काठमाडौं । गतवर्ष सक्षम कार्यक्रम सञ्चालन गरेको कोका–कोलाले यो वर्ष ‘सक्षम २.०’ ल्याएको छ । यो कार्यक्रम किराना पसल तथा खाजा घर सञ्चालन गर्दै आएका एक हजार महिला व्यवसायीलाई लक्षित गरेर ल्याइएको कम्पनीको भनाइ छ । कार्यक्रमले एकदिने तालीममार्फत व्यवसाय सञ्चालन एवं अन्य आवश्यक शीप सिकाइ सुदृढ एवं सशक्त गर्न सघाउने कम्पनीको भनाइ छ ।
महिला व्यवसायीको वित्तीय साक्षरता, आतिथ्य, सरसफाइ व्यवस्थापन र डिजिटल वालेटको प्रयोगसम्बन्धी क्षमता निर्माण गर्न ‘सक्षम २.०’को डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ ।
‘सक्षम २.०’ले आफ्नै लगानीमा व्यवसायको शुरुआत गरेका महिला व्यवसायीको व्यवसाय अझै सुदृढ र सक्षम बनाउन सहयोग गर्ने उद्देश्य राखेको बोटलर्स नेपालका प्रबन्ध निर्देशक दीपक नाथ सेन्थिलले बताए । कम्पनीका देशीय निर्देशक आदर्श अवस्थीले ‘सक्षम २.०’ले एक हजार महिला व्यवसायीको सफलताको नयाँँ कथा रच्नुका साथै लैंगिक न्यायपूर्ण र डिजिटल रूपमा सशक्त समाज निर्माण गर्न योगदान दिने बताए ।