अर्थमन्त्री
जनार्दन शर्मा अन्ततः राजीनामा दिने मूडमा पुगेका छन् । आज बस्ने भनिएको प्रतिनिधि
सभाको बैठकमा सम्बोधन गरेर राजीनामा दिने तयारीमा शर्मा रहेको उनीनिकट स्रोतले दाबी
गरेको छ ।बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिलाई सामेल गराएको
र सोको सीसीटीभी फूटेजसमेत डिलेट गरेको आरोप शर्मामाथि छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'निवासमा
बसेको पूर्व स्थायी कमिटीका सदस्यहरूको बैठकमा अधिकांशले शर्माले राजीनामा दिन
सुझाएका थिए । त्यस्तै शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गर्नेबारे
पनि कुरा भइरहेको स्रोतको दाबी छ । आजै बसेको माओवादी केन्द्रको बैठकमा अर्थमन्त्रीका
सम्बन्धमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग छलफल गर्ने कुराकानी भएको थियो । तर
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने राजीनामा वल्तिर कुनै छलफल
नहुने स्पष्ट पारिसकेका छन् । 'एमालेसँग छलफल हुन सकेको भए संसदीय समिति बनाएर छानबिनका
लागि अघि बढ्न सक्ने कुरा हुन्थ्यो,' स्रोतले भन्यो, 'एमाले छलफल नै गर्न तयार नभएपछि
राजीनामा दिने मूडमा अर्थमन्त्री पुग्नुभएको हो ।'आजै अर्थसचिव मधुकुमार मरासिनी अनिश्चितकालका लागि विदामा
बसेका छन् । चारैतिरबाट असहयोग हुने देखेपछि शर्मा राजीनामा दिने मूडमा पुगेका
हुन् ।
आज ११ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक यो समाचार
लेख्दासम्म बस्न सकेको छैन । शर्माले आफ्नो भनाइ राखेर राजीनामा दिने भनेपछि उनैका
लागि बैठक रोकिएको बताइएको छ । नेकपा एमालेले भने अर्थमन्त्री शर्माको भनाइ
नसुन्ने बताएको छ ।