काठमाडौं । भारतले मलेशियासँग आफ्नै मुद्रामा व्यापार गर्न सक्ने भएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार दुई देशबीच भुक्तानीको माध्यमको रूपमा रुपयालाई पनि प्रयोग गर्ने सम्झौता भएको हो ।
यससँगै भारतसँग रुपयामा व्यापार गरिरहेका वा गर्ने तयारीमा भएका देशहरूको संख्या करिब तीन दर्जन पुग्न लागेको बताइएको छ । भारतीय रुपैया (भारु) व्यापार गर्ने देशहरूको संख्या बढ्दै जाँदा भारु 'ग्लोबल करेन्सी' बन्ला कि नबन्ला भन्ने चासो बढेको छ ।
गएको वर्षको जुलाईमा भारतीय केन्द्रीय बैंक ‘रिजर्ब बैंक अफ इन्डिया’ (आरबीआई)ले भारतीय रुपैयाँ (भारु)मा विदेश व्यापार गर्ने अनुमति दिएको थियो । विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार भारत र मलेशियाले दुई पक्षीय व्यापारमा अब भारुको समेत प्रयोग गर्न सक्नेछन् । व्यापार वृद्धिलाई सुगम बनाउन अनि भारुलाई विश्वव्यापी मुद्रा बनाउने लक्ष्य हासिलमा यो कदम उपयोग हुने बताइएको छ ।
क्वाललम्पुरस्थित ‘इन्डिया इन्टरनेशनल बैंक अफ मलेशिया (आईआईबीएम)ले भारतमा आफूसम्बद्ध बैंकिङ सहयोगी युनियन बैंक अफ इन्डिया (यूबीआई)मार्फत रुपयामा विशेष खालको भोष्ट्रो खाता खोलेर भारुमा कारोबार प्रणाली लागू गरेको बताइएको छ । भोष्ट्रो खाता भारुमा भुक्तानीका लागि प्रयोग गरिन्छ ।
विदेश मन्त्रालयको तथ्यांक हेर्ने हो भने भारत र मलेशियाबीचको व्यापार १७ अर्ब डलर रहेको छ । आव २०२१/२२ मा दुई देशबीचको व्यापारको आकार १७ अर्ब डलर थियो । भारतको लागि क्वालालम्पुर १३ औं ठूलो व्यापार साझेदार हो । आरबीआईले मलेशिया, रुस, जर्मनी, सिंगापुर, श्रीलंका र ताञ्जानियासमेत १८ देशका बैंकहरूलाई भोष्ट्रो खाता सञ्चालन गर्ने अनुमति दिएको छ ।
भारतले भर्खरै मात्र सार्वजनिक गरेको नयाँ विदेश व्यापार नीतिमा पनि भारुको अन्तरराष्ट्रियकरणमा जोड दिइएको छ । अहिले डलर संकट भोगिरहेका देशहरूसँग भारुमा व्यापार गर्ने योजना समेत उक्त नीतिमा छ । भारुमै व्यापार बढाउँदा भारतीय निर्यातकर्ताहरूलाई पनि लाभ हुनेछ ।
भारतले रुपयामा कारोबार गर्न शुरु गरेको पहिलो देश भने रुस थियो । युक्रेनमा रुसले आक्रमण गरेयता रुसले भारी छूटमा तेल बेच्न थालेपछि भारतको रुसी तेल खरीद बढेको थियो । यस्तोमा आरबीआईले सन् २०२२ को जुलाईमा भारुमा विश्व व्यापार भुक्तानीलाई अनुमति दिएको थियो ।
डलरमाथि आरबीआईको निर्भरता कम गर्न, निर्यातलाई टेवा दिन, अन्तरराष्ट्रिय व्यापारलाई बढाउनुको साथसाथै विदेशी मुद्रा भन्डारणमा पर्ने भार कम गर्न भारुमा व्यापारको भुक्तानीको प्रस्ताव गरिएको थियो । एजेन्सी