नेपाल वायु सेवा निगमले मलेशिया उडानको थालनी गर्दै छ भने अस्ट्रेलियाको सिडनी उडानका लागि स्लट प्राप्त गरेको छ । यसले निगम उडान क्षेत्र विस्तारका लागि सक्रिय भएको देखाउँछ । यतिमात्र होइन उसले आन्तरिक उडानका लागि विमान थप्ने योजनासमेत अगाडि बढाएको छ जुन निकै सकारात्मक छ ।
निगमले बा≈य उडानका लागि वाइडबडी विमान खरीद गरेपछि यसले व्यवसाय गर्न नसक्दा निकै आलोचना खेपिरहेको छ । यसमा एकातिर निगमको रणनीति कमजोर देखिएको छ भने अर्कातिर कोरोनाको असर र सरकारी कमजोरी पनि कारण देखिएको छ । नेपालको उड्डयन क्षेत्र यूरोपेली संघको कालो सूचीमा परेकाले निगमले यूरोप उडान गर्न पाएको छैन । विगतमा यूरोप उडानबाट निगमले राम्रो आम्दानी गरेको थियो भने पर्यटन व्यवसायलाई पनि ठूलो सहयोग गरेको थियो । तर, अहिले विगतको दाँजोमा आन्तरिक र बा≈य उडान दुवैमा आफ्नो अंश निकै गुमाएको छ । कुनै बखत विमान नभएर समस्यामा परेको निगम अहिले व्यावसायिक योजनाका साथ काम गर्न नसक्दा समस्यामा परेको देखिन्छ । तर, निगममा बिस्तारै केही सुधार आउन थालेको देखिएको छ ।
अहिले निगमले अनलाइन टिकटको व्यवस्था गरेको छ भने वाइडबडी खरीद गर्दा लिएको ऋणको किस्ता पनि तिर्न थालेको छ । तैपनि निगमले अन्तरराष्ट्रिय उडानमा पर्याप्त व्यवसाय गर्न सकेको छैन । चिनियाँ वायुसेवा कम्पनीहरूले चीनबाट नेपालमा प्रशस्त उडान गरे पनि निगमले त्यहाँ आफ्नो सेवा दिन सकेको छैन । यदि चीनमा उडान शुरू गर्न सके प्रतिस्पर्धाका कारण भाडा घट्न गई चिनियाँ पर्यटकको आगमन निकै बढ्ने देखिन्छ ।
यसका लागि निगमको सामथ्र्यले मात्र हुँदैन, सरकारले पनि कूटनीतिक पहल गर्नुपर्छ । सिड्नीसँगै मेलबर्न पनि उडान गर्न सके निगमले राम्रै व्यवसाय पाउने देखिन्छ । यूरोपमा तत्काल वायु सेवा सञ्चालन गर्न नसके पनि अन्य मुलुकमा निगमले आँखा लगाउनु आवश्यक छ ।
राजनीतिक हस्तक्षेप र निगम व्यवस्थापनको अक्षमता तथा भ्रष्टाचारका कारण थलिएको निगमलाई माथि उकास्ने धेरै पक्षमा सुधार आवश्यक छ । यसका लागि निगमको नेतृत्व सही व्यक्तिलाई दिनुपर्छ । प्रतिस्पर्धाबाट नेतृत्व छान्ने र उसलाई पूरा अवधि काम गर्न दिने हो भने यसमा सुधार ल्याउन सकिन्छ ।