नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड नाघे , एटीएम प्रयोगकर्ता कति ?
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार ३१ वैशाखसम्म मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ताहरूको संख्या एक करोड ७६ लाख ७६ हजार २५९ पुगेको हो ।
काठमाडौं। अहिले तपाईंहरू एटीएममा पैसा झिक्न जाँदा त्यहाँ ‘कार्डलेस सेवा’ भनेको देख्न सक्नुहुन्छ । त्यो भनेको तपाईंले एटीएम कार्डविना नै पैसा झिक्न पाउने सेवा हो ।
एटीएम कार्ड नबोक्दा पनि एटीएम मेसिनबाट पैसा झिक्न मिल्छ भने वार्षिक ५०० रुपैयाँ तिरेर किन उक्त कार्ड चलाउने ? मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले त्यसमा अतिरिक्त शुल्क नतिरेरै यो सेवा लिन सक्छन् । त्यसका लागि ग्राहकहरू स्मार्टफोन प्रयोगकर्ता भने हुनैपर्छ ।
मोबाइल बैंकिङ सेवा लिएका ग्राहकका लागि कार्ड र चेकविनै पैसा निकाल्न मिल्ने यो अतिरिक्त सुविधा हो । कोभिड अघिसम्म बैंकका ग्राहकले एटीएम कार्डबाट वा चेक काटेर मात्रै आफ्नो खातामा भएको पैसा निकाल्न पाउँथे ।
कसरी लिने कार्डलेस सेवा ?
कार्डलेस एटीएम सेवा लिन पहिला त तपाईंले मोबाइल बैंकिङ सेवा लिनुपर्छ । मोबाइल बैंकिङको सुविधा तपाईंसँग छ भने सम्बन्धित बैंकको मोबाइल एपमा ‘कार्डलेस विथड्र’ सेलेक्ट गर्नुपर्छ । त्यसपछि तपाईंले झिक्न चाहेको रकम ५०० रुपैयाँले गुणन हुनेगरी उल्लेख गर्नुपर्छ । त्यसपछि विथड्रमा क्लिक गर्नुभयो भने तपाईंको रजिष्ट्रेड मोबाइल नम्बरमा ओटीपी कोड आउँछ । त्यसपछि एटीएम मेसिनमा भएको कार्डलेस विथड्र बटनमा थिचेर कार्डलेस सेवाका लागि प्रक्रिया शुरू गर्नुपर्ने हुन्छ ।
एटीएममा भाषा छनोट गरेपछि मोबाइल बैंकिङमा दर्ता भएको आफ्नो मोबाइल नम्बर राखेर आफूले निकाल्न चाहेको रकम उल्लेख गर्नुपर्छ । उक्त रकम र प्रयोगकर्ताले मोबाइल बैंकिङमा प्रविष्ट गरेको अघिल्लो रकम भने एउटै हुनुपर्छ ।
प्रयोगकर्ताले आफ्नो मोबाइलमा अघि प्राप्त गरेको ओटीपी नम्बर राखेपछि एटीएम कार्डविना नै एटीएमबाट आफूले निकाल्न चाहेको पैसा निकाल्न सकिन्छ । ग्राहकले एकपटकमा न्यूनतम ५०० देखि अधिकतम २५ हजार रुपैयाँसम्म झिक्न सक्नेछन् । त्यस्तै एक दिनमा १ लाख रुपैयाँ र एक महीनामा ४ लाख रुपैयाँसम्म झिक्न सकिन्छ ।
बढ्दैछन् कार्डलेस सेवा प्रयोगकर्ता
नेपालमा कोभिड संक्रमण फैलिएको समयमा धेरै मानिस एटीएमबाट पैसा निकाल्न डराउँथे । त्यसैले कोभिड संक्रमणको समयमा नेपाली बैंकहरूले कार्डलेस एटीएमको आवश्यकता महसुस गरी यसको शुरुआत गरेका थिए । यसको माध्यमबाट पैसा झिक्ने ग्राहक निरन्तर बढिरहेका छन् ।
पहिला चेक र एटीएमबाट मात्रै पैसा झिक्न मिल्थ्यो । एटीएम बिर्सिए/हराए वा एटीएमको पिनकोड बिर्सिएमा पनि ग्राहकलाई पैसा झिक्न अप्ठ्यारो नहोस् भनेर एटीएमबाट पैसा निकाल्ने सुविधा मोबाइल बैंकिङसँग जोडिएको हो ।
कार्डलेस एटीएमका फाइदा
एटीएम कार्ड बोक्न नपर्ने, एटीएमको वार्षिक नवीकरण शुल्क बचत हुने लगायत कार्डलेस एटीएमका राम्रा पक्ष हुन् । तर, कार्डलेस सेवा अहिले सीमित बैंकको च्यानलभित्र मात्र कायम छ । यसका लागि कुनै पनि शुल्क लाग्दैन । मोबाइल बैंकिङ सेवाकै शुल्कमा यो सेवा दिइएको छ । अहिले सम्बन्धित बैंकको एटीएम सञ्जालबाट मात्रै यो सेवा लिन पाइन्छ । तर, आगामी दिनमा अन्तर–बैंक एटीएमबाट पनि कार्डलेस सेवा दिन सकिने बैंकरहरू बताउँछन् ।
नेपालमा कार्डलेस एटीएम सेवाको इतिहास
नेपालमा कोभिड संक्रमणको समयमा साविक सन्राइज बैंकले पहिलोपटक कार्डलेस एटीएमको शुरुआत गरेको थियो । अहिले यो सुविधा केही बैंकले दिँदै आएका छन् । नेपालमा कार्डलेस एटीएम सेवा नेपाल इलेक्ट्रोनिक भुक्तानी प्रणालीबाट सञ्चालित हुने गरेको छ । अहिले मोबाइल बैंकिङको प्रयोगकर्ता बढ्दै गएका छन् । मोबाइल बैंकिङको प्रयोगकर्ता बढेसँगै कार्डलेस एटीएमको प्रयोगकर्ता पनि आउने दिनहरूमा बढ्ने बैंकहरूको विश्वास छ ।
स्मार्टफोन तथा इन्टरनेटको बढ्दो पहुँच, बैंक वित्तीय संस्था र विभिन्न वालेट कम्पनीको सेवा विस्तार तथा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने सरकारी नीतिका कारण मोबाइलबाट भुक्तानी गर्ने प्रवृत्ति निकै बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को तथ्यांकले मोबाइल बंैकिङ कारोबार ४२ प्रतिशत तथा क्यूआर कोडमार्फत भुक्तानी १०७ प्रतिशत र मोबाइल वालेटको प्रयोग १४ प्रतिशतले बढेको छ । यसले बिस्तारै नगदरहित कारोबारलाई सम्भव बनाउँदै लगेको देखिन्छ भने भोलिका दिनमा डिजिटल इकोनोमीको बाटो खुल्नेसमेत देखिन्छ ।
विद्युतीय भुक्तानीमा युवा वर्गको आकर्षण देखिएको छ भने पुरानो पुस्ता यसको प्रयोगमा हिचकिचाइरहेको अवस्था पनि छ । यसबाट हुने कारोबार शतप्रतिशत सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने हो भने पुरानो पुस्ता पनि यसमा अभ्यस्त हुने देखिन्छ । २०८० असारमा मोबाइल बैंकिङमार्फत २ खर्ब ३३ अर्ब ४४ करोड रुपैयाँ, क्यूआरमार्फत ३० अर्ब १४ करोड रुपैयाँ तथा वालेटमार्फत २० अर्ब ३२ करोड रुपैयाँ कारोबार भएको छ । एक वर्षको अवधिमा मोबाइल बैंकिङका प्रयोगकर्ता ३० लाख थपिएका छन् । २०७९ असारमा १ करोड ८३ लाख जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेकोमा २०८० असारमा २ करोड १३ लाख पुगेका छन् । यस्तै वालेटका प्रयोगकर्ता १ करोड ३६ लाखबाट १ करोड ८९ लाख पुगेका छन् । यसरी तथ्यांक बढ्दै जानुको कारण प्रविधिको प्रयोगले सहजता भइरहेको छ भनेरै हो ।
अहिले नेपालमा जसरी बैंक तथा वित्तीय संस्थाले प्रविधिको प्रयोगलाई जोड दिएका छन्, त्यसैगरी सबै सेवाप्रदायक कार्यालयले पनि त्यसलाई अँगाल्न सक्नुपर्छ । अनि मात्र देशमा एउटै खाले संयन्त्रको विकास हुन्छ ।
यतिमात्र होइन, कनेक्ट आईपीएस, आरटीजीएस, पोस, र ईकमर्सको प्रयोग पनि बढ्दो छ । यी सबै विद्युतीय भुक्तानीकै माध्यम हुन् । एटीएम मेशिनबाट पैसा निकाल्नेको संख्या पनि बढ्दो छ । यद्यपि यो विद्युतीय भुक्तानीको माध्यम भने मानिन्न किनकि यसबाट नगद निकालेर कारोबार गरिन्छ । विद्युतीय कारोबारले समयको बचत हुन्छ र लागत पनि कम गर्छ । तर, नेपालको आफ्नै पेमेन्ट गेटवे नहुँदा अन्तरबैंक कारोबारका लागि विदेशी गेटवे प्रयोग गर्नुपर्ने बाध्यता छ । नेपाल राष्ट्र बैंकले आफ्नै गेटवे बनाउने भनी तयारी थालेको पनि वर्षौं बितिसक्यो । यसमा विलम्ब हुँदा अन्तरबैंक कारोबारका लागि पैसा विदेशिइरहेको छ ।
अर्को, आफ्नै गेटवे हुँदा विद्युतीय भुक्तानी केही सस्तो बनाउन सकिन्छ । यसो भयो भने नगद कारोबार बिस्तारै हट्दै जानेछ । नोट छपाइका लागि लाग्ने खर्चसमेत यसले जोगाउनेछ ।
पारदर्शिताका लागि विद्युतीय कारोबार महत्त्वपूर्ण हुन्छ । मोबाइल बैंकिङलाई प्रभावकारी बनाउन सक्ने हो भने गरीबी निवारणमा समेत योगदान पुग्ने तथ्य केही अफ्रिकी देशले प्रमाणित गरिसकेका छन् ।
अहिले विद्युतीय भुक्तानी गर्दा असफल हुने, इन्टरनेटको शुल्क महँगो, तथा प्रविधिको प्रयोगको अज्ञानता आदि कारणले स्मार्टफोनको व्यापकताको दाँजोमा विद्युतीय भुक्तानी बढ्न सकेको छैन । त्यसैले आफ्नै गेटवे बनाउनेदेखि कारोबार शुल्क घटाउनेसम्मका काम गरेर विद्युतीय भुक्तानी बढाउन सकिन्छ ।
नेपालमा जसरी बैंक तथा वित्तीय संस्थामा नयाँ प्रविधिको प्रयोग बढ्दो छ, त्यसैगरी सरकारी निकायले भने नयाँ प्रविधिमा सक्रियता देखाएको पाइँदैन । अझै पनि कैयन् सरकारी कार्यालयमा कर्मचारीले रजिस्टरमा हाजिरी गर्ने प्रचलन छ । पक्कै पनि प्रविधिको प्रयोगमा एकैखालै प्रणालीको आवश्यकता पर्छ । यस्तो प्रणाली सबैका लागि एउटै हुन्छ । कागजमा जस्तो यसमा व्यक्तिले आफूले चाहेजस्तो मिलाउन सक्ने सम्भावना अलि कम हुन्छ । व्यक्तिको साटो प्रणाली हावी हुने हुँदा अनुशासनको विकास भई लक्ष्य प्राप्तिमा मद्दत पुग्छ । अहिले नेपालमा जसरी बैंक तथा वित्तीय संस्थाले प्रविधिको प्रयोगलाई जोड दिएका छन्, त्यसैगरी सबै सेवाप्रदायक कार्यालयले पनि त्यसलाई अँगाल्न सक्नुपर्छ । अनि मात्र देशमा एउटै खाले संयन्त्रको विकास हुन्छ, गफ होइन काम गरेको देखिन्छ । त्यसैले बैंक तथा वित्तीय संस्थाले गरिरहेको प्रविधिको प्रयोग सबैका लागि उदाहरणीय बन्नुपर्छ ।
कोर बैंकिङ प्रणालीको अर्थ बैंकिङ क्षेत्र डिजिटाइजेशन हुनु हो र सबै कारोबार प्रविधिमार्फत हुनु हो । कोर बैंकिङ सबै बैंक तथा वित्तीय संस्थामा कम्प्युटर प्रणालीका रूपमा विकास त भएको छ तर अझैं पनि कतिपय कारोबार म्यानुअल रूपमा नै गर्ने गरिन्छ । विदेशको दाँजोमा डिजिटाइजेशनको क्षेत्रमा नेपाल अझैं पछाडि छ । कोर बैंकिङ प्रणालीको दायरा फराकिलो भएसँगै यसको जोखिम न्यूनीकरणमा भने उदासीनता देखिन्छ ।
अनलाइनको माध्यमबाट अत्याधुनिक प्रविधिमा आधारित प्रणालीको प्रयोगद्वारा बैंकिङ कारोबार गर्न कम्प्युटराइज्ड प्रणालीलाई नै कोर बैंकिङ प्रणाली भन्ने गरिन्छ । यसमा बैंकिङ कारोबारको अभिलेख दीर्घकालसम्म राख्न सकिन्छ । कुनै पनि बैंकको केन्द्रीय कार्यालयमा एक सेन्ट्रल सर्भरको व्यवस्था गरिएको हुन्छ र यसमा सबै शाखा प्रशाखाहरूलाई लिंक गरिएको हुन्छ । यो वेबबेसमा आधारित हुने हुँदा बैंकिङ अभिलेख इन्टरनेटको माध्यमबाट जुनसुकै शाखाबाट सजिलै हेर्न र कारोबार गर्न सकिन्छ ।
नेपालमा विसं २०५८ बाट वित्तीय क्षेत्र सुधार कार्यक्रम शुरू भएसँगै कोर बैंकिङ प्रणालीले प्रश्रय पाएको हो । विशेष गरी सरकारी स्वामित्वमा रहेका दुई ठुला राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकमा यसले सकारात्मक प्रभाव पारेको थियो । कोर बैंकिङ प्रणालीको क्षेत्रमा बैंकिङ क्षेत्रले फड्को मारेको छ तापनि कम्प्युटरको प्रोसेसिङ प्रणाली र नयाँ बैंकिङ प्रविधिको प्रयोगमा देखिएको अज्ञानताका कारण जोखिम बढिरहेको छ । यान्त्रीकरण भइसकेपश्चात् त्यसको कमजोर क्षमता, मर्मतसम्भारमा कमी, सम्बद्ध कर्मचारीलाई उचित तालीमको अभाव आदिले यसको सही सञ्चालनमा कमजोरी देखिन्छ । सम्भावित जोखिमहरूलाई पहिचान गरी त्यसको न्यूनीकरण गर्ने उपायहरू अवलम्बन गर्ने कार्यमा बैंकिङ क्षेत्रमा उदासीनता देखिन्छ ।
देशमा कोरोना संकटले धेरै समय बन्दाबन्दी हुँदा बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय माध्यमलाई बढावा दिए र यो सफल पनि भयो । धेरै मानिसले प्रयोग गरेको हुँदा यसको महत्व झन् बढ्यो । यसको प्रयोग बढेसँगै साइबर आक्रमण र ≈याकिङबाट बच्न उल्लेखनीय रूपमा मापदण्डअनुरूपको सुरक्षा प्रबन्ध गरिएको पाइएन । बैंकिङ उपकरण सञ्चालन गर्ने, मोबाइल बैंकिङ कारोबार गर्न जान्ने अर्थात् बैंकिङ प्रविधिको ज्ञान भएको ग्राहक संख्या करीब २० प्रतिशतको हाराहारीमा देखिन्छ । अधिकांश ग्राहक बैंकमा नै उपस्थित भई नगद जम्मा गर्ने र चेकद्वारा भुक्तानी लिने हुँदा बैंकिङ क्षेत्रमा अझैं ग्राहकको भौतिक उपस्थिति बढी देखिन्छ ।
यसलाई कम गर्न बैंकिङ प्रविधि प्रयोगका बारेमा जनसाधारणलाई वित्तीय रूपमा साक्षर तुल्याउन ढिला भइसकेको छ । यो जति ढिला हुन्छ उति हामी कोर बैंकिङको प्रणालीको उपयोगमा पछि पर्दै जान्छौं । तसर्थ बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई बैंकिङ प्रविधिको प्रयोग बारेमा वित्तीय साक्षरता दिनु आवश्यक छ । कार्यालयमा जडित कम्प्युटरलगायत प्रविधिको नियमित मर्मतसम्भार, यससम्बन्धी विषयमा कर्मचारी तालीमको साथै कोर बैंकिङ प्रणालीलाई बलियो र भरपर्दो बनाउन पर्याप्त बजेट दिनुपर्छ र निरन्तर अनुगमन गरिनुपर्छ ।
कोर बैंकिङ प्रणालीले बैंकिङ क्षेत्रमा सुशासन बढाउनेछ । ई–कर्मस, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, प्रतीतपत्र तथा बैंक ग्यारेन्टीजस्ता कार्यमा सहजता ल्याउँछ । ग्राहक सेवासमेत छिटोछरितो हुने, पेपरलेस काम हुने, कार्य बोझलाई घटाउने र ग्राहक संख्या बढाउने समेत कार्य यसले गर्छ । त्यस्तै बैंकको कार्यदक्षताको अभिवृद्धि, ग्राहक सेवामा सुधार, अत्याधुनिक भुक्तानी प्रणाली, तथ्यांकको सुरक्षित भण्डारण, आन्तरिक नियन्त्रण र निरीक्षणमा सहजता, केन्द्रीय बैंक तथा सरकारको नीति निर्माणमा सहयोग, सञ्चालन लागतमा कटौैती, दैनिक बैंकिङ कारोबारमा सहजता जस्ता महत्वका कारण कोर बैंकिङ प्रणाली निकै उपयोगी छ ।
यसका चुनौतीहरूमा तथ्यांक सुरक्षाको समस्या, खर्च बढी लाग्ने, दक्ष कर्मचारीको अभाव, नेपालमा सुस्त इन्टरनेट र बेलाबेलामा कनेक्शन आइरहने समस्या, त्यसले दैनिक कारोबारमा आउने समस्या आदि रहेका छन् । साइबर आक्रमणको बढ्दो जोखिम, सिस्टम अडिटको समस्या, फ्रड र फेक कारोबारको समस्या, वित्तीय साक्षरता अर्थात् ग्राहकमा प्राविधिक ज्ञानको अभाव पनि चुनौती हुन् ।
नेपालमा कोर बैंकिङ प्रणालीअन्तर्गत २०७९ को असार मसान्तसम्म विद्युतीय भुक्तानी प्रणालीका साधनहरू प्रयोगकर्ता एटीएम संख्या ४ हजार ६०२, मोबाइल बैंकिङ ग्राहक १ करोड ८३ लाख ७ हजार २५५, इन्टरनेट ग्राहक १ करोड ६८ लाख ४३ हजार १०० देखिन्छ । २०७९ चैतमसान्तसम्म नेपालभर क, ख, ग, घ र पूर्वाधार विकास बैंकसमेत गरी ११९ बैंक तथा वित्तीय संस्था र तिनका ११ हजार ६४३ शाखा कार्यालय छन् । सबै कोर बैंकिङ प्रणालीमा आबद्ध भए पनि अधिकांशमा ४० प्रतिशत कारोबार कागजी रूपमा गरिएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाका कतिपय कार्यालयमा अझैं पनि कागजपत्रको चाङलाई कम्प्युटराइज्ड गरी व्यवस्थित गर्न सकिएको छैन ।
नेपालको बैंकिङ क्षेत्रले कोर बैंकिङ प्रणालीको थप विकास र यस क्षेत्रको सेवालाई थप गुणस्तरीय र भरपर्दो बनाउन एकातर्फ प्रविधिमैत्री कानून पर्याप्त देखिँदैन भने अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाले प्रविधिमा ठूलो लगानी गर्न नसकेको अवस्था छ । साथै पर्याप्त जनचेतना र साक्षरता समेत नभएको हुँदा कोर बैंकिङ प्रणालीलाई अन्तरराष्ट्रिय स्तरमा विकास गर्न र भविष्यमा नेपाललाई पनि पेपरलेस बनाउन सम्बद्ध निकायले बेलैमा कार्ययोजना बनाई कार्यान्वयन गर्न सक्नुपर्छ । यसरी डिजिटाइजेशनको माध्यमबाट अर्थतन्त्रलाई थप गतिशील बनाउन सकिन्छ ।
लेखक दिवाकर वशिष्ठ बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।
काठमाडौं । कुमारी बैंकका ग्राहकलाई क्वालिटी सोलुसन प्रालिले १५ प्रतिशतसम्म छूट दिने सम्झौता भएको छ ।
बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता र डेबिट तथा क्रेडिट कार्डवाहकले क्वालिटी सोलुसनबाट विभिन्न क्षमताका उपकरण खरीद गर्दा उक्त छूट पाउने भएका हुन् ।
ग्राहकलाई यस्ता विद्युतीय उपकरण खरीद गर्दा सहुलियत प्राप्त होस् भन्ने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकले ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटीएम तथा ६२ शाखारहित बैंकिङ इकाईसहितका सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ ।
माछापुच्छरे बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ ।यस सेवा मार्फत विदेशबाट बैंकको भिसा कार्ड प्रयोगकर्ता ग्राहकलाई बिना झन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिनेछ । यस सेवा मार्फत भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएम मार्फत १६ अंकको भिसा […]
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका शाखा विस्तार भएसँगै ३३ प्रतिशत जनसंख्यामा डेबिट कार्ड (एटीएम कार्ड) पुगेको देखिएको छ ।
तथ्यांक विभागले हालै सार्वजनिक गरेको २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा र नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकलाई आधार मान्दा कुल जनसंख्याको ३३ दशमलव ७६ प्रतिशतले मात्र एटीएम कार्ड लिएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पुससम्म एटीएम कार्ड लिनेको संख्या ९८ लाख ५५ हजार २२१ पुगेको छ । यसमध्ये वाणिज्य बैंकबाट ९३ लाख ९९ हजार ५२५, विकास बैंकबाट ४ लाख १७ हजार ८४६ र फाइनान्स कम्पनीबाट ३७ हजार ८५० एटीएम कार्ड जारी भएको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । यस जनसंख्यालाई आधार मान्दा ३३ प्रतिशत जनसंख्याले एटीएम कार्ड लिएको देखिएको हो ।
बैंकिङ क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै क्यूआर कोड र मोबाइल बैंकिङ प्रयोगकर्ता बढ्दै गएका छन् । तर, यी प्रविधिले एटीएमलाई विस्थापन गर्न नसक्ने नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले बताए । उनका अनुसार एटीएम कार्ड विस्थापन हुनलाई नगदरहित कारोबार व्यापक हुनुपर्छ । ‘क्यूआर कोडको प्रयोगले नगद कारोबार कम भएको छ । तर, नगद कारोबार विस्थापन नभई एटीएम विस्थापन हुन सक्दैन । बरु एटीएमकै रूपमा नयाँ प्रविधि भित्रिन सक्छ,’ उनले भने । पछिल्लो समय बैंक खाता बढेको अनुपातमा एटीएम कार्ड लिनेको संख्या नबढेको ज्ञवालीले बताए ।
गतवर्षको पुसदेखि चालू आवको पुससम्ममा एटीएम कार्ड लिनेको संख्या १८ लाख ६ हजार थपिएको छ । अघिल्लो वर्षको यस अवधिको दाँजोमा यो संख्या २२ दशमलव ४४ प्रतिशतले बढी हो ।
क्रेडिट कार्ड लिनेको संख्या भने बढेको छ । गत आवको पुससम्म १ लाख ७६ हजार ४१४ जनाले क्रेडिट कार्ड लिएका चालू आवको सोही अवधिमा २ लाख १५ हजार १९९ ले लिएका छन् । १ वर्षको अन्तरालमा क्रेडिट कार्ड लिनेको संख्या ३८ हजार थपिएको हो । यो भनेको २१ दशमलव ९८ प्रतिशतले बढी हो ।
यस अवधिमा प्रिपेड कार्ड लिनेको संख्या पनि बढेको छ । गत आवको पुससम्म ५५ हजारले प्रिपेड कार्ड लिएका थिए भने चालू आवको सोही अवधिमा ८६ हजार ७९९ जनाले प्रिपेड कार्ड लिएका छन् । यो गत आवको पुससम्मको तुलनामा ३१ हजारले बढी हो । प्रिपेड कार्ड बैंकमा खाता भएका र नभएका दुवैले निश्चित रकम तिरेर प्राप्त गर्ने कार्ड हो ।
डिजिटल प्रविधिमा नेपालले गति लिँदै छ । कार्तिक महिनाको तथ्यांकमात्र हेर्दा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या डेढ करोडमाथि पुगिसकेको देखिन्छ । एटीएम कार्डको प्रयोगकर्ता कुल ९३ लाख माथि देखिन्छ, र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १२ लाख माथि रहेको देख्न सकिन्छ । देशमा धेरै भूभामा क्यूआर कोड र पीओस मेशिन देखिन्छ । हिजो जस्तो आज नगद नै बोकेर हिँड्नुपर्ने बाध्यता छैन । पेट्रोल पम्पदेखि पसलसम्म नगद कारोबारको विकल्प आइसकेको देखिन्छ ।
बैंकहरूले अलग्गै विभाग बनाएर डिजिटल यात्रालाई जसरी प्रवद्र्धन गरे त्यसले अर्थतन्त्र विस्तारमा पनि सहयोग पुर्याएको छ ।
बैंकबाहेकका क्षेत्रहरूमा पनि डिजिटल प्रविधिको बिगबिगी छ । एउटा दुर्गम भेगमा बसेर प्राथमिक शेयरमा भागेदार हुन सकिन्छ, दोस्रो बजारमा लगानी गर्न सकिन्छ । बीमासम्बन्धी सम्पूर्ण जानकारी र हिसाब बीमाको मोबाइल एप्लिकेशनमार्फत गर्न सकिन्छ । नागरिक लगानीकोषमा जम्मा भएको आफ्नो भागको हिसाब अनलाइन हेर्न सकिन्छ ।
यस परिवर्तनको निमित्त समग्र बैंक तथा वित्तीय संस्था एवम नेपाल राष्ट्र बैंक र अन्य नियामक निकायको भूमिका सराहनीय छ । बैंकहरूले अलग्गै विभाग बनाएर डिजिटल यात्रालाई जसरी प्रवद्र्धन गरे त्यसले अर्थतन्त्र विस्तारमा पनि सहयोग पुर्याएको छ । दूर दराजको गाउँमा आज महँगो शुल्क तिरेर रिचार्ज कार्ड किन्नुभन्दा मोबाइल बैंकिङबाट टप अप गर्न थालिएको छ । आफ्नो खाताका बारे सामान्य जानकारी घरमै बसेर लिन सकिन्छ । प्लेनको टिकट किन्न कुनै बिचौलियाको प्रयोग गर्नु नपर्ने अवस्था आइसकेको छ । यी सबले गर्दा समग्र भुक्तानी प्रणाली आधुनिक बन्न थालेको छ ।
बेलायतमा २०२० मा ७६ प्रतिशतले अनलाइन बैंकिङ प्रयोग गरेको तथ्यांक देखिन्छ । स्ट्याटिस्टाको अध्ययनअनुसार सन् २०२४ सम्म एशियाली मुलुकहरूमा अनलाइन र मोबाइल बैंकिङको प्रयोग उच्च रहनेछ । सोही अध्ययनअनुसार हाल करीब विश्वको २ अर्ब जनसंख्याले अनलाइन बैंकिङ प्रयोग गरिरहेको छ । उक्त संख्या बढेर आगामी २०२४ सम्म साढे अर्ब पुग्नेछ । नेपालमा पनि यो गति उच्च छ । यसले नगदरहित कारोबारको सम्भावना बढेको छ ।
तर, बाहिर देखिएको तथ्यांकअनुरूप नेपाल यसका लागि अझै सक्षम भइसकेको छैन । बैंकिङ बानी परिवर्तन गर्नुपर्ने यस समयमा सानो समस्याले पनि आफ्नो नियमित बानी परिवर्तन गर्न आम सर्वसाधारणलाई हौसला चाहिन्छ । तर, प्राविधिक कठिनाइसँग जुध्न अझै नसकेको अवस्था छ । क्यूआरबाट भुक्तानी गर्दा पैसा काट्ने तर सम्बन्धितको खातामा नदेखिने समस्याले गर्दा डर त हुने नै भयो । त्यसै गरी सुरक्षा अर्को महत्त्वपूर्ण पक्ष हो । नेपालको अनलाइन बैंकिङ प्रणालीमा त्यस्तो घोटाला नभए तापनि सोझा सर्वसाधारण ठगिने काम भने भइरहेको छ । नातिले हजुरबुबाको मोबाइल बैंकिङ प्रयोग गरेर अनलाइन गेमको केही सुविधा खरीद गर्ने, गिरोहले खाताको रकम चोर्नेजस्ता सानातिना घटना भने भइरहेका छन् ।
प्राविधिक कठिनाइले गर्दा मर्कामा परेका ग्राहकहरू उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको देखिन्छ । एटीएमले खाताको रकम काट्ने तर भुक्तानी नदिने समस्याले धेरैलाई समस्यामा पारेको छ । अनलाइन रकमान्तर गर्ने क्रममा देखापर्ने प्राविधिक त्रुटिले गर्दा यसप्रति विश्वास घटेको पनि देखिन्छ ।
हामीले जतिसुकै डिजिटल प्रणालीको ब्याख्या गरे पनि आज पनि काठमाडौंमा खानेपानी महसुल भुक्तानी गर्न नगद लिएर काउन्टर नै पुग्नुपर्ने अवस्था छ । आज पनि विभिन्न जिल्लाबाट विद्युत् महसुल भुक्तानी गर्न घण्टांै हिँडेर सदरमुकाममा रहेको प्राधिकरणको कार्यालय नै पुग्नुपर्ने बाध्यता छ । अहिले पनि बसको टिकट काट्न अनलाइनभन्दा भौतिक माध्यम नै प्राथमिकतामा परेको देखिन्छ । यसले हाम्रो डिजिटल कारोबारको वास्तविकता झल्काउँछ ।
समयअनुरूप वित्तीयप्रणाली सुधार हुन आवश्यक छ । त्यसअनुरूपको आवश्यक परिवर्तन आत्मसात् गर्न पनि आवश्यक छ । शुरुआती क्रममा देखिएका त्रुटिहरूलाई क्रमिक रूपमा सुधार गरेर त्रुटिमुक्त सेवा प्रदान गर्दै जानु नै बिकास हो । ढड्डा प्रणालीबाट शुरू भएको बैंकिङ प्रणाली आज रोबोटयुक्त प्रणालीमा पुगिसकेको छ । विकास र परिवर्तन आवश्यक छ । तर, त्यसको निमित्त सबै पक्षको साथ आवश्यक पर्छ । वित्तीय समावेशिताको बहस अनलाइन बैंकिङमा पनि आउन आवश्यक छ । सवारीसाधनको बिल बुक अनलाइन भुक्तानीमार्फत नवीकरण गरिरहँदा किन उपत्यकाकै खानेपानी महसुल भुक्तानी गर्न भौतिक उपस्थिति चाहिने भन्नेबारे जवाफदेहिता बोक्न सक्ने क्षमता सम्बद्ध निकायको हुनुपर्छ । किन सुगम भेगकालाई विद्युत महसुल भुक्तानी गर्न अनलाइन माध्यम उपलब्ध छ र दुर्गम भेगलाई उक्त सुविधा छैन भन्ने जवाफ सम्बद्ध निकायसँग हुन आवश्यक छ । १० वर्ष अगाडि एटीममा रहेको समस्या अझै पनि छ । बैंक मात्र होइन, अझै पनि शेयरबजारमा हुने लीलामी प्रक्रिया अनलाइन मार्फत गर्न सकिँदैन, भौतिक उपस्थिति अनिवार्य रहिआएको छ ।
यदि हामी डिजिटल प्रणालीलाई स्वीकार गरी अगाडि बढ्ने हो भने हामीले गुनासोहरूलाई दृष्टिगत गरेर अगाडि बढ्न आवश्यक छ । सर्वप्रथम वित्तीय साक्षरता अभियानलाई प्रवद्र्धन गर्न आवश्यक छ, जसअन्तर्गत अनलाइन प्रविधिको प्रयोग बुझाउन महत्त्वपूर्ण हुन जान्छ । यससँग आबद्ध जोखिम र स्वाभाविक तरीकाले हुने समस्या र त्यसको निमित्त गर्न सकिने समाधानको बारेमा ज्ञान प्रवाह गर्न आवश्यक छ । जबसम्म सर्वसाधारणले उक्त विषयहरू स्पष्ट रूपमा बुझ्न सक्दैनन्, यसमा निहित जोखिम रही नै रहने हुन्छ ।
हो, हिजोभन्दा हामी अगाडि छौं तर हामीले लिनुपर्ने गति अझै पनि आत्मसात् गर्न सकेका छैनौं । समय अवश्य चाहिन्छ तर अन्य क्षेत्रमा भइसकेको सुधार, समग्र क्षेत्रमा भित्र्याउन समयभन्दा पनि बढी विचार चाहिन्छ, जसको निमित्त सबै पक्ष एकीकृत रूपमा प्रस्तुत हुन आवश्यक छ । त्यसपछि मात्र डिजिटल प्रणालीमा विश्वास जाग्नेछ, सहभागिता सुनिश्चित हुने छ र नगदरहित अर्थतन्त्रमा हामी फड्को मार्न सक्नेछौं ।
रेग्मी बैंकर हुन् ।
काठमाडौं । नेपालमा निक्षेप खाताको संख्या जनसंख्या भन्दा बढी नै रहेको छ । तर, वित्तीय पुहँच भने ६७ दशमलव ३४ प्रतिशत नेपालीमा पुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको वित्तीय पहुँचसम्बन्धी अध्ययनले यस्तो देखाएको हो ।
अध्ययनअनुसार २०७७ जेठसम्म ३ करोड १८ लाख ८६ हजार निक्षेप खाता खोलिएको छ, जुन नेपालको जनसंख्या भन्दा बढी हो । त्यसमध्ये २ करोड ९९ लाख २८ हजार ४३६ निक्षेप खाता रहेको छ, तीनपुस्ते विवरणको आधारमा एक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा ६७ दशमलव ३४ प्रतिशत जनतामा वित्तीय पहुँच विस्तार भएको अध्ययनले देखाएको छ ।
अध्ययनले भने निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकका आधारमा वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ । अघिल्लो आवको ११ महीनामा मात्र थप ६ दशमलव ४४ प्रतिशत विन्दु जनसंख्यामा वित्तिय पहुँच पुगेको देखिन्छ । २०७६ असारमसान्तसम्म ६० दशमलव ९ प्रतिशत नेपालमिा वित्तीय पहुँच पुगेको थियो ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठले पछिल्लो समय वित्तिय पहुँच बढेको बताए । ‘हामीले निक्षेप खाता सम्बन्धमा एकदम गहिराईमा गएर अध्ययन गरेका छौं । त्यसले नेपालमा पछिल्लो समय वित्तीय पहुँच विस्तार नै भएको देखिएको छ,’ उनले भने, ‘निक्षेप खाता सम्बन्धमा प्रदेश तथा स्थानीय तहगत रूपमा पनि अध्ययन गरिएको छ ।’
राष्ट्र बैंकले २ करोड ९९ लाख ९६ हजार ४७८ जनसंख्यालाई आधार बनाएर उक्त अध्ययन गरेको हो । ‘क’ ख’ र ग’ वर्गका वित्तीय संस्थामा २०७७ जेठ मसान्तमा कायम निक्षेप खाताको विवरणको आधारमा उक्त अध्ययन प्रतिवेदन तयार गरिएको राष्ट्र बैंकको भनाइ छ ।
निक्षेप खाता जनसंख्याभन्दा बढी पुगेको अवस्थामा कर्जा खाता भने अन्यन्त न्यून रूपमा विस्तार भएको देखिएको छ । अध्ययनअनुसार कर्जा खाता संख्या जम्मा १६ लाख ८२ हजार ८४५ पुगेको छ । ‘समग्रमा कर्जा खाताको संख्या थोरै नै देखिएको छ । यस विषयमा राष्ट्र बैंकले छुट्टै अध्ययन गर्नेछ,’ कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाले सेवा पुर्याउने नागरिकको संख्या भने क्रमशः घट्दै गएको पनि अध्ययनले देखाएको छ । वित्तीय साक्षरता प्रवद्र्धन, शाखा विस्तार, शाखारहित बैंकिङ, भुक्तानी प्रणालीको आधुनिकीकरण गर्नेलगायत नीतिगत व्यवस्थाले यस्तो अवस्था आएको अध्ययनले देखाएको छ ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाको शाखा संख्या २०७७ चैत मसान्तमा ५ हजार ६९४ पुगेको छ । त्यसमा १ लाख जनसंख्यालाई सेवा पुर्याउने बैंकको शाखा संख्या औसतमा १८ दशमलव ९८ प्रतिशत रहेको अध्ययनले देखाएको छ । अध्ययनअनुसार प्रदेश १ मा १८, प्रदेश २ मा १०, वागमती प्रदेशमा ३० प्रतिशत शाखाले प्रति १ लाख नागरिकलाई बैंकिङ सेवा दिँदै आएको देखिएको छ ।
यस्तै, गण्डकी प्रदेशमा ३०, लुम्बीनी प्रदेशमा १९, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १२ प्रतिशत शाखाले प्रति १ लाख नागरिकलाई बैंकिङ सेवा दिँँदै आएको देखिएको छ ।
ग्रामीण क्षेत्रमा प्रति १ लाख जनसंख्यालाई सेवा पुर्याउने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८ दशमलव ५४ र महानगरपालिकामा ४५ दशमलव ७६ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।
निक्षेप खाता खोल्ने मामिलामा वागमती प्रदेशका नागरिकले बढी खाता खोलेको देखिएको छ । वागमती प्रदेशमा प्रतिहजार १ हजार ८०२ जनाले खाता खोलेको देखिएको छ । कर्णाली प्रदेशमा भने सबै जनताले बैंक खाता नखालेको देखिएको छ । त्यहाँ प्रतिहजार ४५८ जनाले मात्रा बैंक खाता खोलेका छन् ।
कुल निक्षेप खातामध्ये ६७ दशमलव ७ प्रतिशत खाता मात्र सक्रिय रहेको अध्ययनले देखाएको छ । ग्रामीण नगरपालिकामा ८१ दशमलव ५ प्रतिशत खाता सक्रिय रहेको अध्ययनले देखाएको छ ।
कुल निक्षेप खाता संख्यामा बचत निक्षेप खाताको अंश भने ९० दशमलव ६ प्रतिशत र मुद्दती निक्षेप खाताको अंश ३ दशमलव १ प्रतिशत रहेको छ । व्यक्तिगत खातामा ९६ दशमलव १५ प्रतिशत अंश वयस्क व्यक्तिको अंश (१५ वर्षभन्दा माथि) रहेको छ ।
एटीएम कार्ड प्रयोग गर्र्ने ग्राहकको संख्या भने २० दशमलव ३५ प्रतिशत देखिएको छ । यसैग्रि मोबाइल बैंकिङ प्रयोगकर्ता ३२ दशमलव ३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३ दशमलव ८६ प्रतिशत देखिएको छ ।
उमेर गत हिसाबले २० वर्ष उमेरका व्यक्तिमा प्रविधिको प्रयोग उच्च रहेको र सो उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः घट्दै गएको देखिएको छ । युवा पुस्तामा प्रविधिको प्रयोग उच्च रहेको हुँदा आगामी दिनमा प्रविधिको माग दिनानुदिन बढ्दै जाने देखिएको अध्ययनले देखाएको छ ।