कात्तिक २५, काठमाडौं । हाइड्रोईलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड(एचआईडिसिएल) को ७ करोड ७० लाख कित्ता शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्रीका क्रममा वितरण भइसकेको उक्त शेयर नेप्सेमा सूचीकृत गराएको हो । सूचीकृत यो शेयर आइतवारदेखि कारोबारयोग्य हुनेछ भने सम्बन्धीत शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरी भदौ २६ गते बाँडफाँट गरेको थियो । कम्पनीले विद्यमान चुक्तापूँजी रू. ११ अर्बको आधारमा रू. १०० अंकित दरको रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर विक्री गरेको हो ।
उक्त अवधिमा वितरण हुन नसकेको बाँकी शेयर कम्पनीले गत असोज ७ गतेदेखि १४ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो । कम्पनीले संस्थापकतर्फको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण तर्फको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको थियो ।
त्यस अवधिमा विक्री खुला गरिएको संस्थापक तर्फका ३ करोड ३० लाख कित्ता शेयरमा भने आवेदन नपरेको विक्री प्रबन्धक ग्लाबेल आइएमई क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीको संस्थापक शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ करोड कित्ताको सीमाका कारण उक्त शेयर वितरणमा समस्या देखिएको हो । कम्पनीले सर्वसाधारणतर्फ न्यूनतम १०० र संस्थापकतर्फ १ करोड कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।
कम्पनीले नियमावलीमा भएको व्यवस्था बमोजिम संस्थापक तर्फको लिलामी शेयरमा न्यूनतम १ करोड कित्ताको क्याप लगाएको जानकारी दिए पनि लगानीकर्ताहरुले भने साना लगानीकर्ताहरुको पहुँच माथि गएर न्यूनतम कित्ताको क्याप लगाएका आरोप लगाएका थिए । आगामी दिनमा प्रबन्धपत्रमा भएको व्यवस्था संशोधन गरेर संस्थापक शेयर विक्री गर्ने गरी वितरण भइसकेको शेयर कारोबारयोग्य बनाइएको जानकारीसमेत कम्पनीले दिएको छ ।