काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले साउन ४ देखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी रू. १ अर्बको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री गर्न लागेको हो । प्रतिशेयर रू. १०० अंकित मूल्यमा कम्पनीले रू. १० करोड बराबरको १० लाख कित्ता आईपीओ स्थानीयमा विक्री गर्न लागेको हो ।
स्थानीयमा विक्री गरिने कुल कित्ता शेयरमध्ये ५ लाख ७१ हजार ४३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ भने २ लाख ८५ हजार ७२० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानीय बासिन्दारूका लागि र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि १ लाख ४२ हजार ८५० कित्ता शेयर बाँडफाँट गरिनेछ ।
त्यस्तै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने रू. १ करोड ५० लाख बराबरको १ लाख ५० हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागेको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म दुवै समूहका खरीदकर्ताहरूले माग गर्न सक्नेछन् । आयोजना प्रभावित स्थानीयमा यो आईपीओ छिटोमा साउन १८ गतेसम्म विक्रीको मिति तय गरिएको छ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ १ गतेसम्म विक्री लम्बिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन १८ गतेभित्र आवेदन पेस गरिसक्नुपर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ ।
विक्री प्रबन्धकसँगै आयोजना प्रभावित स्थानीयले आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक तथा एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइनबाट समेत वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने व्यवस्था छ ।
कम्पनीले यस आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
यस कम्पनीले रसुवा जिल्लामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको कुल अनुमानित लागत रू. २ अर्ब ५० करोड छ भने प्रतिमेगावाट लागत रू. १७ करोड ४८ लाख २५ हजार १७४ छ ।
यस आयोजनाबाट आगामी साउन १५ गतेदेखि व्यापारिक उत्पादन शुरू गर्ने कम्पनीको लक्ष्य छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोला