क्वारेन्टाइन होटेल चयनमा भेदभाव

कोरोना महामारीको दोस्रो लहरलाई कम गर्न सरकारले मुलुकका ७७ मध्ये ७५ जिल्लामा निषेधाज्ञा लगाएको छ । निषेधाज्ञाका कारण अर्थतन्त्रका सबै क्षेत्र प्रभावित छन् । तर, तीमध्ये पर्यटन क्षेत्र सर्वाधिक प्रभावित क्षेत्र भनेर सरकारले समेत स्वीकारेको छ । गतवर्षको बन्दाबन्दी र निषेधाज्ञा हटे पनि पर्यटन क्षेत्रले गति लिन सकेन । विश्वभर कोरोनाविरुद्ध व्यापक रूपमा खोप नलगाई पर्यटन क्षेत्र पुरानै लयमा फर्कने सम्भावना देखिएको छैन । सरकारले तीनओटा देशमा उडान शुरू गर्नु र यी उडानबाट आएका नेपाली तथा गैरनेपालीलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था गरी होटेलहरू तोक्नु यस व्यवसायका लागि मलमपट्टी हो । पर्यटन क्षेत्रले सरकारबाट विशेष राहतको अपेक्षा गरेको छ । बजेटले केही नीतिगत सहयोग गर्नुका साथै कर छूटलगायत केही राहतको व्यवस्था गरेको छ । यो सकारात्मक कदम भए पनि निजीक्षेत्रले अपेक्षा गरेअनुसार भने निकै कम छ । पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिएर व्यवसायीको पुरानो मागलाई सम्बोधन गरेको छ । यसका लागि सरकारलाई धन्यवाद दिनुपर्छ । महामारीको चपेटामा परेर पर्यटन क्षेत्रका धेरैजसो व्यवसायी विस्थापित भइसकेका छन् । अब तिनलाई पर्यटनमा फर्काउन त्यति सहज छैन । कतिको लगानी डुबेर बिचल्लीमा परेका छन् । पर्यटन व्यवसायमा होटेल व्यवसायी बढी मर्कामा छन् । तिनमा पनि भाडामा घर लिएर व्यवसाय गर्नेहरूको पीडा व्यक्त गरेर साध्य छैन । नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छाबाबुको अनुहार भनेजस्तो भएको छ अहिले होटेल व्यवसाय । उपत्यकाबाहिरको साना होटेलहरूले निषेधाज्ञा लगाउनुअघि गत केही व्यवसाय गरेर सञ्चालन खर्च उठाउन पाएका थिए । बाह्य पर्यटक लक्षित साना तथा मझौला होटेलहरूले आन्तरिक पर्यटन खासै पाउन सकेनन् । त्यसैबीच भारतबाट आएका केही पर्यटकका कारण फाट्टफुट्ट व्यवसाय यस्ता होटेलले पाएका थिए । तारे होटेलहरूले पनि खासै व्यवसाय पाएका छैनन् । यस्तोमा सरकारले दिएको कर छूट र विद्युत् शुल्कको छूटजस्ता सहयोग ‘हात्तीको मुखमा जीरा’ मात्रै भएको छ । सरकारले तीनओटा देशमा उडान शुरू गर्नु र यी उडानबाट आएका नेपाली तथा गैरनेपालीलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था गरी होटेलहरू तोक्नु यस व्यवसायका लागि मलमपट्टी हो । भारतीयहरू आएर होटेलमा क्वारेन्टाइनमा बस्दा केही व्यवसायीलाई राहत नै भएको छ । तर, क्वारेन्टाइनका लागि सरकारले होटेलहरू चयन गर्दा पनि पारदर्शिता अपनाएन, इच्छुक होटेलहरूलाई सूचीमा राखेन । यो भेदभावले गर्दा सरकारको नियतमाथि व्यवसायीहरूले शंका गरेका छन् जुन स्वाभाविक पनि छ । सरकारले भारतलगायत तीन गन्तव्यको उडानबाट नेपाल आउने यात्रुका लागि ७८ ओटा होटेललाई क्वारेन्टाइन होटेल बनाएको हो । पर्यटन विभागमा दर्ता भएका ७८ ओटा होटेललाई क्वारेन्टाइन होटेलको रूपमा सूचीकरण गरिएको हो । यिनमा पर्यटकदेखि पाँचतारे स्तरसम्मका ७८ ओटा होटेलको नाम सार्वजनिक गरिएको छ । बिहीवारदेखि भारतलगायत कतार, टर्की र चीन गरी चार गन्तव्यका लागि उडान खुला गरिएको छ । उक्त चार गन्तव्यबाट नेपाल आउने यात्रुका लागि उक्त होटेललाई क्यारेन्टाइन बनाइएको हो । कोरोना महामारी नियन्त्रणका लागि सरकारले भारतलगायत अन्य देशबाट आउने यात्रुलाई अनिवार्य रूपमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ । यस्तै, खाडी मुलुकबाट आउने नेपालीलाई ५ दिन बसे पुग्छ भने विशेष परिस्थिति भएकालाई होम क्वारेन्टाइनमा पठाउने व्यवस्था पनि रहेको छ । यही क्वारेन्टाइनका लागि होटेलहरू चयन गर्दा होटेल व्यवसायीहरूको संगठनसँग छलफल गरिएन । सबैलाई यो सुविधा दिइएन । सरकारले केकस्तो आधार र मापदण्डका आधारमा ७८ ओटा होटेलहरू चयन गरेको हो स्पष्ट पारेको छैन । धेरै व्यवसायी आफ्ना होटेलमा पनि क्वारेन्टाइन सेवा दिन तयार छन् । यो सेवाबाट भए पनि सञ्चालन खर्च वा सञ्चालन पूँजीको जोहो गर्न पाए उनीहरूले राहत पाउने थिए । त्यही भएर धेरै होटेल क्वारेन्टाइन सेवा दिन तयार भएका हुन् । गतवर्षको निषेधाज्ञाका बेलामा क्वारेन्टाइनका लागि इच्छाएका व्यवसायीलाई अवसर दिइएको थियो । तर, यसपटक भने यस्तो भएन । विभागले सार्वजनिक गरेको ७८ ओटा होटेलमध्येमा पाँचतारे स्तरका ७ ओटा होटेल रहेका छन् । यस्तै, चारतारे स्तरका ७ होटेल क्वारेन्टाइनका रूपमा सूचीकरण भएका छन् । यसबाहेक पर्यटनस्तरका ५१ होटेल र दुई रिसोर्ट पनि क्वारेन्टाइन सूचीमा समावेश छन् । यी होटेलहरूलाई चयन गर्नुको आधार स्पष्ट खुलाइएको छैन । घना बस्ती भएको ठाउँमा रहेका होटेलहरूलाई क्वारेन्टाइन गर्न नदिने भनी सरकारी अधिकारीको भनाइ आएको पाइन्छ । तर, रिसोर्टबाहेक सबैजसो होटेलहरू घना बस्तीमै रहेका छन् । के आधारमा ती होटेल चयन गरियो भन्ने कुराको चित्तबुझ्दो जवाफ छैन । त्यसैले क्वारेन्टाइनका लागि होटेल चयन गर्दा सरकारले आफन्तहरू वा कुनै सम्पर्क सूत्र भएकाहरूलाई छानेको देखिन्छ । नेपालको पर्यटन केन्द्र मानिएको ठमेलमा सयौं होटेल छन् । ती पर्यटकस्तरीय होटेलदेखि तारे होटेलसम्म रहेका छन् । ठमेलमा भएका होटेलहरूले अन्यत्रभन्दा बढी भाडा तिर्नु परेको छ । उनीहरूमध्ये केही क्वारेन्टाइनको सेवा दिन तयार छन् । तर, उनीहरूलाई त्यो अवसरबाट वञ्चित गरिनु भनेको भेदभाव हो । कोही यो सेवा दिन तयार छैनन् भने त्यो उनीहरूको इच्छा हो । अर्को, कोरोनाको महामारी निकै समयसम्म लम्बिने देखिन्छ । यस्तोमा विदेशबाट आएका पर्यटकलाई सेवा दिन पनि भोलिका दिनमा यस्तै सूचीकृत होटेलले मात्रै अवसर पाउने सम्भावना छ । त्यसो हुँदा सरकारले व्यवसाय गर्न सबैलाई समान अवसर दिनुपर्छ । कसैलाई काखा र कसैलाई पाखा गरी करदाताहरूलाई विभेद गरिनु हुँदैन । त्यसैले यो सूचीमा दर्ता भई सञ्चालनमा रहिरहेका सबै होटेललाई स्वेच्छाले यस्तो सेवा दिन पाउने व्यवस्था गरिनुपर्छ । यही व्यावसायिकता हो । होटेललाई क्वारेन्टाइन बनाउँदा हुने आय पक्कै पनि ठूलो होइन । यसले होटेललाई मुनाफामा लैजाने पनि होइन । होटेल सञ्चालनका लागि केही रकमको जोहो मात्रै हुने हो । तर, पनि सरकारले व्यवसायीहरूमाथि भेदभाव गर्नु हुँदैन । उसले दिने अवसर सबैका लागि समान हुनुपर्छ । आइन्दा सरकारी संयन्त्रको यसमा ध्यान जानु जरुरी छ । लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

सम्बन्धित सामग्री

होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था स्थगित

अध्यागमन विभगले कोरोना भाइरसको नयाँ भेरियन्ट -ओमिक्रोन_ फैलिएका ६७ मुलुकबाट आउने यात्रुलाई अनिवार्य रुपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था स्थगन गरेको छ । विभागले शनिबार एक सूचना जारी गरी अर्काे सूचना नआएसम्मका लागि उक्त व्यवस्था स्थगन भएको जनाएको छ । विभागले शुक्रबार मात्रै सूचना जारी गरी होटल क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख गरेको थियो ।“डिसेम्बर १७ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध (सात दिन अनिवार्य होटेल क्वारेन्टाइन) सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित

६७ देशबाट आउँदा अनिवार्य होटेल क्वारेन्टाइन बस्नुपर्ने नियम हट्यो

३ पुस, काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित भएको छ । अध्यागमन विभागले शुक्रबारमात्रै सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारिन्टिनमा बस्नु पर्ने सूचना निकालेको थियो । तर, शनिबार अध्यागमनले आफ्नो साइटमा सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित […]

पर्यटकलाई क्वारेन्टाइन राख्ने व्यवस्था हटाउन माग

काठमाडौं (अस) । पर्यटन क्षेत्रको उत्थानका लागि पर्यटकलाई क्वारेन्टाइनमा राख्ने लगायत व्यवस्था हटाउन पर्यटन व्यवसायीले माग राखेका छन् । पर्यटनसँग सम्बन्धित संस्थाहरूले कोभिडविरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टाइनमा नराखी अनअराइभल भिसाको व्यवस्था गर्नुपर्ने, नेपाललाई ‘रेड जोन’मा नराख्न पहल गर्नुपर्ने माग राखेका छन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा व्यवसायीले उक्त माग राखेका हुन् । कोभिड–१९ महामारीको प्रभाव र सरकारको बेवास्ताले पर्यटन क्षेत्र अस्तव्यस्त भएको भन्दै नाट्टाले होटेल एसोसिएसन नेपाल (हान), ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान), नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)लगायत संस्थाका अध्यक्ष तथा उपाध्यक्षहरूको सहभागितामा आयोजना गरेको बैठकले विभिन्न पाँचओेटा निर्णय गरेको छ । बैठकमा व्यवसायीले पर्यटकलाई क्वारेन्टाइन नराखी ‘अनअराइभल भिसा’मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउनुपर्ने, भारतसँगको सीमानाका तत्काल खोल्नुपर्ने, नेपाल सरकारले घोषणा गरेको पर्यटकलाई एक महीनाको फ्री भिसा तुरुन्तै लागू गर्नुपर्ने माग राखेका छन् । यस्तै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सट्टा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्लाको कोभिड–१९ परिस्थिति अनुसार स्वास्थ्य मापदण्ड पालना गर्न लगाउनुपर्ने माग गरिएको छ । सरकारले पर्यटन व्यवसायीका माग तत्काल सम्बोधन नगरे अर्को हप्तादेखि कडा रूपमा सडक आन्दोलनमा जाने निर्णय समेत बैठकले गरेको छ । यसैगरी पर्यटन लगायत अन्य क्षेत्रको माग सम्बोधनका लागि व्यवसायीहरूको छाता संस्था नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघसँग सहकार्य गरेर अगाडि बढ्ने बैठकले निर्णय गरेको छ । अन्तरराष्ट्रिय जगत्मा ट्राभल एड्भाइजरीमा नेपाललाई ‘रेड जोन’मा राखिएको छ । त्यसबाट हटाउन सरकारले पर्यटनकर्मीलाई कोभिडविरुद्धको खोप लगाइसकेको र खोप लगाइसकेका पर्यटकलाई नेपालमा निर्बाध आउन दिने जस्ता विषय प्रचारप्रसार गर्नुपर्ने व्यवसायीले औंल्याएका छन् ।

क्वारेन्टाइनका लागि तोकियो होटेल

काठमाडौं । सरकारले विभिन्न तीन देशका लागि नियमित उडान खुला गरेपछि नेपाल आउने नेपाली र विदेशी नागरिकलाई क्वारेन्टाइन बस्नका लागि होटेलहरू तोकिदिएको छ । पर्यटन विभागले क्वारेन्टाइनस्थलका रूपमा प्रयोेग गर्ने होटेलहरूको न्यूनतम ९ बुँदे मापदण्ड तोक्दै होटेलहरूको नामावली सार्वजनिक गरेको छ । होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने होेटेलहरूले सामूहिक रूपमा खाना खाने स्थल, बुफे, जिम, साउना, इन्डोर तथा आउटडोर गेम पूर्णरूपमा बन्द गर्नुपर्ने मापदण्ड राखिएको छ । विभागले कम्तीमा २० कोठा भएको होटेल, स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना गर्नेगरी होटेल परिसरको छुट्टै गेट वा कम्पाउन्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला ठाउँ र बगैंचा भएको हुनुपर्ने मापदण्ड तोकेको छ । होटेल क्वारेन्टाइनमा रहेका हवाई यात्रुलाई सेवा प्रदान गर्न र स्वाब परीक्षणको नमूना संकलनका लागि पर्याप्त खुला ठाउँ हुनुपर्ने, होटेल कोठामा टेलिभिजन, वाइफाई, अनिवार्य हुनुपर्ने, कोठामा अट्याच ट्वाइलेट र नुहाउन र पिउन तातो पानीको व्यवस्था भएको हुनुपर्ने मापदण्ड तोकेको छ । होटेलमा खाना र अन्य सेवाहरू कोठामा वा प्यासेजमा मात्र प्रदान गर्ने व्यवस्था, मिलाउनुपर्नेछ । प्रत्येक कोठामा १ हप्तालाई पुग्ने गरी साबुन, टुथपेस्ट, ब्रस, हेन्डवास र टावेल राखिएको हुनुपर्ने विभागले उल्लेख गरेको छ । सोमवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘नेपाली तथा विदेशी नागरिकहरू विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड २०७८’ लागू गरेको थियो । सोहीअनुसार नेपालीहरू नेपालमा आउँदा ७२ घण्टाको पीसीआर रिपोर्ट, होटेल बुक गरेको डकुमेन्ट ल्याउनुपर्ने र ५ दिन अनिवार्य होटेल क्वारेन्टाइन बस्नुपर्ने गरी मन्त्रालयले मापदण्ड बनाएको छ । उक्त दिन होटेल क्वारेन्टाइन बसेपछि सम्बन्धी होटेल तथा नियामक निकायको सिफारिशमा १० दिन होमक्वारेन्टाइन बस्ने गरी घर जान पाउने व्यवस्था गरिएको छ । मन्त्रालयले काठमाडौंको ठमेल, गोंगबुलगायत घना बस्ती भएका स्थानका होटेलमा क्वारेन्टाइन राख्न भने निषेध गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलने जोखिम उच्च हुने भन्दै मन्त्रालयले यी क्षेत्रका होटेलमा क्वारेन्टाइन राख्न निषेध गरेको हो । विभागले बुधवार सूचना जारी गर्दै होटेल क्वारेन्टाइनका रूपमा प्रयोग गर्न पाँचतारेस्तरका द सोल्टी काठमाडौं, सांग्रिला, ¥याडिसन, हायात गरी सातओटा होटेल तोकिदिएको छ । चारतारेमा होटेल शंकर, होटेल हिमालय र ग्रान्ड होटेल तोकेको छ । विभागको निर्णयअनुसार तीनतारेस्तरका पाँचओटा होटेल र पर्यटकिय स्तरका ५१ ओटा होटेल क्वारेन्टाइनको रूपमा प्रयोग गर्न सकिनेछ । यस्तै रिसोर्ट स्तरका दुईओटा पार्क भिलेज र गोकर्ण फरेस्ट रिसोर्ट रहेका छन् । यसअघिदेखि क्वारेन्टाइनका रूपमा आठओटा होटेल प्रयोग हुँदै आएका छन् । विभागले होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न दिँदा थलिएको होटेल व्यवसायलाई केही विजनेश मिलेको छ । सरकारले बजेटमार्फत पनि होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न प्रोत्साहन गरेको छ । सरकारले अनिवार्य रूपमा होटेल क्वारेन्टाइन बस्ने मापदण्ड बनाए पनि यो लागू नहुने होटेल एशोसिएसन नेपाल (हान) स्रोतको भनाइ छ । उनले भने, ‘विदेशबाट मानिसहरू कम आउने गरेका छन् भने अर्कोतर्पm अधिकांश यात्रु होटेलभन्दा पनि होम आइसोलेशनमै बस्न जाने गरेका छन् ।’

कोरोनाभाइरसका चुनौतीको बेला पाएको अवसर र त्यसबाट चुकेका हामी

–दस महिने नेपाल बसाइपछिको कर्मभूमिको यात्रा अहिलेसम्मको पृथक् यात्रा थियो । पृथक् यस मानेमा कि कोरोनाको अन्त्य भइनसकेको अवस्थामा कतार प्रवेशका निम्ति त्यहाँको सरकारले विशेष नियम लागू गरेको थियो । जसमा पीसीआर परीक्षण, होटेल क्वारेन्टाइन पुनः पीसीआर परीक्षण लगायत अन्य प्रक्रिया थिए । सबै प्रक्रिया मेरो निम्ति पहिलो अन...

बाग्लुङमा विदेशबाट आएकाहरू होटेल क्वारेन्टाइनलाई सुरक्षित मान्दै

बाग्लुङका विभिन्न विद्यालय, सामुदायिक भवन र सार्वजनिक स्थानमा निर्माण गरिएको क्वारेन्टाइन असुरक्षित

होटेल तथा रिसोर्टलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सुझाब

क्वारेन्टाइन अनुगमन तथा सहजीकरण समितिले होटेलहरूलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सरकारलाई सुझाब दिएको छ

शरदसिंह भण्डारीले आफ्नो होटल क्वारेन्टाइन बनाउन दिने

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक शरदसिंह भण्डारी र सोही पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले आफ्नो होटेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइन बनाउनका लागि दिएका छन् । महोत्तरीको बर्दिवासमा रहेको आफ्नो होटेल पावन मिथिलालाई क्वारेन्टाइनमा प्रयोगको लागि दिएको राजपा नेपालका महासचिव केशव झाले जानकारी दिए । प्रदेश २ …