जेठ १, वीरगञ्ज । वीरगञ्ज भन्सारले वीरगञ्ज महागनरपालिकालाई १०० ओटा अक्सिजन सिलिन्डर पठाएको छ ।
सिलिन्डरको अभावमा कोरोना संक्रमितको उपचारमा समस्या भएपछि भन्सारले शनिवार महानगरलाई सिलिन्डर पठाएको हो । विगत ४/ ५ वर्षदेखि जाँचपास नभएर भन्सारको गोदाममा थन्किएका सिलिन्डर अहिलेको आपतकालीन अवस्थामा प्रयोग गर्न महानगरलाई पठाइएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।
वीरगञ्ज महानगरले भन्सारको गोदाममा थन्किएका सिलिन्डर पठाएर संक्रमितको उपचारमा सहयोग गरिदिन भन्सारलाई आग्रह गरेको थियो ।
लामो समयदेखि गोदाममा राखिएका सिलिण्डिरको गुणस्तर परीक्षण गरी प्रयोग गर्न भन्सारले महानगरलाई पत्राचार गरेको छ । कोरोना महामारी नियन्त्रणमा आएपछि फिर्ता गर्ने गरी महानगरले सिलिन्डर प्राप्त गरेको हो ।
कोरोना संक्रमित बढेपछि अक्सिजनको खपत ह्वात्तै बढेको छ । स्थानीय उद्योगले अक्सिजन उत्पादन गरे पनि सिलिन्डरको अभावले भर्न पाएका छैनन् । बारा तथा पर्साका तीन ओटा अक्सिजन उद्योगले दैनिक १ हजार ५०० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्दछन् ।