काठमाडौं । सरकारले विभिन्न तीन देशका लागि नियमित उडान खुला गरेपछि नेपाल आउने नेपाली र विदेशी नागरिकलाई क्वारेन्टाइन बस्नका लागि होटेलहरू तोकिदिएको छ । पर्यटन विभागले क्वारेन्टाइनस्थलका रूपमा प्रयोेग गर्ने होटेलहरूको न्यूनतम ९ बुँदे मापदण्ड तोक्दै होटेलहरूको नामावली सार्वजनिक गरेको छ ।
होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने होेटेलहरूले सामूहिक रूपमा खाना खाने स्थल, बुफे, जिम, साउना, इन्डोर तथा आउटडोर गेम पूर्णरूपमा बन्द गर्नुपर्ने मापदण्ड राखिएको छ ।
विभागले कम्तीमा २० कोठा भएको होटेल, स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना गर्नेगरी होटेल परिसरको छुट्टै गेट वा कम्पाउन्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला ठाउँ र बगैंचा भएको हुनुपर्ने मापदण्ड तोकेको छ ।
होटेल क्वारेन्टाइनमा रहेका हवाई यात्रुलाई सेवा प्रदान गर्न र स्वाब परीक्षणको नमूना संकलनका लागि पर्याप्त खुला ठाउँ हुनुपर्ने, होटेल कोठामा टेलिभिजन, वाइफाई, अनिवार्य हुनुपर्ने, कोठामा अट्याच ट्वाइलेट र नुहाउन र पिउन तातो पानीको व्यवस्था भएको हुनुपर्ने मापदण्ड तोकेको छ । होटेलमा खाना र अन्य सेवाहरू कोठामा वा प्यासेजमा मात्र प्रदान गर्ने व्यवस्था, मिलाउनुपर्नेछ ।
प्रत्येक कोठामा १ हप्तालाई पुग्ने गरी साबुन, टुथपेस्ट, ब्रस, हेन्डवास र टावेल राखिएको हुनुपर्ने विभागले उल्लेख गरेको छ । सोमवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘नेपाली तथा विदेशी नागरिकहरू विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड २०७८’ लागू गरेको थियो । सोहीअनुसार नेपालीहरू नेपालमा आउँदा ७२ घण्टाको पीसीआर रिपोर्ट, होटेल बुक गरेको डकुमेन्ट ल्याउनुपर्ने र ५ दिन अनिवार्य होटेल क्वारेन्टाइन बस्नुपर्ने गरी मन्त्रालयले मापदण्ड बनाएको छ ।
उक्त दिन होटेल क्वारेन्टाइन बसेपछि सम्बन्धी होटेल तथा नियामक निकायको सिफारिशमा १० दिन होमक्वारेन्टाइन बस्ने गरी घर जान पाउने व्यवस्था गरिएको छ ।
मन्त्रालयले काठमाडौंको ठमेल, गोंगबुलगायत घना बस्ती भएका स्थानका होटेलमा क्वारेन्टाइन राख्न भने निषेध गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलने जोखिम उच्च हुने भन्दै मन्त्रालयले यी क्षेत्रका होटेलमा क्वारेन्टाइन राख्न निषेध गरेको हो ।
विभागले बुधवार सूचना जारी गर्दै होटेल क्वारेन्टाइनका रूपमा प्रयोग गर्न पाँचतारेस्तरका द सोल्टी काठमाडौं, सांग्रिला, ¥याडिसन, हायात गरी सातओटा होटेल तोकिदिएको छ । चारतारेमा होटेल शंकर, होटेल हिमालय र ग्रान्ड होटेल तोकेको छ । विभागको निर्णयअनुसार तीनतारेस्तरका पाँचओटा होटेल र पर्यटकिय स्तरका ५१ ओटा होटेल क्वारेन्टाइनको रूपमा प्रयोग गर्न सकिनेछ । यस्तै रिसोर्ट स्तरका दुईओटा पार्क भिलेज र गोकर्ण फरेस्ट रिसोर्ट रहेका छन् । यसअघिदेखि क्वारेन्टाइनका रूपमा आठओटा होटेल प्रयोग हुँदै आएका छन् ।
विभागले होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न दिँदा थलिएको होटेल व्यवसायलाई केही विजनेश मिलेको छ । सरकारले बजेटमार्फत पनि होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न प्रोत्साहन गरेको छ । सरकारले अनिवार्य रूपमा होटेल क्वारेन्टाइन बस्ने मापदण्ड बनाए पनि यो लागू नहुने होटेल एशोसिएसन नेपाल (हान) स्रोतको भनाइ छ । उनले भने, ‘विदेशबाट मानिसहरू कम आउने गरेका छन् भने अर्कोतर्पm अधिकांश यात्रु होटेलभन्दा पनि होम आइसोलेशनमै बस्न जाने गरेका छन् ।’