पञ्चायतविरोधी गतिविधिदेखि निरन्तर ६ दशकसम्म सक्रिय राजनीति गरेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन् । समकालीन पाका नेतामध्येका पौडेल २०४८ सालदेखि संसदीय राजनीतिमा क्रियाशील छन् । यसबीचमा उनले पार्टी र देशको प्रमुख कार्यकारी नेतृत्वमा पुग्न निरन्तर संघर्ष गरे । तर, दुवैतर्फ कार्यकारी प्रमुख बन्ने मौका भने पाएनन् ।