काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीबाट विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा असार २४ गतेदेखि साउन १४ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार २४ गतेदेखि साउन ७ गतेसम्म आईपीओ विक्री गरेको थियो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ विक्री गरेको हो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ विक्री गरिएको हो ।
त्यस्तै कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि विक्री गरिने शेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको ८५ हजार ८१० कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको हो । आयोजना प्रभावित स्थानीयमा जारी गरिएको आईपीओ खरीदका लागि आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई सम्पूर्ण कित्ता आईपीओ बाँडफाँट गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गरिएको आईपीओ भने ८ हजार ५८१ जना आवेदकहरूले १० कित्ताका दरले बाँडफाँट गरिएको हो ।
आयोजना प्रभावित स्थानीयको लागि निष्कासन गरिएको आईपीओको हकमा बाँडफाँटमा नपरेको आंशिक तथा नपरेको शेयर बापतको रकम साउन २८ गतेदेखि बैंक खातामै रकमान्तर गरिने कम्पनीले जानकारी दिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले सि–आस्बा सदस्यमार्फत आवेदन दिएकाले बाँडफाँटमा नपरेको शेयर बापतको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थामार्फत रोक्का रकम फुकुवा हुने जानकारीसमेत कम्पनीले दिएको छ ।
विक्री प्रबन्धकको जिम्मेवारी भने सिद्धार्थ क्यापिटल लिमिटेडले पूरा गरेको छ ।
कम्पनीले पोखरा महानगरपालिकाको विजयपुरा खोलाको पानी उपयोग गरी ४ दशमलव ५ मेगावाट क्षमताको विजयपुर–१ साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ । उक्त आयोजनाबाट कम्पनीले २०६९ भदौ ५ गतेदेखि व्यापारिक उत्पादन शुरू गरेको छ । आयोजना निर्माणको कुल अनुमानित लागत ७९ करोड ६८ लाख २९ हजार रुपैयाँ छ ।
हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ४२ करोड ९० लाख ४८ हजार ५०० रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ५७ करोड २० लाख ६४ लाख ७०० रुपैयाँ कायम हुनेछ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोला