकाहरूसँग तत्कालीन समयमै प्रमाणका आधारमा रकम असुल्नुपर्थ्यो । ३/४ वर्षपछि आएर विना प्रमाण बिल पठाएर हुँदैन । समस्या समाधानका लागि प्राधिकरणबाट केही पहल भएको छ ? लामो समयदेखि यसबारे विवाद भए पनि अहिलेसम्म प्राधिकरणको नेतृत्वले हामीसँग कुनै छलफल नै गरेको थिएन । केही दिनअघि प्राधिकरणका उच्च अधिकारीहरूले उद्योगीहरूलाई बोलाएर चासो राख्नुभएको थियो । तर, अहिले प्राधिकरणको नेतृत्व परिवर्तन गर्ने राजनीतिक कुराले थप छलफल हुन पाएन । यो विवाद समाधानका लागि तपाईंहरूको भूमिका के हो ? बारम्बार मिडिया लगायत साथै जताततै आइरहेको यो विषयको विवाद समाधान हुनैपर्छ । एकातिर प्राधिकरणले पैसा उठाउन नसकेको देखिन्छ, अर्कोतिर उद्योगी व्यवसायीले पैसा तिर्न नसकेको देखिन्छ । हामीले निरन्तर पैसा तिरिरहे पनि कतिपयमा यिनीहरूले पैसा नै तिरेका छैनन् भन्ने भ्रम पैदा भएको छ । यो छूट बिलको पैसा हो । यो छूट बिलको पैसा प्रमाणित भएर दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । अब समाधान भनेको अख्तियारले पनि जुन बाटो देखाएको छ, आयोगले दर रेट तोकेको भन्दा पहिला लिन पाइएन, लोडसेडिङ अन्त्य भएपछिको पनि लिन पाइएन । त्यसबीचको अवधिको हकमा जुन उद्योगले विद्युत् प्रयोग गरेको हो, उनीहरूबाट मात्र महशुल उठाउनुपर्छ । पैसा तिर्नैपर्ने अवस्था आयो भने उद्योगको अवस्था के हुन्छ ? त्यस्तो अवस्था आयो भने कम्पनी, उद्योगहरू थला पर्छन् ।  ५५/५६ ओटा उद्योगलाई विवादमा तान्ने काम भएको छ । केही उद्योगको चुक्ता पूँजीभन्दा पनि बढीको बिल आएको छ । त्यसमाथि जरीवानाका कारण त्यो हरेक महीना बढिरहेको छ । अदालतमा मुद्दा चलिरहेकाले त्यो फैसला नआउञ्जेलसम्म यो बढ्ने नै हो । कतिपय उद्योगीले जिल्ला अदालतमा मुद्दा हालेका छन् । हाम्रो पक्षमा फैसला आयो र प्राधिकरणले फेरि मुद्दा हाल्यो भने यो विषयको झनै अन्योल लम्बिन्छ । जरीवाना बढेको बढै हुने देखिन्छ । त्यसअनुसार भुक्तानी गर्ने हो भने उद्योगहरू धराशयी हुन्छन् । महशुलको यो विवाद लम्बिएको लामो समय भइसक्दा पनि समाधानका लागि सरकारले किन ध्यान नदिएको होला ? कुनै मन्त्री अथवा सरकारी अधिकारीले विवाद समाधान गर्‍यो भने पैसा खाएर काम गरेको भन्ने आरोप लाग्ने डरले यो विवाद निरूपणमा प्रयास नगरिएको जस्तो देखिन्छ । यो अत्यन्त गलत हो । वास्तविक प्रमाणका आधारमा बिल तिर्न हामी तयार छौं, तिरिरहेका पनि छौं । तर अनावश्यक रूपमा यो विवाद लम्ब्याइनु हुँदैन । यसलाई राज्यले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्छ ।

विद्युत्मा प्रिमियम दर खारेज गर्न माग

लोडसेडिङको अन्त्य भएपनि अझै वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योगहरुले प्रिमियम दरको विद्युत् महशुल तिर्नु परेको भन्दै खारेज गर्न वीरगन्ज उद्योग वाणिज्य संघले माग गरेको छ । नेपाल विद्युत् प्राधिकरणले २०७५ जेठ पश्चात् उद्योग प्रतिष्ठानमा विद्युत् भार कटौती (लोडसेडिङ) अन्त्य भएको यतिका समय बितिसक्दा पनि प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको नाममा केही उद्योग प्रतिष्ठानलाई प्रिमियम दरको महशुल लगाइरहेको भन्दै यसको खारेजीको माग गरेको हो ।