चारैतिर भ्रष्टाचार भगाउने कार्यक्रम जारी छन् । भ्रष्टाचारका मुद्दा र प्रतिवेदनहरू हजारौं हाराहारी छन् । अख्तियारदेखि अदालतसम्म मुद्दा, सुनुवाइ, थुनछेक बहस जारी छन् । अब त यदि तपाईंले आलु, प्याज, फलफूल किन्दै हुनुहुन्छ भने पनि त्यसमा पनि हरेक प्रकारका भ्रष्टाचारलाई भगाउने पूर्ण रूपमा ग्यारेन्टी हुन्छ । कसरी भन्नुहोला ? तपाईं हाम्रो भान्छामा आलु, प्याज आइपुग्न नीति निर्माता, बिचौलिया, प्रहरी, प्रशासन आदि सबैको भाग, स्वस्ति–शान्ति प्रक्रिया पुग्नुपर्छ । नत्र कि बोर्डरमा समातिन्छ कि विषादी परीक्षणमा, नभए तौल अपुग भएको वा कम गुणस्तरको बनिदिन्छ । अर्थात् तपाईं हाम्ले तरकारी किन्नुअघि नै भ्रष्टाचार र भ्रष्टाचारीलाई उनीहरूको मनशान्त गरेर पहिल्यै पाखा लगाइसकिएको हुन्छ । यसो गरेर सरकारले भ्रष्टाचारको समूल नष्ट गरेको पक्कापक्की गर्छ ।
हरेक सरकारको पहिलो प्राथमिकता भ्रष्टाचार निर्मूल नै रहेको छ । ‘म भ्रष्टाचार गर्दिन’ भन्ने वाक्य अफिस अफिसमा टाँस्ने अभियान चलाइएकै छ । ‘भ्रष्टाचारीको मुखै हेर्दिन’ भन्ने महान् प्रधानमन्त्री नेपालमै भए । ‘भ्रष्टाचारीको मुखमा किरा परोस्’ भन्ने पर्चा कति बाँडिए कति । भ्रष्टाचार रोक्ने ग्यारेन्टीकै लागि अख्तियार दुरुपयोग आयोग, संसदीय छानबिन आदि सक्रिय छन् । यी संस्थाहरू जसले जतिसुकै ठूलो भ्रष्टाचार गरेको भए पनि गरेको छैन भनेर क्लिनचिट थमाउन धेरै मेहनत गर्छन् ।
बजारमा तपाईं कुनै इलेक्ट्रिक गाडी वा कुनै सामान खरीद गर्दै हुनुहुन्छ भने विक्रेताले तपाईंले किनेको सामान बिग्रियो वा तलमाथि पर्यो भने साटफेर गर्ने वा फिर्ता गर्ने वारेन्टी–ग्यारेन्टी दिन्छन् । त्यसैगरी तपाईंले खरीद गर्ने प्रत्येक वस्तु तथा सेवामा भ्रष्टाचारलाई खत्तम गर्ने प्रावधान पहिल्यै राखिएको हुन्छ । त्यै भएर त हरेक अर्थमन्त्रीले हरेक बजेट भाषणमा पटकपटक भ्रष्टाचारलाई खत्तम गर्ने वारेण्टी ग्यारेण्टीसहितको घोषणा गरिरहन्छन् । प्रत्येक सांसददेखि मन्त्री र सरकारी हाकिमहरू पनि भ्रष्टाचारलाई कार्यालयमा प्रवेश गर्नै नदिने वाचा दोहोर्याइरहन्छन् । यातायात, मालपोत कार्यालयहरूमा बिचौलिया छिर्नै नदिने नीति लिएका छन् र बडाबडा तुल टाँगिएका छन् ।
चुरोट सुर्तीका बट्टामा धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ भनेर लेखेको हुन्छ र त्यस्ता वस्तुको खपत स्वाट्टै घटेको छ रे । नघटेको भए किन लेख्न लगाइन्थ्यो र ? त्यसैगरी अब नेपालमा विक्री हुने हरेक वस्तुको बाहिर ‘भ्रष्टाचार समाजको क्यान्सर हो’ भनेर लेखौं भन्ने यस पंक्तिकारको जोडदार माग छ । शायद आउने बजेट भाषणमा आउला यो पनि । टेलिफोनका रिंंगटोन, टिभीका पर्दामा, रेडियोमा अनि चोक चोकमा माइक राखौं ‘भ्रष्टाचार समाजको क्यान्सर हो’ भन्दै । हरेक कार्यक्रममा राष्ट्रिय गान गाउनुपूर्व यही सन्देश गरौं प्रवाह । अनि न हुन्छ बाँकी बचेको भ्रष्टाचार पनि स्वाह, अनि न पाइन्छ वाह वाह ⁄ जसरी उपभोक्ताले सामान खरीद गर्दा उत्पादक तथा विक्रेताबाट सस्तो, राम्रोेदेखि र गुणस्तरीय सामान लिँदा अनेक किसिमका ग्यारेन्टी पाउँछन्, त्यस्तै सरकार, नेता र कर्मचारीबाट भ्रष्टाचार खत्तम पार्ने ग्यारेन्टी पनि सस्तोदेखि गुणस्तरीयसम्म पाइन्छ । यता, ग्यारेन्टी, उता ग्यारेन्टी । दाँया ग्यारेन्टी, बाँया ग्यारेन्टी ।
ग्यारेन्टी नै ग्यारेन्टी । जसरी भाइरस भगाउने र गरीबी घटाउने ग्यारेन्टी चारैतिरबाट वर्षिरहेको छ, त्यसैगरी संसद्देखि प्रत्येक सरकारी कार्यालय, विभागबाट समेत भ्रष्टाचार भगाउने ग्यारेन्टी पूर्ण गतिमा चलिराछ । अझ यो मनसुनी मौसममा त देशैभरिका सडक र खाल्डाखुल्डी देखेर समेत भ्रष्टाचार भागेको भाग्यै छ, अथवा तिनै खाल्डाखुल्डीमा डुबिरहेको छ, पुरिइरहेको छ । तपाईंले कतै भ्रष्टाचार देख्नुभएको छ त ? भए त ग्यारेन्टी पाएको वस्तु माग्न गइहाल्नुहुन्थ्यो नि ? तपाईं हामी सबै ढुक्क छौं, किनभने सरकारले भ्रष्टाचार हुन नदिने ग्यारेन्टी जो गरेको छ ।
साबुन, पानी, फ्रिज, टिभीदेखि नैतिकतासम्मको ग्यारेन्टी छ यो देशमा । भारतमा नचल्ने भारू सटाउनेदेखि सजिलै विदेश पठाउनेसम्म ग्यारेन्टी छरपस्ट छन् । यत्रा यत्रा ग्यारेन्टी छन् कि अब यी ग्यारेन्टीहरू देखेर भ्रष्टाचारीहरू नै हार खाइरहेका छन् ।
त्यसैले त रामराज्य छ देशमा । कुनै नेता गंगाजलले मुख धोइराछन् । कोही मन्दिर मन्दिर चहार्दै नैवेद्य र फूल चढाइराछन् । दलालहरू आँखा नदेख्नेहरूलाई ऐना देखाइराछन् । नेताहरू जनताका बाँझा तालुहरूमा आलु फलाउने भन्दै फलाकिरहेछन् । हाकिमहरू कपाल नभएकालाई काइँयो दिने योजना बनाइराछन् । मुर्दाहरू अर्थीलाई काँध दिने कुरा सुनाइराछन् । नेताका चरणमा पुगेका भोटरहरू विभिन्न सिफारिशका लागि बिन्तीभाउ, रोइकराइ गरिराछन् । नेताहरू आफ्ना चप्पल हातमा लिएर भनिरहेका छन् ‘मान या नमान हाम्रो त यही हो विगत अनि वर्तमान’ ।
जनता पनि के कम, तिनै नेताका चप्पल बोकेर आपसमा एकअर्कालाई चप्पल हिर्काइरहेका छन् । राजनीतिक आकाशमा थरीथरीका चप्पल हल्लिरहेका छन् । यो जातिको चप्पल, त्यो जातिको चप्पल । यो धर्मको चप्पल, त्यो धर्मको चप्पल । यो दलको अझ यो गुटको चप्पल, त्यो गुटको चप्पल । यो प्रदेश र यो जिल्लाको वा त्यो जिल्लाको चप्पल । भ्रष्टाचार भगाउने नेतावादी चप्पलहरू लहराइरहेका छन् । सक्कली दलका नक्कली चप्पलहरू हल्लिरहेका छन् । स्वतन्त्रका नाममा परतन्त्री चप्पल पनि खैलाबेला गरिरहेका छन् ।
प्रत्येक ठाउँमा भ्रष्टाचारको यति राम्रोसँग उपचार भइरहेको देखेर बिचरा इमानदारी जिल्ल परेको छ । इमानदारी अब सोचिराछ, ‘अब म कहीँ गएर के हुन्छ ? टिभीमा भ्रष्टाचारविरोधीलाई देखाउँछन्, अखबारमा उसैलाई लेखाउँछन्, होर्डिङ बोर्ड र सामाजिक सञ्जालको भित्तामा उनै छाउँछन् । म इमानदारलाई देखाएर तिनले के
पाउँछन् ?’ पत्रकार उनकै, कर्मचारी, प्रहरी, प्रशासन, नेता–अभिनेता सबै सबै भ्रष्टाचारीकै भएपछि अब भ्रष्टाचारको उपचार त पक्का भैगो नि । सडकदेखि सदनसम्म उसकै झलक, तडक, भडक, प्रदर्शन प्रत्येक दिशामा कायम छ । इमानदारीले जेसुकै सोचोस्, यति भएपछि भ्रष्टाचार भाग्ने त ग्यारेन्टी नै छ त ⁄ भ्रष्टाचार अब छु मन्तर हुने भो । यसमा कुनै शंका छ र ?
मन मैलो तन उज्यालो, भाषणमा उच्च विचार
कुरा सदाचारको तर भित्र छ टन्न भ्रष्टाचार
लोकतन्त्रको रूखमा कौवा गाउँछ सदाचार
आहत जनता रुन्छन्, भन्छन् अति भोे पापाचार ।
महँगीले मार्यो सबलाई, योजना, बजेट
सबैमा झेल
पंख लगाई उडे नभमा दाल, चामल र तेल
फेसबुक, ट्विटर अखबारतिर बन्छन् टनेल र रेल
सिन्को नभाँच्ने, करमा पेल्ने सरकारको
उल्टो खेल ।
कालो धन थुपार्दै नेता, रोक्ने कसको जोर
हाँगाहाँगामा सरकार छ, पातपातमा कर चोर
अपराधीसँगै चिया पिउँछ पुलिस भन्छ ‘फरार’
भ्रष्टाचार कतै नदेखिने तर भइरहने देश अपार ।
तामझाम खुब देखाऊ, नीति र योजना देशको
काम चाहिँ कछुवा तालमा खेल हो यो चेसको
भ्रष्टाचारको रामराज्यमा के काम छ र इमानको
त्यसैले अब जुटौं माग्दै राज्य विधिविधानको ।